बैतडी । द्वन्द्वमा आफन्त गुमाएको परिवार द्वन्द्वको पीडा भुल्न पुख्र्यौली पेसाको सिर्जना कर्ममा लागेको पाइएको छ । पञ्चेश्वरका धर्मराम ओडले द्वन्द्वमा मारिएकी आफ्नी १९ वर्षीया दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरेर आफ्नै पुर्ख्यौली पेसा सुरु गरेका
पञ्चेश्वर गाउँपालिका–४, आमचोरा स्थित उज्वलगाउँका ३४ वर्षीय युवा धर्मराम वडले पुर्ख्यौली सिपबाट काठका खोलदेली (कलात्मक झ्याल ढोका) मा बुट्टा कोर्दै, मूर्ति बनाउने काम गर्दै आएका छन् । पुर्ख्यौली पेसाले द्वन्द्वको पीडा मात्रै भुलाएको छैन, घर परिवारको हातमुख जोर्ने बाटोसमेत पहिल्याएको छ ।
धर्मराम वड १४ वर्षको छँदा जेठी दिदी १९ वर्षीय रोशनी वड (रचना) माओवादीको आरोपमा मारिइन् । घटना स्मरण गर्दै उनले भने, “यो २०६१ सालको कुरा हो । त्यति बेला म १४ वर्षको थिएँ । घरको खानतसाली गर्न पटक पटक सुरक्षाकर्मी आउँन थालेपछि केही समय पढ्न पाईन् । शान्ति प्रक्रियापछि प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्न सफल भए ।”
घरको एक्लो छोराका रुपमा रहेका धर्मले विद्यालय शिक्षा पूरा गरेर आर्थिक अभावले उच्च शिक्षा हासिल गर्न सकेनन् । चार वटा बहिनी मध्ये जेठी दिदी सहिद भएपछि अन्य तीन वटाको विवाह भयो । राज्यबाट पाएको क्षतिपूर्तिले तीन वटा बहिनीको शिक्षा दिक्षा र आफ्नो पढाइमा सहयोग पुगेको उनले बताए । तीन वटै बहिनीको विवाहपछि आमा बुवाको हेरचाह गर्ने सहारा नहुँदा धर्मरामले कतै जाने मौमा नपाएपछि बुवा÷ बाजेसँग भएको पुर्ख्यौली सिप सिक्न सुरु गरेको बताए ।
उनका बाजे दानी वड काष्ठकलाका निकै सिपालु थिए । बाजेबाटै उनका बुवा कमल वडले पनि उक्त सिप सिक्नु भएको थियो । कमल वड अहिले ६६ वर्षको भए । छोरीको सद्गतिसमेत गर्न नपाएकोमा ६६ वर्षी वृद्ध कमल वड अहिले पनि भावुक हुन्छन् । छोरीका लागि केही गर्न नसके पनि द्वन्द्वको पीडा भुलाउन उनले छोरीका नाममा मूर्तिकला उद्योग सञ्चालन गर्न छोरा धर्मरामलाई सुझाव दिए ।
पुख्र्यौली सिप सिकेर दिदीका नाममा उद्योग खोल्न सफल भएका धर्मरामले अहिले दर्जनौ मन्दिरका काठका कलात्मक द्वार निर्माण गरिसकेका छन् । भगवानका मूर्ति बनाइसकेका छन्। सिमेन्टका मूर्ति र गेट निर्माणमा प्रयोग हुने उपकरण उनि आफैले स्थानीय आरनमा तयार गरेका छन् ।
काठको काम गर्न आवश्यक पर्ने रन्दा, कटर, बासुलो र विद्युत्बाट चल्ने राउटर प्रयोग गर्दै आएका छन् । आर्थिक समस्याले थप उपकरण किन्न नसकिएको उनले बताए । पुर्ख्यौली सिपको संरक्षणका लागि उद्योगलाई कतैबाट सहयोग नमिलेको पनि उनले गुनासो गरे ।
काष्ठकलामा मेहनत अनुसारको पारिश्रमिक नपाए पनि विदेश जानु भन्दा पुर्ख्यौली पेसा नै उत्तम ठानेर यसैमा रमाएको उनले बताए । पुर्ख्यौली पेसा अँगाल्दा गाउँ समाजमा राम्रो परिचय बनेको उनले बताए । उनले भने, “यो पेसामा मेहनत अनुसारको ज्याला छैन, तै पनि विदशमा अरू काम गर्नु भन्दा यही पेसा ठिक छ । बिस्तारै सबैले चिन्न थालेका छन् । पञ्चेश्वर गाउँपालिका भन्दा बाहिरका छिमेकी पालिकाबाटसमेत मौलिक घरका खोलदेली र मन्दिर र मूर्ति निर्माणको काम पाइन थालेको छ ।”
सरकारले सहयोग गरेमा पुर्ख्यौली सिप सिकाएर गाउँका युवालाई दक्ष बनाउने धोको रहेको उनले बताए । धर्मराम वडले पुर्ख्यौली सिपसँगै आधुनिक उपकरणका रूपमा स्काभेटरको नमुनासमेत तयार गरेका छन् ।