जापानले विश्वको ‘सबैभन्दा सही’ समय दिने घडी बिक्रीमा

टोकियो, फागुन २१ गते । विश्वकै ‘सबैभन्दा सही समय’ दिने फराकिलो फ्रिजजस्तै देखिने घडी बुधबार ३३ लाख अमेरिकी डलरमा बिक्रीका लागि राखिएको छ । क्योटोस्थित निर्माता कम्पनी शिमाद्जु कर्पोरेसनका अनुसार ‘एथर क्लक ओसी (२)’ समयका लागि यति सही छ कि यसलाई एक सेकेन्डले विचलित हुन १० अर्ब वर्ष लाग्नेछ ।

‘स्ट्रोन्टियम अप्टिकल ल्याटिस क्लक’ भनेर चिनिने यो घडी सेकेन्ड परिभाषित गर्ने हालको मानक सीजियम आणविक घडीभन्दा १०० गुणा बढी सही भएको शिमादजु कर्पोरेसन ले जनाएको छ । ‘कभर’सहित करिब एक मिटर (तीन फिट) अग्लो यो घडी मेशिनको आयतन २५० लिटर क्ष्मताको मात्र छ यो अनुसन्धानको क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ ।

शिमाद्जुले आगामी तीन वर्षमा आफ्ना १० वटा घडी बिक्री गर्ने लक्ष्य राखेको छ । ग्राहकहरूले टेक्टोनिक गतिविधिको अवलोकन जस्ता क्षेत्रहरूमा वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउन ती घडीहरू प्रयोग गर्न उपयागी हुने कम्पनीले बताएको छ । टोकियोको प्रसिद्ध स्काइ ‘ट्री’मा यसअघि सापेक्षताको सामान्य सिद्धान्तको परीक्षण गर्न अप्टिकल जाली घडीहरू जडान गरिएको थियो । परीक्षणपछि ‘बलियो गुरुत्वाकर्षण भएको ठाउँमा समय बिस्तारै बग्छ’ भन्ने निष्कर्ष निकालिएको थियो ।

जापानमा भयानक आगलागी

एजेन्सी । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ । डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउँको हल्का वर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ ।

उत्तरी सहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कारण एक जनाको मृत्यु हुनुका साथै करिब चार हजार बासिन्दालाई आफ्नो घर खाली गर्न बाध्य पारिएको छ ।

यसले लगभग दुई हजार ९०० हेक्टर (म्यानहट्टनको लगभग आधा आकार) लाई सखाप पारेको छ र यो सन् १९७५ होक्काइदोमा दुई हजार ७०० हेक्टर जलेको डढेलोपछिको सबैभन्दा ठूलो डढेलो हो ।

सञ्चारमाध्यममा आएअनुसार बुधबार भएको हल्का वर्षा र हिउँका कारण पहाडहरूबाट सेतो कुहिरो निस्केको देखिएको थियो । बिहीबारसम्म थप पानी पर्ने अनुमान गरिएको छ ।

अमेरिकाबाट फर्काइएका ८ नेपाली प्रहरीको जिम्मामा

काठमाडौं-  आधिकारिक कागजात नभएका अवस्थामा नियन्त्रणमा लिई संयुक्त राज्य अमेरिकाले नेपाल फर्काइ दिएका आठ नेपाली नागरिकलाई थप ‘सोधपुछ’का लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

अमेरिकाको ‘चार्डट’ विमानबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनीहरुलाई अध्यागमक प्रक्रिया पूरा गरी सोधपुछका लागि प्रहरीको जिम्ममा लगाइएको विमानस्थलस्थित अध्यागमन कार्यालयले जनाएको छ ।

आठ जना नेपाली अमेरिकाको चार्टड विमानबाट काठमाडौँ फर्काइएका हुन् । अर्का एक नेपाली पनि आजै कतार एयरवेजको नियमित उडानबाट ‘डिपोर्ट’ भएर काठमाडाँै आइपुगेको विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यज्ञराज अर्यालले पुष्टि गरे।

यसअघि अमेरिकाबाट २७ नेपाली डिपोर्ट भएर फर्किइसकेका छन् । “हामीले अध्यागमन प्रक्रिया पूरा गरेर उहाँहरुलाई पठायौँ”, अधिकृत अर्यालले भने ।

प्रदेश गौरवका आयोजनाको काम सुस्त

धनगढी । सुदूरपश्चिम प्रदेश गौरवका आयोजनाको काम सुस्त गतिमा अगाडि बढेको छ । सरकारले छ वर्षदेखि कार्यान्वयन गरिरहेको सडकको काम आशातीत रूपमा अगाडि बढ्न सकेको छैन । पर्याप्त बजेट विनियोजन नहुनु र निर्माण कम्पनीले पनि तदारुकताका साथ काम नगर्दा आशातीत प्रगति नभएको बताइएको हो ।

विसं २०७५ चैत ११ मा प्रदेश सरकारले नौ वटै जिल्लामा एकरएक वटा प्रदेश गौरवको सडक बनाउने निर्णय गरेको थियो । सो निर्णय अनुसार आर्थिक वर्ष २०७६र७७ बाट प्रदेश गौरवका सडक निर्माणको काम भइरहेको छ ।

छ वर्षमा करिब २७ किलोमिटर मात्रै सडक कालोपत्रे भएको प्रदेश सरकारको वार्षिक मूल्याङ्कन प्रतिवेदन २०८०र८१ मा उल्लेख छ । नौ वटै जिल्लामा गरी कुल ९४८ किलोमिटर रहेको प्रदेश गौरवको सडकमध्ये १६८ किलोमिटर सडक क्षेत्र ठेक्का लगाइएको थियो । ठेक्का लगाइएकै क्षेत्रमा तदारुकताका साथ काम हुन सकेको छैन भने अझै पनि धेरै खण्डको ठेक्का लाग्नै बाँकी छ । यस्तै ४२९ किलोमिटर सडकको डिपिआर गरिएको छ ।

कुल सडकमध्ये ३५५ किलोमिटर कालोपत्रे गर्न, ४२० किलोमिटर स्तरोन्नति र ८७ किलोमिटरमा ट्र्याक खोल्न बाँकी रहेको छ । प्रतिवेदन अनुसार प्रदेश गौरवको सडकमा हालसम्म ८४ करोड १७ लाख रुपियाँ खर्च भइसकेको छ । नौ वटै सडक निर्माणका लागि कुल ३७ अर्ब १२ करोड ७४ लाख रुपियाँ लागत अनुमान गरिएको थियो ।

कैलालीमा ६० किलोमिटर रहेको भजनी छोटी भन्सार–खिमडी ठुलीगाड सडकको पाँच किलोमिटर ठेक्का लगाएर काम अगाडि बढाइएको थियो । तीन किलोमिटर कालोपत्रे गरिएको र दुई किलोमिटरमा सडक स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए । उनका अनुसार कैलालीमा ३४।८ किलोमिटर मात्रै डिपिआर भएको छ ।

यसै गरी कञ्चनपुरमा ४७ किलोमिटर रहेको बेलौरी–कलुवापुर–नाइल–बुडर सडकमा नौ किलोमिटर कालोपत्रेका लागि ठेक्का लगाइएको छ । २१ किलोमिटर पहिलेदेखि नै कालोपत्रे थियो । १२ किलोमिटरमा कच्ची सडक छ । यो सडक छिटो निर्माण गर्न दबाब दिनका लागि कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन साउदले सडकमै वडा कार्यालय सञ्चालन गरेर जनतालाई सेवा दिइरहका छन्।

बाजुरामा ६५ किलोमिटर रहेको खप्तड–मार्तडी सडकको २० किलोमिटर कालोपत्रे र ३० किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाएर काम भइरहेको छ । अछाममा २०३ किलोमिटरको चिसापानी–ऋषिदह–बडीमालिका सडकको ३५ किलोमिटर ठेक्का लगाइएको छ ।

हालसम्म २३ किलोमिटर स्तरोन्नतिको काम भएको छ । यसै गरी बैतडीमा ९० किलोमिटरको सतबाज–श्रीभावर–हाट–दार्चुला सडकको छ किलोमिटर कालोपत्रे भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै १७ किलोमिटरमा स्तरोन्नतिको कार्य भइरहेको छ । डडेलधुरामा ११५ किलोमिटर रहेको दैजी–पोखरा–ढुङ्गाड–बझाङ सडकको ७५ किलोमिटर ठेक्का लगाइएको र ४० प्रतिशत प्रगति भएको जनाइएको छ ।

डोटीमा १८० किलोमिटर रहेको सहजपुर–बोगटान–दिपायल सडकको २७ किलोमिटर ठेक्का भएको छ । काम अझै जारी रहेको जनाइएको छ । यसै गरी बझाङमा ९५ किलोमिटर रहेको पातीहाल्न–तल्कोट–सैपाल–हुम्ला सडकको १४ किलोमिटर स्तरोन्नति गरिएको छ । थप १० किलोमिटर स्तरोन्नतिका लागि ठेक्का लगाइएको प्रतिवेदनमा उल्लेख छ ।

ताललाई रामसारमा सूचीकृत गर्न अध्ययन

धनगढी, २० फागुन । सुदूरपश्चिम प्रदेशमा रहेको पन्छीताललाई विश्व रामसार क्षेत्रमा सूचीकृत गर्न वस्तुस्थिति अध्ययनको काम सुरु भएको छ ।

सिनियर इकोलोजिस्ट हरिभद्र आचार्यको नेतृत्वमा गठित कार्यदलले रामसार क्षेत्रमा सूचीकृत गर्न आवश्यक पर्ने मापदण्ड पहिचानको प्रारम्भिक काम थालेको हो । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यो ताल रहेको छ । यसअघि सिकारीतालको नामले परिचित यसको नाम यसै वर्ष परिवर्तन गरेर पन्छीताल राखिएको छ ।

पन्छीतालमा जलपन्छी धेरै पाइने गरेकाले विश्व रामसार क्षेत्रमा सूचीकृत गर्न प्रारम्भिक प्रक्रियाको थालनी गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४६५ प्रजातिका चरा पाइने गरेका छन् ।

विभिन्न समयमा गणना गर्दा पन्छीतालमा ५० देखि ५५ प्रजातिका हजारौँ जलपन्छी अभिलेख भएका छन् । संरक्षित क्षेत्रमा रहेको यो ताल जलपन्छीका लागि महìवपूर्ण रहेकाले रामसार क्षेत्रमा सूचीकृत गर्नका लागि प्रारम्भिक कामको सुरुवात गरिएको हो ।

यस्तो छ मापदण्ड

रामसार क्षेत्रमा सूचीकृत गर्नका लागि उपयुक्त भौगोलिक क्षेत्रभित्र पाइने प्राकृतिक वा नजिक प्राकृतिक सिमसारले दुर्लभ वा अद्वितीय सिमसारका रूपमा प्रतिनिधित्व गर्नुपर्ने र अन्तर्राष्ट्रिय महत्वको हुनुपर्ने समूह ‘ए’ को मापदण्डमा उल्लेख छ ।

यस्तै समूह ‘बी’ मा जैविक विविधता संरक्षणका लागि अन्तर्राष्ट्रिय महìवको स्थल हुनुपर्ने उल्लेख गरिएको छ । यस समूहमा प्रजाति र पारिस्थितिक समुदायमा आधारित मापदण्ड तीन वटा, जलपन्छीमा आधारित विशिष्ट मापदण्ड दुई वटा, माछामा आधारित विशिष्ट मापदण्ड दुई वटा र अन्य कुरामा आधारित विशिष्ट मापदण्ड एउटा रहेको छ ।

अमेरिकाले देशनिकाला गरेका नेपालीहरू काठमाण्डू आइपुगे, अब उनीहरू कहाँ जान्छन् ?

काठमाडौं । अमेरिकाले अवैध आप्रवासी ठहर गर्दै देशनिकाला गरेका नेपालीहरू सवार चार्टर्ड विमान काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार उक्त विमान बुधवार बिहान ९:५३ बजे आइपुगेको हो।

“अवतरणको हकमा जम्मा १४ जनाका लागि उहाँहरूले अनुमति लिनुभएको थियो। तर आउन चाहिँ आठजना आउनुभएको हो,” उनले भने। उनका अनुसार तीमध्ये एक महिला र सात पुरुष छन्।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बसोबासका लागि वैधानिक कागजपत्र नभएका ‘अप्रमाणित’ आप्रवासीलाई तिनका देश फिर्ता गर्ने गरी कार्यकारी आदेश जारी गरेपछि यसअघि पनि केही नेपालीहरू निकालामा परेका थिए।

अमेरिकाको सरकारी तथ्याङ्कले आर्थिक वर्ष २०१९ देखि २०२४ सम्म कुल ३८९ नेपाली देशनिकालामा परेको देखाउँछ।

त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको डेस्क

तस्बिर स्रोत,Department of Immigration

प्रक्रिया पूरा हुँदै

अमेरिकाबाट यी नेपालीहरूलाई कुन अवस्थामा फर्काइएको हो भन्ने कुरा पनि खुल्न सकेको छैन।

विमानस्थल अध्यागमन प्रमुख तीर्थ भट्टराईले प्रक्रिया पुर्‍याएर ती नेपालीहरूलाई घर जान दिइने जानकारी दिए।

“विदेशबाट अध्यागमनका सामान्य प्रक्रियाहरू जेजे हुन्छन् ती सबै हामीले पूरा गर्‍यौँ। प्रहरीले सोधपुछ गर्नुपर्ने भनेपछि हामीले उहाँहरूलाई जिम्मा लगायौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

विभिन्न विवरणहरूमा जनाइएअनुसार यसअघि राष्ट्रपति जो बाइडनको कार्यकालमा झन्डै ५,००० नेपालीहरू अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए।

अमेरिकाले कागजपत्र नभएका अवैध आप्रवासीहरूलाई चरणबद्ध रूपमा सम्बन्धित देशहरूमा पठाउन थालेको छ।

हालै अमेरिकाबाट भारत फर्काइएका अवैध भारतीय आप्रवासीहरूलाई हत्कडी लगाएर पठाइएकोमा त्यहाँको संसद्‌मा समेत आवाज उठेको थियो।

IFrame

नेपाल प्रहरी के भन्छ

नेपाल प्रहरीले सामान्य सोधपुछ गरिएपछि ती व्यक्तिहरू जान सक्ने जनाएको छ।

“उहाँहरू अपराधी होइन। त्यो भएर समात्ने वा छोड्ने भन्ने कुरा हुँदैन,” केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

“कुनै स्क्याम [ठगी]मा परेर उहाँहरू अमेरिका पुग्नुभएको थियो कि भनेर हामीले सोध्न खोजेको हो। सामान्य सोधपुछपछि जो जहाँका हुनुहुन्छ त्यहाँ फर्किनुहुन्छ।”

नेपाल आइपुगेका आठ जनामध्ये को कहाँका हुन् भन्नेबारे प्रहरी र अध्यागमन कर्मचारीले अहिलेसम्म केही बताएका छैनन्।

निष्काशनमा परेका व्यक्ति सङ्केत गर्ने चित्राङ्कन

अध्यागमन विभागको तथ्याङ्कअनुसार औसतमा प्रत्येक दिन तीन जनाभन्दा धेरै र हरेक महिना १०० जनाको हाराहारीमा नेपालीहरू विभिन्न देशबाट निष्काशित भएर नेपाल फर्किरहेका छन्।

गत वर्ष नोभेम्बरसम्मको तथ्याङ्कअनुसार डिपोर्ट भएर स्वदेश फर्काइएका नेपाली नागरिकको सङ्ख्या झन्डै १,२०० थियो।

गत वर्ष सबैभन्दा धेरै नेपालीहरू यूएईबाट निष्काशनमा परेका थिए। त्यसपछि क्रमशः मलेशिया र कतारबाट निष्काशित हुने नेपालीको सङ्ख्या बढी छ। यी तीनवटै देश नेपाली कामदारले धेरै रुचाएका राष्ट्रहरू हुन्।

अमेरिकामा कति अप्रमाणित आप्रवासी छन्, तीमध्ये कति नेपाली?

अमेरिकाको गृह मन्त्रालय र प्यू रिसर्चको ताजा तथ्याङ्कका अनुसार सन् २०२२ सम्ममा अमेरिकामा झन्डै एक करोड १० लाख अप्रमाणित आप्रवासीहरू थिए। उक्त सङ्ख्या अमेरिकाको कुल जनसङ्ख्याको झन्डै ३.३ प्रतिशत हो।

सन् २००५ यता उक्त सङ्ख्या तुलनात्मक रूपमा स्थिर छ। यद्यपि प्यूले आधिकारिक तथ्याङ्कमा केही पक्ष प्रतिबिम्बित हुन नसक्ने जनाएको छ। यो तथ्याङ्कमा क्युबा, भेनेजुएला, हेइटी र निकारागुआका मानवीय आधारमा अनुमति पाएका पाँच लाख आप्रवासीहरूसँग सम्बन्धित विवरण छुटेको हुन सक्छ।

धेरैजसो अप्रमाणित आप्रवासीहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। तीमध्ये झन्डै ८० प्रतिशत मानिस अमेरिकामा एक दशकभन्दा बढी समयदेखि बस्नेहरू छन् र झन्डै आधाजसो मेक्सिकोका छन्। त्यसपछि ग्वाटेमाला, एल सासल्भाडोर र होन्डुरसका छन्।

उनीहरू मुख्यतः छवटा राज्यमा केन्द्रित छन् : क्यालिफोर्निया, टेक्सस, फ्लोरिडा, न्यूयोर्क, न्यूजर्सी र इलिनोई।

अमेरिकामा बसोबास गर्दै आएका अप्रमाणित नेपाली आप्रवासीको सङ्ख्या भने स्पष्ट छैन।

अमेरिकाको सीमानजिकै विदेशी आप्रवासीहरू

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,ट्रम्पले अमेरिकामा लाखौँ अवैध आप्रवासीलाई देशनिकाला गर्ने नीति अङ्गीकार गरेका छन्

के पहिला पनि सामूहिक देशनिकाला भएको थियो?

ट्रम्पको पहिलो चारवर्षे कार्यकालमा झन्डै १५ लाख जनालाई अमेरिकाबाट देशनिकाला गरिएको थियो। बाइडन प्रशासनले अमेरिकाबाट बाहिर निकालेका विदेशी आप्रवासीको सङ्ख्यामा पनि त्यसको छेउछाउ पुगेको बताइन्छ.

बराक ओबामाका दुई कार्यकालमा ३० लाख जनाभन्दा बढी आप्रवासीहरूलाई अमेरिकाले निकाला गरेको थियो। आप्रवासन सुधारका पैरवीकर्ताहरूले उनलाई “डिपोर्टर-इन-चीफ” अर्थात् “देशनिकाला गर्ने प्रमुख व्यक्ति”को सङ्ज्ञा दिएका थिए।

आधुनिक अमेरिकाको इतिहास हेर्ने हो भने सन् १९५४ मा सम्भवतः सबैभन्दा ठूलो सामूहिक देशनिकाला भएको थियो। त्यस वर्ष ‘अपरेशन वेटब्याक’ अन्तर्गत १३ लाख जनालाई अमेरिकाको सीमाबाट बाहिर पठाइएको थियो। मेक्सिकोका मानिसहरूलाई अपमानपूर्वक भनिने शब्दबाट उक्त अभियानको नाम राखिएको थियो।

उक्त अभियानले सार्वजनिक विरोध पनि खेप्नुपर्‍यो। किनभने केही अमेरिकी नागरिकहरू पनि देशनिकालामा परे र खर्चको विषय पनि उठ्यो। सन् १९५५ मा यो अभियान टुङ्गियो।

आप्रवासनविज्ञहरू उक्त अभियानलाई देशनिकाला गर्ने अहिलेका प्रयासहरूसँग तुलना गर्न नमिल्ने तर्क गर्छन्। उनीहरूका अनुसार उक्त कारबाही परिवार भएका र टाढाका अन्य देशबाट आएका मानिसहरूप्रति नभई मेक्सिकोबाट एक्लै आएका पुरुषहरूप्रति लक्षित थियो। -बीबीसी नेपाली

सुदूरपश्चिम खेलाडी समाजद्धारा खेलाडीहरु सम्मानित

काठमाण्डौं, २१ फागुन ।
सुदूरपश्चिम खेलाडी समाजले सोमबार काठमाण्डौंमा खेलाडीहरुलाई सम्मान गरेको छ ।

२०६५ सालमा हाल नेपाल कराते महासंघका केन्द्रीय सदस्य रहेका अन्तर्राष्ट्रिय कराते खेलाडी गजेन्द्र साँउदको अध्यक्षतामा स्थापित सुदूरपश्चिम खेलाडी समाजले दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका “चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता” मा पदक प्राप्त गर्ने खेलाडीहरु र सुदूरपश्चिम प्रदेशबाट खेलकुदमा विशिष्ट स्थान प्राप्त गरेका वा योगदान दिएका खेलकर्मीलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि नेपाल सरकारका पुर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, विशिष्ट अतिथि नेपाल ओलम्पीक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङले खेलाडीहरुलाई सम्मान गरे ।

कार्यक्रममा हालै राष्ट्रिय खेलकुद परिषदमा नियुक्त हुनुभएका कार्यकारी बोर्ड सदस्य भान बहादुर चन्द र बोर्ड सदस्य जगत सिंह धामी र कैलाली जिल्ला कराते संघका संस्थापक अध्यक्ष कर्ण बहादुर चन्दलाई सम्मानित गरिएको थियो ।

सम्मानित हुने पदक बिजेता खेलाडीहरुमा स्वर्णपदक बिजेता जगत सिंह धानुक र मोहम्मद शेखु आलम, रजत पदक बिजेता सोनिया तिरुवा र योगेश सिंह बिष्ट, रजत पदक बिजेताहरु वर्षा साउँद, गरिमा मल्ल, खडक थामी मगर, शिबु ओड, सुरेश जप्रेल क्षेत्री, सुनिता सुनार, राम बि।सी। र करुणा बडुवाल छन् ।

कार्यक्रममा प्रमुख अतिथि लेखराज भट्टलाई सितोरियो करातेको मानार्थ तेस्रो डान उपाधी प्रदान गरिएको थियो ।
नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङले सो उपाधि हस्तान्तरण गरेका थिए ।

संस्थाका संस्थापक सल्लाहकार एवं सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष गजेन्द्र साँउद, नेपाल सितोरियो कराते संघका केन्द्रीय सचिव प्रेमलाल बम्जन, सुदूरपश्चिम प्रदेश कराते महासंघका उपाध्यक्ष डिल्लीराज सुबेदी, लाइसेन्स प्राप्त कराते प्रशिक्षक ओमप्रकाश पन्त, कराते प्रशिक्षक दिपक चन्द लगायत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुको उपस्थिति रहेको थियो ।

परराष्ट्रको काम ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकको उद्धार ९रेस्क्यु० गर्ने जस्तो मात्र भएको बताएकी छन्।।

नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रूपन्देहीको भैरहवामा पर्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा उनले भनिन् “अहिले विदेशमा नेपाली यति धेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरूको उद्धार गर्नेजस्तो मात्र भएको छ ।”

मन्त्री डा। राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन भएको जानकारी दिइन् । अहिले संसारका ४० देशमा मात्र नेपाली राजदूतावास रहेका तर नेपालीहरू भने एक सयभन्दा बढी देशमा पुगेका बताउँदै मन्त्री डा। देउवाले नेपाली कहाँ र कसरी पुगेका छन् भन्ने बारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको बताइन् ।

बङ्गलादेशको उदाहरण दिँदै उनले भनिन् “जस्तो कि बङ्गलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । तर मिडियामा भने उनीहरूलाई एक दुई दिनमै नेपाल ल्याइहाल्नुपर्‍यो भन्नेजस्तो गरेर समाचार आउँछ । त्यसबेला पनि ढाकाको दूतावासमा रहेको सीमित जनशक्तिले समन्वय गर्‍यो । यस्तै अवस्था अन्यत्र पनि छन्, तर हामी जसोतसो काम गरिरहेकै छौँ ।”

उनले मध्यपूर्वी देशहरूमा घरेलु कामदारका रूपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै हजारौँ महिला ती देशमा पुगिरहेका जानकारी गराउँदै पछि यदि उनीहरू समस्यामा परे भने उद्धारका लागि निकै अप्ठेरो पर्न सक्ने पनि बताइन् ।

मन्त्री डा देउवाले त्यसैले परराष्ट्र मन्त्रालयले संसारका नेपाली डायस्पोरालाई कन्सुलर सेवा उपलब्ध गराउन तथा परम्परागत कूटनीतिभन्दा माथि उठेर नेपालको परराष्ट्र सम्बन्धलाई थप विस्तारित गर्न ओएनएम गरेर थप दरबन्दी सिर्जना गरेको र यसबाट आगामी दिनमा केही सहज हुने उनले स्पष्ट गरिन् ।

नेपाली मिसन नरहेका तर नेपालीहरुको सङ्ख्या धेरै रहेका स्थान जस्तै अमेरिकाका टेक्सास र सान्फ्रान्सिस्को तथा युएइको दुबईमा महावाणिज्य दूतावास नै स्थापना गरिएको उनले जानकारी गराइन्। मन्त्री डा राणाले अहिले अमेरिकाले वैदेशिक सहयोग राखेजस्तै गरी अन्यत्रबाट पनि त्यस्तो समाचार नआउला भन्न नसकिने बताउँदै अब देशको विकास आफैँ गर्ने र युवालाई स्वदेशमै रोजगारीमा लगाउने विषयमा कांग्रेसले गाउँगाउँमा अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइन् ।

 

ट्रम्पको चेतावनी- ‘शान्ति सम्झौता भएन भने युक्रेनी नेता सङ्कटमा’

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ ।

ट्रम्पले शान्ति सम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न नसक्ने चेतावनी दिए । “यो सम्झौता पूरा गर्न त्यति गाह्रो हुनु हुँदैन । यो धेरै चाँडै गर्न सकिन्छ,” ट्रम्पले युद्धविरामको सन्दर्भमा पत्रकारहरूलाई बताए ।

सोमबार ह्वाइट हाउसमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)का प्रमुख कार्यकारी सीसी वेईसँगको कार्यक्रममा ट्रम्पले युद्ध लामो समयसम्म चल्न सक्ने भन्दै जेलेन्स्कीको आलोचना गरे । वार्ता पुनः सुरु गर्न जेलेन्स्कीबाट के हेर्न आवश्यक छ भनेर सोध्दा ट्रम्पले भने, “ठीक छ, मलाई लाग्छ हामीले युक्रेनलाई युरोप भन्दा धेरै दिएका छौं र युरोपले हामी भन्दा धेरै दिनुपर्थ्यो । किनकी तपाईंलाई थाहा छ, त्यो त्यहाँ अवस्थित छ । त्यो युरोपको सीमाना हो । यो युरोपको लागि धेरै महत्त्वपूर्ण थियो ।”

“ठीक छ, हामीले ३५० बिलियन अमेरिकी डलर दियौं । तिनीहरूले १०० डलर दिए । तिनीहरूले यो ऋणको रूपमा सहयोग गरिरहेका छन् । यो एक सुरक्षित ऋण हो ।”

ट्रम्पले गत हप्ता युक्रेन रुसविरुद्धको लडाइमा २७०० युवाहरू मारिएका बताए । उनले भने, “म ती सबै युवाहरूलाई मारिनबाट रोक्न चाहन्छु । लडाइमा हरेक हप्ता हजारौं मारिरहेका छन् । तिनीहरूले हप्तामा हजारौं सिपाहीहरू गुमाइरहेका छन् । म यसलाई रोकिएको हेर्न चाहन्छु ।”

यसअघि फेब्रुअरीमा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको लागि शान्ति र उत्तर एट्लान्टिक सन्धि गठबन्धन (नाटो)को सदस्यताको बदलामा राष्ट्रपति पदबाट राजीनामा दिन आफ्नो इच्छा व्यक्त गरेका थिए ।

जेलेन्स्कीले आफ्नो आजको ध्यान युक्रेनको सुरक्षामा रहेको बताए । माइलोभानोभले एक्समा साझा गरेको पोस्ट अनुसार, जेलेन्स्कीलाई सोधिएको थियो कि उनी शान्तिका लागि पद त्याग्न तयार छन् कि छैनन् ।

जवाफमा जेलेन्स्कीले भने,“म शान्तिका लागि पद छाड्न तयार छु । यदि शान्ति भएन भने युक्रेनको लागि नाटोको बदलामा म पद छाड्न पाउँदा खुसी हुनेछु । म आज युक्रेनको सुरक्षामा केन्द्रित छु र दशकौंसम्म सत्तामा रहने छैन ।”

 

एलपी ग्यासको मुल्य बढ्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मुल्य बढ्ने भएको छ । आन्दोलनरत नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच ५ बुँदे सहमतिभए संगै ग्यासको मुल्य बढ्ने भएको हो ।

आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि ग्यासमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहित भएको छ। यस सँगै अब ग्यासको मुल्य प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

सुदूरपश्चिम स्थानीय तह विधेयकबाट ‘आन्तरिक प्रतिस्पर्धा’ हटाइने, करारलाई एकपल्ट उमेर हद नलाग्ने

कैलाली । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ मा केही हेरफेर गर्न सत्ता गठबन्धनभित्र सहमति जुटेको छ ।

विधेयकमा विवादमा रहेको विषयमा मुख्यमन्त्री कमल बहादुर शाहले मंगलबार सत्ता गठबन्धनको बैठक डाकेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता र प्रमुख सचेतकसहितको बैठकमा विधेयकमा रहेको महत्त्वपूर्ण विवादित विषय हटाउने सहमति भएको छ ।

मुख्यमन्त्री शाहले सभामुख भीम भण्डारी, विधायन तथा प्रदेश मामिला समिति सभापति दिवानसिंह विष्ट, प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहरासहित सत्ता गठबन्धनका नेता तथा प्रमुख सचेतकहरूलाई विधेयकमा निकास दिन छलफलमा डाकेका थिए ।

सभामुख बैठकमा आएनन् । त्यसबाहेक संसदीय समितिका सभापति विष्ट, लोक सेवा आयोगका अध्यक्ष बोहरासहित नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता समेत रहेका स्वयम मुख्यमन्त्री शाह र प्रमुख सचेतक विक्रमसिंह धामी, नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुख समेतक इन्दिरा गिरी बैठकमा उपस्थित हुने छन् । बैठकमा सामाजिक विकास मन्त्री मेघराज खड्का पनि उपस्थित थिए ।
प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेल र सचिव वसन्त प्रसाद कोइरालालाई सँगै राखेर गरिएको छलफलमा विधेयकमा स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारको रुपमा नियुक्त भएकाहरूको लागि ऐन लागू भएपछि पहिलो पटकको लागि उनीहरूबीच नै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्थाबारे व्यापक छलफल भएको थियो ।

आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्थाले स्थानीय तहमा अस्थायी वा करारको रुपमा कार्यरत कर्मचारीलाई मात्रै फाइदा पुग्ने हुँदा त्यस व्यवस्थालाई संशोधन गर्नु पर्ने छलफलले निष्कर्ष निकालेको छ ।

अब आन्तरिक प्रतिस्पर्धाका ठाउँमा खुल्ला प्रतिस्पर्धाबाट प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था लागू हुनेगरि सहमति भएको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

‘लोक सेवा आयोग पास गरिसकेर निजामती कर्मचारी भइसकेपछि मात्रै आन्तरिक प्रतिस्पर्धा गर्ने कुरा हुन्छ करार र अस्थायी कर्मचारीहरूले त लोक सेवाको परीक्षा दिनुभएको छैन कसरी आन्तरिक प्रतिस्पर्धा हुन्छ’, उनले भने, ‘अब लोक सेवाले परीक्षा लिँदा खुल्ला प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले खुल्ला प्रतिस्पर्धा हुने र स्थानीय तहमा अस्थायी वा करारको रुपमा कार्यरत कर्मचारीको हकमा पहिलो एक पटकको लागि मात्र उमेर हद नलगाउने सहमति भएको बताए ।

लोक सेवामार्फत खुल्ने विज्ञापनमा प्रतिस्पर्धा गर्न ३५ वर्ष उमेरहद तोकिएको छ । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ अनुसार स्थानीय तहका कर्मचारीहरूको लागि भने उमेरहद नलाग्ने भएको छ ।स्थानीय सरकार सञ्चालन ऐनको धारा ८७ मा पनि यो व्यवस्था रहेको छ ।

छलफलमा विधायन तथा प्रदेश मामिला समिति सभापति विष्टले हुबहु पारित गर्दा पनि खासै फरक नपर्ने बताएका थिए । तर, सहभागी सबैजसोले खुल्ला प्रतिस्पर्धा मार्फत मात्रै आयोगले परीक्षा दिनुपर्ने बताएपछि त्यसैमा सहमति जुटेको हो ।

प्रदेशसभाको दशौँ अधिवेशनबाट दफावार छलफलको लागि साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा उक्त विधेयक ल्याइएको थियो । विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफलपछि सभामुख भण्डारीलाई बुझाइएको प्रतिवेदन अझै प्रदेश सभा सचिवालयमा दर्ता भएको छैन ।

विधेयकमा रहेका केही व्यवस्थाले सीमित कर्मचारीलाई लाभ पुग्ने भन्दै व्यापक गुनासो आएपछि सभामुख भण्डारीले त्यसलाई अध्ययन गरिरहेका छन् । सोमबार मात्रै सभामुख भण्डारी र मुख्यमन्त्री शाहबीच पनि यो विषयमा छलफल भएको थियो । प्रमुख सचिवसहितको उक्त छलफलमा अहिलेकै अवस्थामा विधेयक पास गर्दा सीमित कर्मचारीलाई लाभ पुग्ने भन्दै संशोधन हुनुपर्ने कुरो उठेको थियो ।

स्थानीय निकायको स्वीकृत दरबन्दीमा अधिकृत छैटौँ र आठौँ तहको पदमा नियुक्ति भएका कर्मचारीहरूको लागि कानुनले केही सहज गरिदिएको छ । तह वृत्ति गर्दा ज्येष्ठता पुरानै कायम गर्दा लोकसेवा आयोगबाट पास भएर आएका कर्मचारीहरू मारमा पर्ने बताइएको छ ।

‘साबिक स्थानीय निकायको स्वीकृत दरबन्दीमा अधिकृत छैटौँ र आठौँ तहको पदमा नियुक्ति भई स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई माथिल्लो तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता पुगेको भए अख्तियारवालाले एक पटकको लागि स्थानीय सेवाको क्रमशः अधिकृत सातौँ र नवौँ तह कायम गरिदिने छ’, दरबन्दी कायमा गर्ने व्यवस्थामा भनिएको छ, ‘यसरी तह मिलान भएको तहको ज्येष्ठता सुरु नियुक्ति भएको मितिदेखि लागू हुनेछ ।’

स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको तह वृत्ति गर्दा साविक घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला विकास समिति, नगरपालिका तथा गाउँपालिमा रहेका कर्मचारीहरूको बारेमा मात्रै उल्लेख गरिएको छ यहाँ पनि लोकसेवा आयोगबाट पास भएर आएका निजामती कर्मचारी मारमा परेको उनीहरुको गुनासो रहेको थियो ।

मुख्यमन्त्री शाहले विवादित विषयको अध्ययन गरेर सबैलाई लाभ हुनेगरि कानुन बनाउनु पर्नेमा लागिरहेका छन् ।

घोडाघोडीमा तीन सय ८२ प्रजातिका चरा

धनगढी, फागुन २० गते। कैलालीस्थित घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३८२ प्रजातिका चरा पाइन थालेका छन्।

रैथाने र आगन्तुक गरेर यहाँ त्यति प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ।

घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ। यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने गरेको मन्त्रालयले जानकारी दिएको छ।

चरा र बासस्थान संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा आरक्षको रुपमा पन्छी अभयारण्य क्षेत्र बनाएको छ। सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा ८७ मा टेकेर प्रदेश सरकारले २०७९ भदौ ९ गते पन्छी अभयारण्य क्षेत्र घोषणा गरेको थियो।

यस आरक्षमा घोडाघोडीसहित २४ वटा ताल रहेका छन्। हरिहाँस, नादुन हाँसले घोडाघोडी तालमामात्रै बच्चा कोरल्ने गरेको जनाइएको छ। अन्तर्राष्ट्रिय रामसारमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरु घोडाघोडी जैविक विविधताको एक अभिन्न अवयव रहेकाले चराको संरक्षणका लागि प्रदेश सरकारले पन्छी अभयारण्य क्षेत्र बनाएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए। उनले पन्छी अभयारण्य क्षेत्र घोषणापछि प्रदेश सरकारले विभिन्न काम गर्दै आएको जानकारी दिए।

चरा आरक्ष घोषणापछि प्रदेश सरकारले पन्छी अभयारण्य कार्ययोजनाको तयारी, चोरी शिकारी नियन्त्रण दल परिचालन, वन हेरालु तथा चोरी शिकारी नियन्त्रण दललाई नेचरगाइड तालिम प्रदानको कार्य गरेको छ। यसैगरी, चरा संरक्षणसम्बन्धी स्कुल शिक्षा कार्यक्रम सञ्चालन, चरा संरक्षणका लागि सरोकारवालाबिच समन्वय बैठक बस्ने, चरा गणना लगायतको कार्य भएको श्रेष्ठले जानकारी दिए।

 

राधिका दासीको कथा वाचन : धनगढीमा देशकै ठूलो पुरस्कार स्थापना हुने

धनगढी, फागुन २० गते । कैलालीको धनगढीमा फागुन २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन २१ गतेदेखि २७ गतेसम्म महायज्ञ हुने भएको हो।

महायज्ञमा राधिका दासीबाट भागवत कथा वाचन हुने समाजका अध्यक्ष तीर्थराज पाण्डेले जानकारी दिए। साहित्य समाजले देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि महायज्ञ आयोजना गर्न लागेको पाण्डेयको भनाइ छ।

‘ऐतिहासिक विरासत बोकेको र विभिन्न शक्तिपीठसहित पवित्र तथा पावन भूमिका रुपमा रहेको सुदूरपश्चिममा धर्म, संस्कृति र अध्यात्ममार्फत नवीन सन्देश दिन महायज्ञको आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘‘भाषा, साहित्य, कला, संस्कृति, पुरातत्वजस्ता वाङ्मयका क्षेत्रमा देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ र सांस्कृतिक सङ्ग्रहालय निर्माणको पवित्र उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागेका छौं।’’

उनले भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनका लागि २०५१ सालमा स्थापना भएको साहित्य समाजले विगतका वर्षमा गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक र सांस्कृतिक कार्यक्रमबाट यस क्षेत्रका गौरव गाथा बढ्दै साहित्यिक जागरण ल्याएको बताए ।

महायज्ञकी प्रमुख वाचिकासमेत रहेकी राधिका दासीले पुण्य कार्यका लागि भइरहेको महायज्ञमा सबैलाई सहभागिताका लागि आग्रहगरेका छन् । महायज्ञ धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महायज्ञ हुनेछ। -गोरखापत्र

 

कैलाली नपुग्दै सुदूरपश्चिममा दलको नेता फेर्न प्रचण्डले दिएको निर्देशन अलपत्र

कैलाली । १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए ।

अघिल्लो वर्ष माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो ।

आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि अन्तिम पल्ट बुधवार उनले सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए ।

फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड एक घण्टाको लागि मात्रै काठमाडौँ आएका थिए ।

प्रचण्डले पुरानै शैलीमा ‘म २० गते कैलाली पुग्छु म पुग्नुभन्दा पहिल्यै नै निर्णय कार्यान्वयन गराउनु होला’ प्रचण्डले सबैलाई साथमा राखेर फेरी निर्देशन दिए । प्रचण्डले यस अघि नै भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए ।

माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न मङ्गलवार कैलाली पुग्ने आफ्नो कार्य तालिका सुनाउँदै उनले त्यो बेलासम्म समस्या समाधान गर्न सबै सांसदहरूलाई बोलाएरै निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन भएन । आफूले भनेजस्तै गरी प्रचण्ड अहिले कैलाली पुगिसकेका छन् । तर, दलको नेताको विवाद मिलेको छैन। ‘अध्यक्ष कमरेडले २० गतेभित्र विवाद मिलाउन भन्नु भएको थियो तर, विवाद अझै मिलेको छैन ’ माओवादीका एक सांसदले भने ‘कसरी विवाद मिलाउने भन्ने विषयमा दुई पक्षबीच सहमति जुट्न सकेको छैन ।’

संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५्५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । यस्तो अवस्थामा केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आइरहेको छ ।

प्रचण्डले आफै बोलाएर २० गतेभित्रै भट्टलाई नेता बनाउन भने पनि कुन विधिले बनाउने भन्ने विषय भने अन्योलमा पर्दा प्रचण्डले अन्तिम पल्ट दिएको निर्देशन पनि उल्लङ्घन भएको छ ।

थारु राष्ट्रिय मुक्ति मोर्चाको उद्घाटन हुँदै

माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न टिकापुरमा आज सुरु हुँदै छ । सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी छन् ।

उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारु, राना थारु तथा कठरिया थारु समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ ।

सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल लगायतका पार्टी पदाधिकारी तथा नेताहरू सहभागी हुने छन् ।

एनएसएलमा धनगढी एफसीबाट ओलावालेको निरन्तरता

धनगढी । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि नाइजेरीयन फरवार्ड आफिज ओलावालेलाई पुनः टोलीमा अनुबन्ध गरेको छ।

ओलावाले यसअघि एनएसएलका दुई संस्करणमा धनगढी एफसीबाट खेल्दै टोलीलाई दुवै सिजनको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। भारत र बंगलादेशका शीर्ष लिगमा समेत अनुभव हासिल गरिसकेका ३० वर्षीय ओलावालेले नेपालका अधिकांश शीर्ष क्लबबाट खेलिसकेका छन्। उनको आगमनले धनगढी एफसीलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।

धनगढी एफसीले यसअघि नै लेबनानी फरवार्ड अहमद हजाजीलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ। यसबाहेक, देवेन्द्र तामाङ, जेजस काकी, पासाङ लामा, विवेक पौडेल, विजयारथ शेख, रुद्र फुयाँल, रामचन्द्र वादी, शांतिलाल र अशोक खवासजस्ता खेलाडी टोलीमा रहेका छन्। यस सिजनका लागि धनगढी एफसीले स्पेनका जुआन म्यानुएल मार्टिनेज सायेजलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ।

युइएफए प्रो लाइसेन्स प्राप्त मार्टिनेजले स्पेन, पानामा, थाइल्यान्ड, ओमान, माल्दिभ्स र बंगलादेशका क्लबहरूलाई प्रशिक्षण गराइसकेका छन्। भने नेपाली क्रिकेट टोलिका स्टार अलराउण्डर दिपेन्द्र सिंह ऐरी लाई ब्राण्ड एम्बासडर नियुक्त गरिसकेको छ । नाइजेरीयन फरवार्ड ओलावालेले लगातार तेस्रो पटक धनगढी एफसीबाट खेल्न पाउँदा खुशी व्यक्त गरेका छन्।

उनले भने, ‘हामी दुई सिजन उपाधिको धेरै नजिक पुगेर चुकेका थियौं। अधुरो सपना पूरा गर्न यसपटक टोलीसँग पुनः जोडिएको छु।’ धनगढी एफसीका अध्यक्ष सुवास शाहीले ओलावाले टोलीका मुख्य पहिचान भएकाले उनको आगमनले क्लबलाई थप मजबुत बनाउने बताएका छन्।

उनले भने, ‘नेपाली माटोमा राम्रो सँग भिजेका र नेपाली फुटबलमा गोलमेसिनका रूपमा चिनिएका ओलावालेले यस सिजन पनि समर्थकहरूको मन जित्ने विश्वास लिएका छौं।’ धनगढी एफसीले चैत १६ गते सुरु हुन गईरहेको एनएसएलको‌ तेस्रो संस्करण‌का लागि बलियो तयारी गरिरहेको छ। विदेशी तथा अनुभवी खेलाडीको आगमनले क्लबलाई उपाधि दाबेदार बनाउने अपेक्षा गरिएको छ।

‘ह्याकरवन एम्बास्डर वर्ल्डकप : क्वाटरफाइनलबाट बाहिरियो नेपाल

काठमाडौं । विश्वकै प्रतिष्ठित ह्याकिङ प्रतियोगिता ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२४’ मा नेपाली टिम क्वाटरफाइनलबाट बाहिरिएको छ । मङ्गलबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ह्याकरवनले नेपाल प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको हो ।

यसअघि, नेपाली टिमले बेलायतलाई पराजित गर्दै शीर्ष १६ अर्थात् क्वाटरफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अब सेमिफाइनलमा नेदरल्यान्ड्स र स्पेन तथा ग्रीस र इजिप्टबीच प्रतिस्पर्धा हुनेछ । विजयी हुने टिमहरू फाइनल चरणमा आमनेसामने हुनेछन् ।

ह्याकरवन एम्बास्डर वर्ल्डकप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका ह्याकरहरूको टिमले विभिन्न सिस्टममा रहेका कमजोरी (बग) पत्ता लगाउने प्रतिस्पर्धा गर्छन् । जुन टिमले तोकिएको समयसीमाभित्र बढी कमजोरी पहिचान गर्छ, त्यसकै अंक बढी रहन्छ । अन्ततः सर्वाधिक अंक प्राप्त गर्ने टिम विजेता घोषित हुन्छ ।

नेपालको टिममा रहेका ह्याकरहरू:

आनन्द ढकाल, आकाश हमाल, सन्दीप ओली, कुशल ढकाल, प्रशान्त भट्टराई, वैभव आनन्द झा, खगेश्वर जोशी, अविरल श्रेष्ठ, आयुष श्रेष्ठ, विवेक उप्रेती, विवेक ढकाल, रिकेश बानियाँ, विशाल श्रेष्ठ, मिलन कटुवाल, प्रणव प्रणय, विश्वदीप तामाङ, R3dpars3c, 20_root, मधुसूदन आचार्य र प्रसिद्ध भुसाल ।

अमेरिकाबाट एक नेपाली निष्कासित

काठमाडौं : अमेरिकाले थप एक नेपालीलाई निष्काशन गरेको छ। मानव तस्करको सहयोगमा अवैध ढंगबाट अमेरिका पुगेका एक युवकलाई अमेरिकाले निष्कासन गरेको हो ।
उनी केही समय बसेपश्चात त्यहाँको पीआर लिन अदालती प्रक्रियामा गएका थिए। तर त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले उनको कागपत्रमा कैफियत फेला पारेपछि उनलाई पीआर दिन अस्वीकार गरेको थियो। पीआर दिन अस्वीकार गरेपछि अदालतले तत्काल अमेरिका छाड्ने आदेश दिएको थियो तर केसी थरका उनले अदालतको आदेश अवज्ञा गर्दै गैह्रकानुनी ढंगले काम गर्दै आएका थिए।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई निकाल्न गरेको प्रयासमा केसी केहि समय अगाडि समेत पक्राउ गरे। त्यहाँको अध्यागमनले उनीमाथि थप अनुसन्धान गर्दै अमेरिकाबाट निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काएको स्रोतले बताएको छ।

 

ट्रम्पले आफ्नो योजना मङ्गलबार संसदमा पेश गर्ने

वासिङ्टन, १९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्ने भएको छ । उक्त अवसरमा उनले अमेरिकी राष्ट्रपतिका रूपमा संयुक्त राज्य अमेरिका र विश्वका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

सन् २०२० को चुनावमा पराजयपछिको चार वर्षपछि अमेरिकी संसद भवनमा हुने उनको यो पहिलो सम्बोधन हो ।

रिपब्लिकन राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो ४३ दिनमा जारी गरिएको कार्यकारी आदेशको पुनरावलोकन गर्ने र बाँकी एक हजार ४१९ दिनको खाका पेश गर्ने अपेक्षा गरिएको छ ।

अलाबामाका सिनेटर तथा पूर्व फुटबल प्रशिक्षक टोमी ट्युबरभिलले इन्स्टाग्राममा भनेका छन्, “राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको अहिलेसम्मको जितलाई उजागर गर्ने र आगामी चार वर्षका लागि ‘गेम प्लान’ प्रस्तुत गर्नेछन् ।

“एउटा कुरा निश्चित छ, यो पूर्व राष्ट्रपति जो बाइडनको नेतृत्वमा विगत चार वर्षमा हामीले भोगेको ‘जोकर शो’भन्दा धेरै फरक हुनेछ,” रिपब्लिकन सांसद ट्युबरभिलले भने ।

प्रतिविम्ब परिवर्तन

ट्रम्पले आफ्ना अर्बपति सल्लाहकार एलन मस्कसँग मिलेर राष्ट्रपतिको ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा कार्यान्वयन गर्न कडा र छिटो प्रयास गर्ने आशय देखाइसकेको छ, चाहे यसको अर्थ, उनको अधिकारको संवैधानिक सीमाको परीक्षण गर्नु वा सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाउनु नै किन नहोस्।

पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा संघीय निकायहरू विघटन गर्र्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने र क्युबाको ग्वान्टानामो बेस्थित अमेरिकी सैन्य शिविरमा कागजातविहीन आप्रवासीहरूलाई राख्न थालेका छन् ।

उनले क्यानडालाई गाभ्ने, आवश्यक परेको खण्डमा आर्थिक बल प्रयोग गर्ने र संयुक्त राज्य अमेरिकालाई बलियो बनाउन युरोपेली सङ्घ गठन गरिएको दाबीसमेत गरेका छन् ।

शुक्रबार ओभल अफिसमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ट्रम्पको असाधारण चर्काचर्कीमा उनले आफ्ना युक्रेनी समकक्षीको आलोचना गरेको थियो यो अमेरिकी प्रतिविम्ब परिवर्तनको पछिल्लो उदाहरण मात्र थियो।

रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् ।

सोमबारदेखि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएको सामाजिक सञ्जाल फेसबुक मार्फत झाले जानकारी गराएका छन् ।

‘म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु’, उनले लेखेका छन् ।

झा गत माघ पहिलो हप्तादेखि अध्ययनका लागि एक महिना बिदामा बसेका थिए । उनको अनुपस्थितिमा सह–प्रवक्ता प्रतिभा रावलाई जिम्मेवारी दिएका थिए ।

नेपाल र भारतबीच ‘वास’ क्षेत्रको विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौतापत्रको लक्ष्य छ ।’

भारत र नेपाल दुवै देशहरूबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवद्र्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य लिइएको छ । सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदानप्रदान, बर्सातको पानी संकलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख छ ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, भारत सरकारको जलशक्ति मन्त्रालयका सचिवद्वय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता छ । मन्त्री यादव भोलि मंगलबार स्वदेश फर्किने तालिका छ ।

रास्वपाका केन्द्रीय सदस्य अमेरिकामा पक्राउ, पार्टीको सूचीबाट हटाइयो नाम

१८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा नेता मनिष झाका अनुसार थापा हाल अमेरिकन इमिग्रेशनको हिरासतमा छन् ।

झाले जानकारी दिएअनुसार थापाले यसअघि नै केही व्यक्तिगत कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै पार्टीको जिम्मेवारीबाट बाहिर रहने निवेदन दिएका थिए । उनले कानुनी प्रक्रियाहरू समाधान नभएसम्मका लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीमा नरहने उल्लेख गर्दै निवेदन दिएका थिए ।

पार्टीको वेबसाइटबाट समेत केन्द्रीय सदस्यहरूको सूचीबाट थापाको नाम हटाइएको छ ।

अमेरिकाले सहयोग रोक्दा नेपालमा गैंडा गणना कार्यक्रम प्रभावित

चितवन – अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआडी) को सहयोग रोकिंदा नेपालमा यस वर्ष गर्ने गैंडा गणना कार्य नै प्रभावित भएको छ । गैंडा गणना कार्य दाताको भरमा मात्रै हुँदै आएकोले युएसएआइडीको सहयोग रोकिएसँगै संकटमा परेको हो । हरेक पाँच–पाँच वर्षमा गरिने गैंडा गणना यो वर्ष चैत ५ गतेदेखि २५ गतेसम्म गर्ने तयारी थियो ।

गैंडा गन्न चाहिने जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठूला भाडाहरु, टेण्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख सबै खर्च युएसएआइडीले बोहोर्ने सहमती थियो । तर सहयोग रोकिएपछि खरिद प्रक्रिया नै स्थगीत गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिनुभयो । गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ ।

युएसएआइडीको जलजङ्गल परियोजनासँगै विश्व वन्यजन्तु कोष नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संघ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । तर झन्डै ५० लाखका उपकरण किन्ने सहयोग नै रोकिएपछि अरू निकाले पूरा खर्च व्यहोर्न नसक्ने बताएका छन् । चैतपछि गैंडा गन्न नसकिने भएकोले अब कार्यक्रम स्थगीत गर्नुको विकल्प नरहेको आचार्यले बताउनुभयो ।

यसपाली गैंडा र अर्को वर्ष बाघ गन्ने कार्यक्रम थियो । सहयोग रोकिंदा बाघ गन्ने कार्यक्रम समेत प्रभावित हुन सक्ने चिन्ता रहेको विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले बताउनुभयो । यस अघि सन् २०२१ मा गैंडा गणना गर्दा नेपालमा सात सय ५२ वटा गैंडा भेटिएका थिए । सन् १९६५ मा सय वटामा झरेको गैंडाको सङ्ख्या त्यसपछिको संरक्षण प्रयासले बढेको हो । गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ ।

 

गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा इजरायलको रोक

तेल अभिभ । इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ। गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधि बढाउने अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेकाले यो निर्णय गरिएको इजरायली प्रधानमन्त्रीको कार्यालयले बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि राजदूत स्टिभ विटकफले तयार पारेको प्रस्तावमा रमजान र यहूदी निस्तार चाडलाई समेट्न युद्धविरामको अवधि छ हप्ता बढाउने समावेश थियो । इजरायली सरकारले केही घण्टा अघि मात्र यसलाई समर्थन गरेको थियो।

तर हमासले युद्धविराममा अगाडि बढ्ने एक मात्र तरिका वार्ता पूरा गर्नु र हाल कायम सम्झौताको दोस्रो चरण लागू गर्नु रहेको बताएको छ। जनवरी १९ मा लागू भएको इजरायल र हमासबिचको गाजा युद्धविराम सम्झौताको पहिलो चरण शनिबार समाप्त भएको थियो।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो जसमा लगभग १,२०० जनाको मृत्यु भयो र २५१ जनालाई बन्धक बनाइएको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गाजा पट्टीमा हवाई र स्थल अभियानमा लगभग १५ महिनाको अवधिमा कम्तीमा ४८,३६५ जनाको मृत्यु भएको थियो। – बीबीसी


हरियाणमा कांग्रेस नेतृ हिमानी नरवालको हत्या

काठमाडौं- हरियाणाको साम्पलामा कांग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ । उनको शव सुटकेसमा फेला परेको थियो।

हिमानीको हातमा मेहेन्दी, घाँटीमा स्कार्फ र नाकबाट रगत बगिरहेको प्रहरीले जनाएको छ । २२ वर्षीया हिमानी नरवालको घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनको शव शनिबार बिहान साम्पला बस स्ट्यान्ड नजिकै रोहतक(दिल्ली सडकको छेउमा सुटकेसमा फेला परेको थियो। हिमानी रोहतकमा सक्रिय कांग्रेस कार्यकर्ता थिइन् । उनी राहुल गान्धीको भारत जोडो यात्रामा पनि संलग्न थिइन् ।

पूर्व मुख्यमन्त्री भूपेन्द्र सिंह हुड्डाले हिमानीको हत्याको उच्चस्तरीय अनुसन्धानको माग गरेका छन्। विजय नगरमा बस्ने हिमानीका छिमेकीहरूले हिमानी नरवाल घरमा एक्लै बस्ने गरेको बताएका छन्। आमा र कान्छो भाइ दिल्लीमा बस्छन्।

प्रहरीका अनुसार उनको जेठो भाइको करिब १५ वर्षअघि हत्या भएको थियो। यसपछि हिमानी करिब दुई वर्षअघि आफ्नी हजुरआमासँग दिल्ली बस्ने गर्थिन् । हजुरआमाको मृत्युपछि उनी एक्लै बस्दै आएकी थिइन्। पोस्टमार्टमपछि उनको हत्याबारे भन्न सकिने प्रहरीले जनाएको छ ।

ह्वाइट हाउस वार्तापछि युक्रेनीहरुले भने- ‘युक्रेनी जनतामाथि अपमान भयो’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको भन्दै युक्रेनीहरुले दुःख व्यक्त गरेका छन् । युक्रेनी जनताले ट्रम्प प्रशासनको आलोचना गरेका छन् र ट्रम्पप्रति आक्रोशित भएको बताएका छन् । शुक्रवार ह्वाइट हाउसमा भएको तनावपूर्ण वार्ताका क्रममा युक्रेनी जनताले आफूहरूमाथि अपमान भएको बताएका हुन् ।

जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रवार ह्वाइट हाउस छाडेपछि स्थिति अन्योलग्रस्त बनेको छ । ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ । वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए । अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रुसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिका अपमान गरेको आरोप लगाएपछि बैठकमा तनाब बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

तर चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँगको अन्तर्वार्तामा, युक्रेनीहरूले अमेरिकी पक्षले आफ्नो राष्ट्रपति र युक्रेनी जनताको मर्यादाको ‘अपमान’भनेकोमा असन्तुष्टि र निराशा व्यक्त गरे । ‘यो वास्तवमा हाम्रो व्यक्तिगत र हाम्रो इच्छा, हाम्रो स्वतन्त्रताको अपमान हो । तिनीहरूले हामीलाई जुन ठाउँबाट बाहिर निकालेका थियौँ त्यसैमा फर्काउन चाहन्छन् । हामी स्वतन्त्र छौँ, तीन वर्षदेखि यो प्रमाणित गर्दै आएका छौँ । हामीले हाम्रो रगतले, आफ्नो जीवनले यसको मूल्य तिरिरहेका छौँ । यसलाई वर्णन गर्न असम्भव छ, भावनाहरू केवल स्तरमा गइरहेका छन्,’ स्थानीय बासिन्दाले भने ।

‘मलाई लाग्छ कि सबै युक्रेनीहरूले भिडियो हेरे । किनभने हामी सबै वार्ताको आशामा थियौँ। द्वन्द्वको अन्त्यको लागि पर्खन चाहन्छौँ। हामी सबै हाम्रा आफन्त र साथीहरूको बारेमा चिन्तित छौँ। यो सामान्य भए पनि एक झटका हो । किनभने राष्ट्रपतिले हाम्रो देशको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँलाई अपमान गरिएको थियो,’अर्का युक्रेनी नागरिकले भने । तर राष्ट्रपति ट्रम्पले राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन्, तर आफूले शान्ति चाहेको बताएका थिए ।

नेपाललाई लागुपदार्थ मुक्त बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ, फागुन १७ गते। गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रूपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।

शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

उनले अहिले सङ्घीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताए । उनले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए।

पालिका र वडावडा स्तरबाट लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे।

समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रूपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागुऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे।

गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताए। अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्‍याउन जरुरी रहेको बताए । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गरे।

प्रेस चौतारी नेपालले जारी गर्याे १२ बुँदे धनगढी घोषणापत्र

धनगढी, १७ फागुन ।  प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन धनगढीमा सम्पन्न भएको छ ।  सङ्गठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओलीको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आज सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन समारोहमा प्रमुख वक्ता नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट रहेका थिए ।  प्रदेश अधिवेशनमा श्रमजीवी पत्रकारको पेसागत हकहित तथा सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र आगामी दिनमा चाल्नुपर्ने कदमका विषयमा गहन छलफल भएको छ। यस सँगै अधिवेशनले १२ बुँदे धनगढी घोषणापत्र–२०८१ पनि जारी गरेको छ ।

यस्ता छन् घोषणा पत्रका १२ बुँदा 

१) गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेश समिति, प्रदेशका नौ वटै जिल्ला समिति र प्रदेशबाट केन्द्रीय समितिमा गठबन्धनको तर्फबाट निर्वाचित केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला शाखाहरूबाट निर्वाचनमा सहभागी हुने सबैलाई यो अधिवेशन हार्दिक आभार प्रकट गर्दछ। साथै, विजयी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछ।

२) पछिल्लो समय आम सञ्चार माध्यमहरूमा लेखेकै भरमा पत्रकारमाथि विभिन्न दबाब सिर्जना गर्ने, चरित्रहत्या गर्ने तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भइरहेका हर्कतहरू बन्द गर्न यो सम्मेलन माग गर्दछ।

३) सुदूरपश्चिमको आम सञ्चार क्षेत्र व्यवस्थापन तथा नियमनका लागि सुदूरपश्चिम सरकारलाई यथाशीघ्र कानुन निर्माण गरी सञ्चार प्रतिष्ठान गठन गर्न माग गर्दछ।

४) स्थानीय पत्रकारितालाइ गुणस्तरीय र मर्यादित बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न र मिडिया हाउसहरूको द्विगुणित विकासका लागि आवश्यक कदम चाल्न सरोकारवाला निकायसँग माग गर्दछ।

५) मिडिया क्षेत्रमा उच्च शिक्षा अध्ययन तथा अनुसन्धान गर्न चाहने सञ्चार कर्मीहरूका लागि सुदूरपश्चिम सरकारसँग छात्रवृत्तिको व्यवस्था गर्न अनुरोध गर्दछ।

६) पत्रकार महासङ्घमा शुद्धिकरणको अभियान थप सशक्त रूपमा अघि बढाउन माग गर्दछ।

७) सुदूरपश्चिमको स्थायी राजधानीको टुङ्गो लगाई पूर्वाधार निर्माणको काम थालनी गर्न अनुरोध गर्दछ।

८) कैलालीको गेटामा यथाशीघ्र मेडिकल विश्वविद्यालय स्थापना गर्न माग गर्दछ।

९) सुदूरपश्चिम प्रदेशका सरकारी तथा गैरसरकारी क्षेत्रका विज्ञापन सुदूरपश्चिमकै सञ्चार घरमार्फत प्रकाशन र प्रसारणका लागि आवश्यक वातावरण सिर्जना गर्न सरोकारवाला निकायसँग अनुरोध गर्दछ।

१०) सुदूरपश्चिममा रहेका सञ्चार माध्यमहरूमा कार्यरत श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन र उनीहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दछ।

११) सुदूरपश्चिम क्षेत्रमा महिला पत्रकारहरूको सङ्ख्या न्यून देखिएकाले महिला पत्रकारहरूलाई उत्प्रेरित गर्न सरोकारवाला निकायसँग माग गर्दछ।

१२) सुदूरपश्चिमका अनुहार फेर्न सक्ने आयोजना पञ्चेश्वर, पश्चिम सेती, कर्णाली चिसापानीमा अध्ययन गरिएका जलविद्युत आयोजना, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण, दैजी(छेला तथा डुडेझारी औद्योगिक क्षेत्र स्थापना, महाकाली करिडोर र सेती करिडोर जस्ता ठुला निर्माण कार्यहरूलाई अघि बढाउन सरकारसँग माग गर्दछ।

घोषणापत्र लोकेश साउद (बैतडी),भोजराज जोशी (कैलाली), भानुभक्त आचार्य (कैलाली), लिली कुँवर (कञ्चनपुर) सहितको चार सदशिय समितिले तयार गरेको हो ।

हिमपहिरोमा पुरिएका ५५ मध्ये ४९ जनाको उद्धार, छ जना अझै बेपत्ता

एजेन्सी : उत्तराखण्डको चमोलीमा हिमपहिरोमा पुरिएका ५५ जनामध्ये ४९ जनाको उद्धार गरिएको छ।

हिजो राति ८ बजेसम्म ३३ जनाको उद्धार गरिएकोमा आज थप १६ जनालाई बाहिर निकालिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पुरिएकामध्ये छ जनाको खोजी कार्य जारी छ। दुई जना कामदारको मृत्युको खबर आए पनि आधिकारिक पुष्टि हुन नसकेको समाचारमा उल्लेख छ।

उद्धारमा सेना, आईटीबीपी, बीआरओ, एसडीआरएफ र एनडीआरएफका २०० भन्दा बढी सैनिकहरू संलग्न छन्। यो घटना बद्रीनाथबाट ३ किलोमिटर टाढा चमोलीको माना गाउँमा भएको हो।

उद्धार गरिकामध्ये २५ जना कामदारलाई मानाबाट जोशीमठ सैनिक अस्पतालमा ल्याइएको छ र बाँकीको उद्धार कार्य जारी छ।

प्रधानमन्त्री मोदीले उत्तराखण्डका मुख्यमन्त्री धामीबाट उद्धार कार्यको बारेमा जानकारी लिएका छन्। धामीले पनि आज बिहान घटनास्थलको भ्रमण गरेका थिए।

बिहार, उत्तर प्रदेश र उत्तराखण्डका ११-११ जना कामदार
हिमपहिरोमा फसेका ५५ जना कामदारमा बिहारका ११, उत्तर प्रदेशका ११, उत्तराखण्डका ११, हिमाचल प्रदेशका ७, जम्मू कश्मीरका १ र पञ्जाबका १ जना छन्।

उत्तराखण्ड सरकारले जारी गरेको सूचीमा १३ जना मजदुरको नाम छ, तर उनीहरूको ठेगाना भने उल्लेख छैन।

शुक्रबार उद्धार गरिएका सबै कामदारहरूलाई माना गाउँमा रहेको आईटीबीपी क्याम्पमा ल्याइएको छ। त्यहाँ उनीहरूको उपचार जारी छ। चार जनाको अवस्था गम्भीर छ।

खोज्नुहोस