लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सोधेको छ ।

उच्च अदालत पोखराले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो ।

उच्च अदालत पोरखाका न्यायाधीश राजकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । रविसहितलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकार उच्च अदालत गएको थियो ।

गत पुस २५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरुङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष आरती गुरुङलाई जिल्ला अदालतले धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

राष्ट्रपतिले बोलाए संसद्को हिउँदे अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते शुक्रबारका लागि संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम दुवै सदनका अधिवेशन बोलाएका हुन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउन ट्रम्पद्वारा आदेशमा हस्ताक्षर

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताए । राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको उनले बताए ।

शपथग्रहण समारोहमा ट्रम्पले अमेरिकामा दुईवटा मात्र लिङ्ग रहेको आधारमा नीतिहरू बन्ने बताए । ट्रम्पले आफ्नो वैदेशिक र अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गरे । उनले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने प्रतिबद्धता जनाए ।

उनले पानमा कनाल अमेरिकी नियन्त्रणमा ल्याउने बताए र त्यसलाई अहिले चीनले चलाइरहेको झुटो दाबी गरे । पानमा उक्त जलमार्गका लागि स्वायत्त रहेको छ ।

उनले त आफूले पहिला १०० दिनमा गर्ने कामहरू, लिने नीतिहरू र प्रतिबद्धताहरूको लामो सूचीसहित त्यसको विस्तृत विवरणसमेत दिए ।

ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने र अध्यागमनसम्बन्धी नियमहरू कार्यान्वयनका लागि राष्ट्रिय सेना परिचालन गर्ने घोषणा गरे । उनले सन् २०१९ मा पनि त्यस्तै सङ्कटको घोषणा गरेका थिए भने आफ्नो चुनावी अभियानमा पनि त्यस्तो गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै उनले तत्काल कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकामा “तत्कालै सेन्सरशिप अन्य गर्ने र वाक् स्वतन्त्रता फिर्ता ल्याउने” घोषणा पनि गरे ।

आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू उनले हस्ताक्षर गरेका छन् जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ ।

उनले बाइडन प्रशासनले लागु गरेका झण्डै असीवटा प्रावधानहरूलाई उल्टाइ दिएका थिए भने प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिइएको छ ।

त्यस घटनामा उनका समर्थकहरूले त्यसबेलाको राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई उल्टाउने प्रयास गरेका थिए ।

ट्रम्पले गरे जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

महिला यु-१९ विश्वकप : स्कटल्यान्डसँग १ विकेटले हार्‍यो नेपाल

काठमाडौं : आइसीसी महिला यु(१९ विश्वकपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। मलेसियामा सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ७३ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको स्कटल्यान्डले १८.५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

स्कटल्यान्डका लागि पिप्पा स्प्रउलले सर्वाधिक ३५ रन बनाइन्। त्यस्तै गब्रेइल्ला फोन्टेन्ला १२ रन र क्रिस्टी म्याकुल ६ रनमा अविजित रहे। नेपालका लागि रचना चौधरी र समा केसीले २-२ विकेट लिए भने पूजा महतो र क्रिस्मा गुरुङले १-१ विकेट लिए।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २ रन बनाइन् भने साबित्री गौतमले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

 

विपिन जोशीको रिहाइकालागि परराष्ट्रमन्त्री र इजिप्टका विदेशमन्त्रीबीच वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा। बदर अब्देल(अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा। राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।

जवाफमा अब्देल(अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् ।

गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन् ।

गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । उक्त सूची इजरायलले आइतबार सार्वजनिक गरेको थियो ।

तर, उक्त सूचीमा विपिनको नाम भने समावेश छैन ।

 

ट्रम्पको आश्वासन पछि अमेरिकामा टिकटक फेरि सञ्चालन

वासिङ्टन : नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले कानूनी व्यवस्था गर्ने आश्वासन दिएपछि अमेरिकामा टिकटक फेरि सञ्चालन भएको छ।

सोमबारदेखि टिकटकले अमेरिकामा पुनः सेवा सञ्चालन गरेको जनाएको छ। सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै  राष्ट्रपति ट्रम्पलाई यसको श्रेय दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। टिकटकले आइतबार अमेरिकामा सेवा बन्द गरेको थियो।

टिकटकका चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर-चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा अमेरिकामा सेवा बन्द गरेका थिए। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएपछि टिकटक सेवा बन्द गर्न बाध्य भएको थियो। प्रतिबन्ध लाग्नुभन्दा एक दिन अघि नै टिकटकले सेवा बन्द गरेको जनाएको थियो।

त्यसपछि चीनले पनि अमेरिकालाई सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थियो। “अमेरिकी पक्षले तर्कसङ्गत आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ र संयुक्त राज्य अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने कुरा हामी आशा गर्दछौँ,” चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने।

टिकटक धेरै वर्षदेखि अमेरिकामा सञ्चालन रहेको उल्लेख गर्दै उनले घरेलु रोजगारीलाई बढावा दिन र उपभोग बढाउन सकारात्मक भूमिका खेलेको जिकिर गरेका छन्।

 

यु–१९ महिला विश्वकप : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य

काठमाडौं – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ७३ रन बनायो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसै गरी  सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् । स्कटल्यान्डले अहिले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

अवैध रुपमा बसेका पाँच नेपाली टर्कीबाट निष्काशित

काठमाडौं– अवैध रुपमा टर्कीमा बस्दै आएका पाँद्ब जना नेपाली निष्काशित भएका छन्। गत शनिबार उनीहरु टर्किस एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेका छन्।

अवैधरुपमा बसेको थाहा पाएपछि टर्कीको प्रहरीले उनीहरूलाई केहीदिनअघि पक्राउ गरेको थियो। निष्काशित हुनेहरूमा जीवन राज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा रहेका छन्।

पक्राउ परेका न‍ेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए। उनीहरूलाई काठमाडौंबाट मानव तस्करको सञ्जालले त्यहाँ पुर्‍याएको हुनसक्ने बताइएको छ।

उनीहरूको साथमा आफ्नो राहदानीसमेत थिएन। ट्राभल डकुमेन्ट बनाएर उनीहरू नेपाल आएका हुन्। उनीहरूलाई मानव तस्करकै सञ्जालले त्यहाँ अलपत्र पारेको थियो । लुकिछिपी बसेका उनीहरूलाई टर्कीको अध्यागमन  प्रहरीले पक्राउ गरी निष्काशन गरेको हो।

टर्कीमा रहेका बेला उनीहरूले क-कस्तो काम गरेका थिए भन्ने विषयमा भने खुल्न सकेको छैन।

खो खो विश्वकपको उपविजेता नेपाली टोली स्वदेश फर्किंदै

काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ ।

भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो ।

नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछ । नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

राखेप सदस्यसचिव घिसिङले खेलकुद विकास नियमावली, २०७९ अनुरुप नेपाली टोलीले नगद पुरस्कार पाउने उल्लेख गरे ।

हाल पुरस्कार घोषणा लागि खेलाडी पर्खनुपर्ने अवस्था नरहेको र खेलाडीको सफलतासँगै कानूनी रूपमा नै उनीहरूले पुरस्कार पाउने व्यवस्था भइसकेको घिसिङको भनाइ छ ।

आईतवार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४–३६ ले पराजित भएको थियो ।

त्यसअघि महिला टोलीले पनि भारतसँग ७८–४० ले पराजित भएको थियो । नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो । लिगचरणमा पनि नेपाल भारतसँग ४२–३७ को प्रतिष्पर्धात्मक रूपमा पराजित भएको थियो ।

फाइनलमा भने नेपालले खासै चुनौती दिन सकेन । नेपाली महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकिएको हो ।

बुवाको लाश आँगनमा, डा.पन्त बिरामीको आँखाको शल्यक्रियामा व्यस्त

धनगढी, ७ माघ ।
एउटा छोराका लागि पितृ र मातृ शोकभन्दा ठूलो अर्को पीडा हुदैन । तर बरिष्ठ नेत्र चिकित्सक डा. विद्या प्रसाद पन्तले त्यो शोककाबीच पनि चिकित्सक हुनुको धर्म निर्बाह गरिरहे । यता धनगढीमा बुवाको लाश घरको आँगनमा थियो । उता म्यानमारको टाउँजीमा डा. पन्त बिरामीको आँखाको शल्यक्रिया गरिरहेका थिए ।

बुवाको मृत्यु भएको खवर उनले नपाएका होईनन । तर उनले त्यो समयको सदुपयोग गर्दै बिरामीको आँखाको शल्यक्रिया गरे, जुन समय उनी जीवनकै सबैभन्दा पीडा र छटपटीमा थिए । बुवाको क्रियाकर्म सकेर नेपालबाट फर्किदासम्म उनीहरु त अध्याँरोमै रहनेछन्, उनलाई लाग्यो, जहाज उड्ने समय नहुदासम्म किन खाली बस्नु ?

डा. पन्तको जीवनको अधिकांश समय आँखाको शिविर र बिरामीको आँखाको अप्रेशनका क्रममा थियटरमै बितेको छ । त्यो खवर सुनेर तव सबै चकित परे, जव डा. पन्त बुवाको मृत्यु भएको खवर सुनेर पनि बिरामीको आँखा खोल्न अप्रेशनमा व्यस्त थिए । उनलाई अस्पतालमा सान्त्वना दिन भीड जम्मा हुदा उनी भने बिरामीको आँखाको अप्रेशन गरिरहेका थिए ।

२०८० साउन ८ गते बुवा चुडामणी पन्तको धनगढीमा मृत्यु हुदा बरिष्ठ नेत्र बिशेषज्ञ डा. पन्त म्यानमारको टाउँजीमा थिए ।

झण्डै एक दशकदेखि म्यानमारमा आँखा अस्पतालको व्यवस्थापनसंगै बिरामीको आँखाको शल्यक्रिया गर्दै आएका डा. पन्त धनगढीबाट दुई दिनअघि मात्र म्यानमार फर्किएका थिए । आईसियुमा बुवाको उपचार भईरहेको जानकारी पाएपछि धनगढी आएका डा. पन्त बुवाको अवस्था सामान्य भएपछि पुनः म्यानमार फर्किएका थिए ।

दुई दिन नबित्दै बिहानै बुवाको मृत्यु भएको खवर सुनेपछि उनले म्यानमारबाट नेपाल आउने फ्लाईटको सोधीखोजी शुरु गरे । टाउजीबाट राजधानी यांगुनका लागि एउटा मात्र फ्लाईट थियो, साँझ पाँच बजे । सडक मार्ग भएर यांगुन पुग्न संभव थिएन ।

उनले साँझको फ्लाईटको टिकट बुक गरे । अस्पतालमा त्यो दिन आँखाको शल्यक्रियाका लागि करीव ५० जनाको नाम दर्ता भएको थियो । र, अस्पतालमा अप्रेशनका लागि पुगिसकेका बिरामीलाई चिकित्सकको बुवाको निधन भएको भन्दै घर फिर्ता पठाईदै थियो ।

बुवाको लाश घरको आँगनमा थियो । एक्लो छोरा डा. विद्या टाउँजीको अस्पतालमा बिलखबन्दमा थिए । एकै पटक साँझ मात्र यांगुनका लागि फ्लाईट भएकोले उनीसंग दिनभरी जहाजको समय कुर्नुभन्दा अर्को बिकल्प थिएन ।

उनले अस्पतालबाट अप्रेशन नभएर घर फर्किदै गरेका बिरामी देखे । कति समय पछि उनीहरुको पालो आएको थियो । त्यही पालोमा अप्रेशन नभएपछि फेरि कहिले अप्रेशन हुन्छ, ठेगान थिएन ।

बिरामीलाई घर पठाएर दिनभरी खाली बस्न उनको मनले मानेन । कति समयपछि आएको पालोमा अप्रेशन नहुदा निराश भएर फर्किरहेका बिरामीहरुको अनुहार देखेर उनले आफ्नो पीडालाई थाँती राखे । र, उनले निधो गरे, जहाज उड्ने समय नहुदासम्म जति सक्यो अप्रेशन गर्छु । । उनले बिरामीलाई घर नपठाउन र शल्यक्रियाका लागि तयारी अवस्थामा राख्न अस्पताल प्रशासनलाई भने । र, उनी बिरामीहरुको आँखाको अप्रेशन गर्न थाले । बिमानस्थल जानु अघि डा. पन्तले अस्पतालमा रहेका ४१ जना बिरामीको शल्यक्रिया गर्न भ्याए ।

बुवाको मृत्युको पिडा र छटपटीका बीच पनि उनले डाक्टरको धर्म निर्बाह गरे । र, पितृ शोकका बीच सबै बिरामीहरुको आँखाको शल्यक्रिया गरे ।

अस्पतालमा पालो कुरेर बसेका सम्पूर्ण बिरामीको आँखाको शल्यक्रिया सकेर डा। पन्त साँझको फ्लाईटबाट टाँउजी हुदै यांगुन पुगे । र, त्यहाँबाट दोस्रो दिन दिल्ली उडे । र, यांगुनबाट राति दिल्ली पुगेका डा। पन्त गाडीमा रातारात बनबासा पुगे । बुवाको मृत्यु भएको तेस्रो दिन साउन १० गते उनी धनगढी पुगे । उनी नआउदासम्म बुवाको शव घरको आँगनमा राखिएको थियो । उनी आएपछि तेस्रो दिन महाकाली नदीमा उनको बुवाको दाहसंस्कार गरियो ।

हमासले सार्वजनिक गरेको ३३ बन्धकको सूची अझै परेनन् विपीन

काठमाडौं – इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्।

यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई ७अक्टोबर २०२३ मा अपहरण गरिएको थियो।

प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास पनि छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध छन्।

उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्।

इजरायलले हालै युद्धविरामको घोषणा गरेको थियो। युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने छ।

हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा विपीन जोशीको नाम परेको छैन । विपीन पनि ७ अक्टोबरमा अपहरणमा परेकामध्ये एक बन्दी हुन् ।

यद्यपि पछिल्लो केही सयमयता परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपीनको रिहाइका लागि कतार, इजिप्ट र इजरायली समकक्षीसँग पहल गरिरहेकी छन् । एजेन्सी

पतञ्जलि आयुर्वेदविरुद्ध उजुरी दर्ता : बाबा रामदेव र आचार्य बालकृष्णका लागि पक्राउ पुर्जी जारी

केरला । योगा गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको छ । आफ्नो स्वास्थ्यसम्बन्धी उत्पादनबारे भ्रामक विज्ञापन गरेको भन्दै केरलाका औषधि नियामक संस्थाले पतञ्जलि आयुर्वेदविरुद्ध उजुरी दर्ता गरेको आधारमा त्यहाँको अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

द टेलिग्राफका अनुसार पालाक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो । कन्नुरका ओप्थामोलोजिस्ट केभी बाबुले सन् २०२३ को नोभेम्बर विभिन्न उजुरी दर्ता गरेका थिए । त्यसपछि केरलाको औषधि नियन्त्रण विभागले राज्यका अधिकारीहरूलाई पतञ्जलिविरुद्ध कानुनी कारबाही सुरु गर्न निर्देशन दिएको थियो । कम्पनीमाथि ड्रग एन्ड म्याजिक रेमेडिज ९अब्जेक्सनेबल एडभर्टिजमेन्ट० एक्ट, ९डीएमआर एक्ट० १९५४ उल्लङ्घन गरेको आरोप छ ।
पतञ्जलिले एक विज्ञापनमा आफ्नो आयुर्वेदिक उत्पादनले उच्च रक्तचाप र डायबिटिज निको पार्ने दाबी गरेको थियो तर डीएमआर एक्ट अनुसार यस्ता विज्ञापन गर्न प्रतिबन्धित गरिएको छ । केभी बाबुले सन् २०२२ मा केन्द्र र प्रदेशका विभिन्न अधिकारीहरू तथा सन् २०२४ को जनवरीमा प्रधानमन्त्रीको कार्यालयमा आफ्नो उजुरी दर्ता गरेका थिए ।
यसअघि, सर्वोच्च अदालतले पनि राज्यहरूलाई त्यस्ता भ्रामक विज्ञापनहरू नियन्त्रण नगरे अवहेलनाको चेतावनी जारी गरेको थियो । योसँगै पालाक्कड जिल्ला अदालतले पुर्जी गरेको बताइएको छ ।

रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा लामिछानेसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।

रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबी गरिएको छ ।

प्रहरीले दिएको सुरुको प्रतिवेदनमा २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा सरकारी वकिलको कार्यालयमा दिएको थियो ।

लामिछाने कास्की र काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा हाल हिरासत बाहिर रहेका छन् ।

 

इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने

काठमाडौँ : अब इन्स्टाग्राममा ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने भएको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेसँगै यसअघि रहेको ९० सेकेन्डको सीमालाई बढाएर टिकटकले दोब्बर बनाएको हो ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्रयोगकर्ताहरूको प्रतिक्रियाका कारण यो परिवर्तन गरिएको बताएका छन् । गत वर्ष जुलाईमा मोसेरीले लामो समयका भिडियोहरूलाई प्राथमिकता दिदा इन्स्टाग्रामको मुख्य पहिचानलाई कमजोर बनाउन सक्ने बताएका थिए ।

इन्स्टाग्रामको यो परिवर्तन अमेरिकामा टिकटक प्रतिबन्ध हुने सँगै आएको छ । टिकटकले भने सन् २०२१ मै ३ मिनेटको भिडियो अनुमति दिन थालेको थियो । तर इन्स्टाग्रामले रिल्सको समयसीमा बढाउन निकै ढिलो गरेको छ ।

डेढ मिनेटसम्मको भिडियो अनुमति दिन थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । कम्पनीले रिल्सको समयसीमा १० मिनेटसम्म बढाउने परीक्षण गरेको थियो, तर यसलाई सार्वजनिक रूपमा लागू नगरी रोकिएको छ । लामो समयका भिडियो पोस्ट गर्न हालको लागि रिल्स बाहेकका पोस्टहरूमा मात्र अनुमति दिइएको छ ।

सैफ अलि खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौँ  : बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान चोरी गर्ने उद्देश्यले सैफको घरमा प्रवेश गरेका आरोपी मोहम्मद शहजादले सैफमाथि चक्कु प्रहार गरेका थिए ।

पक्राउ परेका शहजादको उमेर ३० वर्ष रहेको छ । उनी बंगलादेशी नागरिक भएको आशंका छ । प्रहरीका अनुसार आरोपीले चोरीको योजना बनाएर घरभित्र घुसेका थिए। उनलाई घर अभिनेता सैफ अली खानको हो भन्ने पनि थाहा थिएन ।

प्रहरीले शहजादको भारतीय नागरिकता पुष्टि गर्ने कुनै प्रमाण फेला पारेको छैन । पहिचान लुकाउन उनले आफ्नो नाम परिवर्तन गरेको पनि प्रहरीको भनाइ छ। उनी ५(६ महिना अघि मात्र भारत आएका थिए । उनी हाउसकिपिङको काम गर्थे ।

आक्रमणमा सैफलाई ६ ठाउँमा चक्कु प्रहार गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ ।

स्थानीय समय अनुसार बिहान साढे ८ बजे देखि सम्झौता लागू भएको हो । युद्धविराम सम्झौता शुुरू हुन केही घण्टा बाँकी हुँदा टेलिभिजन बाट सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले हमास सँग आवश्यक भएमा पुनः लडाइँ शुुरू गर्ने अधिकार सुरक्षित राखेको चेतावनी दिएका छन् ।

सम्बोधनमा नेतन्याहूले हमास द्वारा रिहा गर्ने बन्धकहरूको सूची प्राप्त नभए सम्म इजरायलले सम्झौता कार्यान्वयन नगर्ने बताए । इजरायलले सम्झौताको उल्लंघन नसहने उनको चेतावनी छ । नेतन्याहूले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः शुुरू गर्न आफ्नो देश तयार रहेको बताए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धविराम अस्थायी भएको र गाजामा पुनः आक्रमण गर्न अमेरिकी निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थन रहेको नेतन्याहूको दाबी छ । यसैबीच, इजरायलले गाजामा हमास र इस्लामिक जिहाद क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।

अबको केही सातामा १८ सय ९० प्यालेस्टिनी कैदीहरूको सट्टामा ३३ बन्धकहरूलाई रिहा गर्ने तयारी सहमति छ । सम्झौता अनुसार इजरायलले पनि गाज ाबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने समाचारमा उल्लेख छ ।

अमेरिकामा टिकटक सेवा बन्द

वासिङ्टन । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ ।

केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो ।

प्रयोगकर्ताले अमेरिकामा टिकटक खोल्दा उनीहरूको टिकटक पेजमा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने एउटा सन्देश देखिन्छ । यो सन्देश टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द भएको घोषणा गरेपछि देखिन थालेको हो ।

धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताएका छन् ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो । टिकटकको मूल कम्पनी बाइटडान्सले अमेरिकी फर्म वा कम्पनीलाई टिकटकको स्वामित्व बेचेको खण्डमा मात्र टिकटक प्रतिबन्धबाट बच्न सक्ने फैसलामा उल्लेख छ ।

त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय मन्त्रालयले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएकाले सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ ।

“सौभाग्यवश, अमेरिकी राष्ट्रपति निर्वाचित हुनुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधान खोज्न हामीसँग मिलेर काम गर्ने सङ्केत गर्नुभएको छ,” टिकटकले भनेको छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको प्रतिबन्धबाट छुट दिन सक्ने आश्वासन दिएको टिकटकले जनाएको छ । रासस

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्याे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ ।

“चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ३१ प्रतिशत अर्थात् रू १३ खर्ब एक अर्ब ४१ करोड ७३ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत हो ।

त्यस्तै, कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ६८ अर्थात् रू १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको प्रतिशत २१ दशमलव ६४ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा कूल रू पाँच खर्ब ४७ खर्ब ऋण उठाउने लक्ष्य राखेकामा गत पुस मसान्तसम्ममा रू दुई खर्ब ४० अर्ब आठ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत हो ।

चालु आर्थिक वर्षका लागि रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा रू एक खर्ब ८१ अर्ब पाँच करोड अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत ऋण उठाइएको छ । त्यस्तै रू दुई खर्ब १७ अर्ब आन्तरिक ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा पुस मसान्तसम्ममा २७ दशमलव २० प्रतिशत अर्थात् रू ५९ अर्ब तीन करोड प्राप्ति भएको छ ।

सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको छ । गत पुस मसान्तसम्ममा साँवा ब्याज तिर्न रू एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४५ दशमलव २८ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा पुस मसान्तसम्ममा कूल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

 

पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ

झापा,६ माघ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीमाथि शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको    हो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको बा.१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको बा १ झ ६५३ नम्बरकोगाडीले ओभरटेक गर्न खोजेपछि विवाद भएको थियो । थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए ।

आक्रमणबाट थापा घाइते हुनुहभएको छ। उनको आँखामा चोट लागेको छ । उहाँको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

नेपाली कांग्रेस झापाले घटनाको निन्दा र भत्सर्ना गरेको छ । नेपाली कांग्रेस झापा सचिव नवीन विमलीले सांघातिक आक्रमण गर्ने कटुवाल र श्रेष्ठलाई कानुनी कारबाहीको माग गरेका छन् ।

पक्राउ परेका दुई जनालाई इप्रका बिर्तामोडमा राखिएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयर दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा,युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७५ पैसा र बिक्रीदर ८६ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९६ पैसा र बिक्रीदर ९६ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८८ पैसा र बिक्रीदर आठ रुपियाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।

 

जव जहाज धनगढी बिमानस्थलमा अवतरण नहुदै काठमाण्डौं मोडियो…

काठमाण्डौं, ५ पुस ।
बिमान परिचारिकाले जहाज धनगढी बिमानस्थलमा अवतरण गरिरहेको सूचना दिएको केही मिनेटपछि श्री एयरको जहाज धावनमार्गमा अवतरण गर्ने तयारीमा थियो । धावनमार्ग प्रष्टसंग देखिदै थियो । जहाज र धावनमार्गका बीचमा केही ईञ्चको मात्र दूरी थियो । तर धावनमार्गमा अवतरण नहुदै जहाज आकाशतर्फ हुत्तियो । तव बिमानभित्र रहेका यात्रुहरु आत्तिए । एकछिनमै जहाज आकाशमा पुग्यो । र, बिमान परिचारिकाले खराव मौसमका कारण बिमान काठमाण्डौं तर्फ लागेको सूचना प्रवाह गरिन् ।

बिमानस्थलबाट पश्चिमतर्फ हानिएको जहाज मोडिएर काठमाण्डौं तर्फ लाग्यो । र, झण्डै ५५ मिनेटपछि जहाज काठमाण्डौं बिमानस्थलमा सकुशल अवतरण भयो । त्यतिबेला रातको १०ः३३ बजेको थियो । गन्तव्यमा ओर्लिन नपाएर निराश भएका यात्रुहरुले सकुशल काठमाण्डौंमा ओर्लिन पाएकोमा शान्तिको सास फेरे । यो घट्ना हो, शनिवार रातिको ।

काठमाण्डौंबाट साँझ ५ः३० बजे उड्नु पर्ने श्री एयरको जहाज राति ८ः४२ मिनेटमा उड्यो । तीन घण्टा अवेर गरेर जहाज उडेपनि यात्रुहरु गन्तव्यमा पुग्ने आशाले उत्साही थिए । जहाजमा एक जोडी दुलाहा दुलही थिए । पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी पत्नी गिता सोडारी सहित सोही जहाजमा धनगढीका लागि यात्रा गरिरहेका थिए ।

बाक्लो हुस्सुका कारण जहाज जहाँनिरबाट अवतरण हुनुपथ्र्यो, त्यहाँनिर अवतरण हुन सकेन । त्यसपछि जहाज केहीबेर धावनमार्गमा झिनो दूरी बनाउदै अघि बढ्यो । र, त्यसपछि भने धावनमार्गमा पांग्रा नटेकाई जहाज आकाश तर्फ लाग्यो ।
जहाज ९ः३७ मिनेटमा अवतरणका क्रममा धावनमार्ग छुदै थियो । केहीबेर धावनमार्गमाथि उडेको जहाजले पलभरमै ओभर सुट ग¥यो । र, त्यसपछि हानियो काठमाण्डौं तर्फ । राति १०ः३३ मा जहाज काठमाण्डौं बिमानस्थलमा अवतरण भयो ।

रातिको समयमा सरसामान बोकेर कहाँ जाने ? के गर्ने ? यात्रुहरु अन्यौलमा थिए । जहाजमा यात्रा गरिरहेका ज्येष्ठ नागरिक र बालबालिकासंगै अन्य यात्रुहरुको रातिको त्यो समय ट्याक्सी र सवारी साधन नमिल्दा बिचल्ली भएको थियो । उनीहरु एयरलाईन्स फिर्ता दिएका झोला र अन्य लगेजहरु गन्तव्यसम्म कसरी पुर्याउने भन्ने सकसमा थिए ।

 

 

गाजामा युद्धविरामपछि पनि हिंसा: १२२ को मृत्यु

एजेन्सी । युद्धविराम घोषणा भएपछि गाजामा इजरायलले गरेको हमलामा परी १२२ जना मारिएका छन् । १५ जनवरी २०२५ मा दुई इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा भएको थियो ।

हमासका प्रवक्ता महमूद बसलका अनुसार मारिनेहरूमा ३३ बालबालिका पनि रहेका छन् । यसबाहेक, बीबीसीका अनुसार यस अवधिमा २७० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएपछि पनि कारबाहीलाई जारी राखेको हो । सेनाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सेनाले विगत २४ घण्टामा गाजाका करिब ५० वटा लक्ष्यमा आक्रमण गरेको छ ।’

हमासले युद्धविराम लागु हुनु अगाडिसमेत इजरायली आक्रमण जारी रहेको बताएको छ। युनिसेफकी एक अधिकारीले बीबीसीलाई बताए अनुसार गाजाको आकाशमा उडिरहेका ड्रोनहरूको आवाजले उनको आँखा खुल्यो।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले शनिबार बिहान सार्वजनिक गरेको रिपोर्टअनुसार, दक्षिणी गाजाको अल(करारामा शुक्रबार राति अबेर भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।

यसैबीच, एएफपीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ ।

आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ ।

योसँगै सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको बदलामा उक्त क्षेत्रमा रहेका बन्धकहरूलाई रिहा गर्ने बाटो खुल्नेछ ।

नेतन्याहूको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषद्मा भएको मतदानपछि भने, ‘सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ ।’

इजरायलको न्याय मन्त्रालयले पहिलो चरणको सम्झौताअनुसार ७३७ जना कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीसँग मिलेर सम्झौता गर्ने श्रेय लिएका डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्वसन्ध्यामा यो युद्धविराम लागू हुन लागेको हो ।

त्यस्तै, इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागु हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।

मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार आइतबार अपराह्न ४ बजे स्थानीय समयअनुसार १४ स्०० बजे रिहा नगर्ने जनाएको छ ।

यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो।

 

टिकटकले अमेरिकामा आइतवारबाट आफ्नो सेवा ‘नचल्ने बनाउन सक्ने’

वाशिङ्टन : टिकटकले उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतवारबाट अमेरिकामा आफ्नो सेवा “नचल्ने बनाउन” बाध्य हुने बताएको छ।

शुक्रवार ढिलोगरी जारी गरेको एक विज्ञप्तिमा टिकटकले व्हाइटहाउस र अमेरिकी न्याय मन्त्रालयले “टिकटक उपलब्ध गराउनका लागि एकीकृत गरिएका सेवा प्रदायकहरूलाई आवश्यक ढङ्गले स्पष्ट पार्न र आश्वासन दिन असफल भएको” आरोप लगाएको छ।

उसले सरकारले टिकटकमाथि तत्काल लाग्न सक्ने प्रतिबन्ध उल्लङ्घन गर्नेलाई कारबाही हुँदैन भन्ने आश्वासन नदिए ‘ज्यानुअरी १९ बाट आफूले सेवा अवरुद्ध गर्न बाध्य हुने’ उल्लेख गरेको छ।

शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो।

यो प्रतिबन्धले पहिले नै आफ्नो फोनमा टिकटक एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूलाई असर गर्दैन भन्ने ठानिएको थियो।

यद्यपि प्रतिबन्ध लागु भएपछि अपडेटहरू उपलब्ध नहुने र अन्ततः एप प्रयोगयोग्य नहुने बन्छ।

शुक्रवारको टिकटकको विज्ञप्तिले तुरुन्तै हालका सबै प्रयोगकर्ताहरूको टिकटकको पहुँच समाप्त हुने र कसैले डाउनलोड पनि गर्न नमिल्ने सङ्केत गरेको छ।

बिदाइ सन्देश दिँदै टिकटकका चर्चित व्यक्तिहरू

टिकटक

तस्बिर स्रोत,Reuters

टिकटकमा चर्चित भएका व्यक्तिहरूले आसन्न प्रतिबन्धअघि आफ्ना फलोअर्सहरूलाई बिदाइ सन्देश दिँदै भिडिओहरू पोस्ट गरिरहेका छन्।

एकजना टिकटक कन्टेन्ट क्रिएटर निकोल ब्लूमगार्डनले बीबीसीसँग टिकटकमा नहुँदा महत्त्वपूर्ण रूपमा आम्दानी गुम्ने बताइन्।

अर्की कन्टेन्ट क्रिएटर एरिका थम्पसन पनि टिकटकमा उपलब्ध हुने शैक्षिक सामग्री गुम्दा त्यसले समुदायमा “ठूलो नोक्सानी पुर्‍याउने” बताइन्।

केही प्रयोगकर्ताहरूले उनीहरूले उत्पादन गर्ने सामग्रीहरू हेर्नको अर्को एपमा उपलब्ध हुने जानकारी पनि दिइरहेका छन्।

त्यसमा अर्को चिनियाँ भिडिओ शेअरिङ एप रेड नोट पनि रहेको छ। त्यो अमेरिकामा अहिलेसम्म सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको एप हो।

निर्णायक भूमिकामा ट्रम्प

ट्रम्प

तस्बिर स्रोत,Reuters

राष्ट्रपति जो बाइडनको कार्यकाल सोमवार सकिँदैछ र त्यसै दिन डोनल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथग्रहण गर्ने छन्।

ह्वाइट हाउसले यसअघि नै कानुन लागु गर्ने विषय आगामी राष्ट्रपतिमा निर्भर गर्ने बताइसकेको छ।

ट्रम्पले सुरुमा यो कदमलाई समर्थन गरेका थिए तर पछि उनले आफू प्रतिबन्धविरुद्धमा रहेको सङ्केत गरेका छन्।

“म टिकटकबारे धेरै पछि गएर मात्र निर्णय लिन्न तर परिस्थितिको मूल्याङ्कन गर्ने मसँग पर्याप्त समय चाहिँ हुनुपर्छ,” उनले शुक्रवार भने।

उनले आफूले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग कुराकानी गरेको र टिकटकलगायतका विषयमा पनि छलफल गरेको खुलासा समेत गरेका छन्।

गत डिसेम्बरमा ट्रम्पले एपको लागि आफूसँग “न्यानो स्थान” रहेको बताएका थिए।

सन् २०२४ को चुनावमा युवा मतदाताहरूलाई प्रभावित गर्न टिकटकले मद्दत गरेको भन्दै उनले त्यस्तो बताएका थिए।

यद्यपि ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा कार्यकारी आदेशमार्फत् समान खालको प्रतिबन्ध लगाउन खोजेका थिए।

अमेरिकी आरोप के हो?

टिकटक प्रतिबन्ध

तस्बिर स्रोत,Reuters

बाइटड्यान्सले टिकटक नबेच्ने वाचा गरेको गर्दै अमेरिकी निर्णय फिर्ता नभएसम्मका लागि आइतवारदेखि अमेरिकामा एप बन्द गर्ने जनाएको छ।

अमेरिकी संसद्‌मा डेमोक्र्याटिक र रिपब्लिकन दुवै दलका सांसदहरूले गत वर्ष टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए।

उनीहरूले टिकटकको चिनियाँ सरकारसँग सम्बन्ध भएको र उसले बेइजिङलाई प्रयोगकर्ताका गोप्य जानकारीहरू उपलब्ध गराउने आशङ्का गरेका छन्।

टिकटकले चाहिँ बेइजिङलाई प्रयोगकर्ताको जानकारी शेअर नगर्ने दोहोर्‍याउँदै आएको छ।

उक्त सम्भावित प्रतिबन्ध चिनियाँ जासुसीबारे अमेरिकामा बढ्दो चिन्ताबीच अघि बढाइएको थियो।

साइबर सुरक्षासम्बन्धी कम्पनीहरूले उक्त एपले प्रयोगकर्ताको विवरण सङ्कलन गर्न सक्ने औल्याएका छन्।

बेइजिङले भने चिनियाँ कम्पनीलाई आफ्नो तर्फबाट सूचना सङ्कलन गर्न दबाब दिएको भनी लगाइएको आरोपलाई अस्वीकार गर्दै आएको छ र उसले प्रतिबन्धको आलोचना गरेको छ।

टिकटकले उक्त अमेरिकी कानुनले अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने र प्रयोगकर्ता, विज्ञापनदाता, सामग्री उत्पादक र कर्मचारीलाई असर पार्ने तर्क गर्दै आएको छ। टिकटकमा ७,००० अमेरिकी कर्मचारीहरू छन्।

अहिलेसम्म केके भयो?

टिकटक

तस्बिर स्रोत,EPA

एप्रिल २४, २०२४: राष्ट्रपति बाइडनले दुवै राजनीतिक दलद्वारा समर्थन गरिएको टिकटकसम्बन्धी विधेयकमा हस्ताक्षर गरे। त्यसमा टिकटकको माऊ कम्पनी बाइटडड्यान्सले ६ महिनाभित्र अमेरिकामा आफ्नो शेअर बेच्नुपर्ने र त्यसो नगरे प्रतिबन्ध सामना गर्नुपर्ने व्यवस्था छ।

मे ७, २०२४: टिकटकले त्यसलाई “वाक् स्वतन्त्रताको अधिकारमाथिको हस्तक्षेप” भन्दै मुद्दा दायर गर्‍यो।

अगस्त २, २०२४: अमेरिकी सरकारले टिकटकले गैरकानुनी रूपमा बालबालिकाको डेटा सङ्कलन गरेको र आमाबाबुले आफ्ना बच्चाहरूको खाता मेटाउन खोज्दा त्यसलाई सम्बोधन गर्न असफल भएको आरोप लगाउँदै टिकटकमाथि मुद्दा दर्ता गरायो।

डिसेम्बर ६, २०२४: २०२५ को सुरुमा अमेरिकामा रहेको आफ्नो हिस्सा बिक्री गर्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने कानुनविरुद्ध टिकटकले गरेको मागदाबीलाई सङ्घीय पुनरावेदन अदालतले अस्वीकार गरिदियो।

डिसेम्बर २७, २०२४: राष्ट्रपतिका रूपमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको सर्वोच्च अदालतलाई आफूले “राजनीतिक समाधान” खोजिरहेको भन्दै आसन्न प्रतिबन्धलाई पछि सार्न आग्रह गरे।

ज्यानुअरी १०, २०२५: सर्वोच्च अदालतका ९ जना न्यायाधीशहरूले टिकटक र त्यसमा सामग्री उत्पादन गर्नेहरूको प्रतिनिधित्व गर्ने वकिलहरूबाट उनीहरूको बहस सुने।

ज्यानुअरी १७, २०२५: अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै टिकटकलाई केही दिनभित्र प्रतिबन्ध लगाउन सक्ने कानुनलाई अघि बढाउन आदेश दियो।

ज्यानुअरी १९, २०२५: टिकटकले आफ्नो अमेरिकाको हिस्सा बेच्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने अन्तिम मिति। टिकटकले त्यस दिनदेखि अमेरिकामा आफ्नो सेवा बन्द हुने चेतावनी दिएको छ। –बीबीसी नेपालीबाट

परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।

मन्त्री राणा उपचारका लागि शनिबार दिउँसो साँढे १ बजे थाइ एअरवेजबाट बैंकक प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बैंककमा उनको राजनीतिक भेटघाट पनि हुनेछ ।

इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या

एजेन्सी । तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ । ‘सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी तीमध्ये दुई जनाको मृत्यु भएको छ,’ न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटना लगत्तै आत्महत्या गरेको जनाइएको छ ।

सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको मृत्य भएको र अन्य एक न्यायाधीश घाइते भएको जनाएको छ ।

मिजानले मारिएका दुई न्यायाधीश अली रजिनी र मोहम्मद मोगिसेह रहेको जनाएको छ भने उनीहरूले ‘राष्ट्रिय सुरक्षा, जासूसी र आतङ्कवादविरुद्धको अपराध सम्बन्धी’ मुद्दाहरू हेर्ने गरेको पनि बताएको छ ।

उनीहरूको हत्याको कारण तत्काल स्पष्ट नभए पनि मिजानले आक्रमणकारीको पहिचानबारे थप जानकारी नदिई सर्वोच्च अदालतमा कुनै पनि मुद्दामा आक्रमणकारीको संलग्नता नरहेको उल्लेख गरेको छ । मिजानका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको अधिकारीले बताएका छन् ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार ६८ वर्षीय वरिष्ठ न्यायाधीश मोगिसेहलाई सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले ‘अनगिन्ती अनुचित मार्गहरूको निरीक्षण गरेको भनी प्रतिबन्ध लगाएको थियो । उक्त समयमा आरोपहरूमा प्रमाणहरूको अभाव रहेको भन्दै इरानले आरोपको खण्डन गरेको थियो ।

मिजानका अनुसार ७१ वर्षीय रजिनीले इरानको न्यायपालिकामा धेरै महत्वपूर्ण पदहरू सम्हालिसकेका थिए र यसअघि सन् १९९८ मा आक्रमणकारीहरूले उनको गाडीमा म्याग्नेटिक बम राखी हत्या प्रयास गरेका थिए ।

न्यायाधीशलाई लक्षित गरी हुने आक्रमण विरलै हुने भए पनि इरानले पछिल्ला वर्षहरूमा उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी थुप्रै गोलीकाण्डहरू देखेको छ।

गत अक्टोबरमा दक्षिणी शहर काजेरुनमा शुक्रबारको नमाजको नेतृत्व गरिरहेका एक शिया मुस्लिम उपदेशकको गोली हानी हत्या गरिएको थियो ।एजेन्सी ।

अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ, ५ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ ।

युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर ,हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, अष्ट्रेलियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर  छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८  पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६  पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ८६ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसारे थाई भाट एकको खरिददर चार रुपैयाँ ०१ पैसा र बिक्रीदर चार रुपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५  पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १० पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५० रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७५ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

‘मेरा गाउँको खड्क्या मन्त्री’ : आञ्चलिकता, यौनमनोबिज्ञान र समाजको ऐना

डा. धनकृष्ण उपाध्याय
पृष्ठभूमि
‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यास गगनसिंह थापाको आख्यानात्मक कृति हो । आख्यानकार गगनसिंह थापाको जन्म तत्कालीन दर्ना गाविस, हाल बान्नीगढी जयगढ गाउँपालिकाको पाटेखेत भन्ने स्थानमा वि.सं. २००५ भाद्र ५ गते भएको हो । तीन वर्षजति प्रहरी सेवामा, केही वर्ष शिक्षण पेसामा र पछि राजनीति तथा समाजसेवामा संलग्न थापाले साहित्यका क्षेत्रमा पनि शसक्त रूपमा कलम चलाएका छन् ।

२०३५ सालमा सोह्र सौगात सहलेखनको कथासङ्ग्रह प्रकाशन गरी साहित्यिक यात्रा सुरु गरेका थापाका कर्णालीको छेउछाउ, पुर्खाको चिठी, मेरो मधुशाला, उज्ज्वली, महाप्रलय, मरुभूमिकी महारानी, अस्ताचलको ढोकाबाट र प्रस्तुत मेरा गाउँको खड्क्या मन्त्री गरी नौओटा कृतिहरू प्रकाशनमा आएका छन् । उनका बाँकी कृतिहरू पनि छिटै प्रकाशनमा आउने कुरा साहित्यमा पनि संलग्न उनका व्यावसायिक छोरा हिक्मत थापाले विभिन्न अवसरमा अभिव्यक्त गर्दै आएका छन् ।

आख्यान विधामा कलम चलाउने थापाले मूलतः आञ्चलिकतामा आधारित भएर विषयवस्तु सिर्जना गरेका छन् । खास गरेर कालीकर्नालीका सेरोफेरोका जनजीवन, समाज, संस्कृति, सभ्यता, इतिहास, दर्शन जस्ता विषयवस्तुमा उनको लेखनी अघि बढेको देखिन्छ । नेपाली साहित्य र समाजको सेवा गर्दागर्दै ७२ वर्षको उमेरमा २०७७ कार्तिक १९ गते काठमाडौँमा उनको देहावसान भयो ।

प्रस्तुत ‘मेरा गाउँको खड्क्या मन्त्री’ उपन्यास गगन फाउन्डेसनद्वारा २०८१ पौषमा प्रकाशनमा ल्याएको हो । प्रस्तुत कृतिको बाह्य संरचना हेर्दा कथात्मक पृष्ठ १९५ रहेका छन् । मध्यम आकारमा रहेको यस उपन्यासको मुखपृष्ठमा सजिल्ला विविध रङ्गको पृष्ठभूमिमा खड्क्या मन्त्रीको झलक दिने चित्र समावेश गरिएको छ । पश्चपृष्ठमा उपन्यासकारको फोटोसहित उनको सङ्क्षिप्त परिचय रहेको छ । उपन्यासको सर्वाधिकार गगन फाउन्डेसनमा रहेको छ । उपन्यासको कागज उच्चमध्यम स्तरको रहेको छ । उपन्यासको पूर्वभागमा पुस्तक र लेखकको नाम, प्रकाशक, संस्करणका साथै लेखकका छोरा तथा गगन फाउन्डेसनका सस्थापक हिक्मत थापाको प्राक्कथन रहेको छ । यस पुस्तकको मूल्य रु. ३०० कायम गरिएको छ । यसलाई चौध अध्यायमा विभाजन गरिएको छ ।

कथावस्तुको सन्दर्भ
प्रस्तुत उपन्यास चौध अध्यायमा विभाजित रहेको छ । यस उपन्यासको मूल कथावस्तु खड्क्या मन्त्रीको सेरोफेरोमा केन्द्रित छ भने त्यही सेरोफेरोका अन्य उच्चवर्गीय दुइटा परिवारको सहायक कथावस्तु पनि समेटिएको छ । खड्क्या मन्त्रीको परिचय खडगबहादुर सिंह मन्त्रीको नामसँग जोडिएको छ ।

तत्कालीन राजा महेन्द्रले मन्त्री खडगबहादुर सिंहलाई वनजङ्गल फँडानी गरेर टीकापुरमा बस्ती बसाउने जिम्मा दिएका थिए । उनले टीकापुर टाउनको परिकल्पना गर्नुका साथै टीकापुर विकास समिति गठन गरी विभिन्न ठाउँबाट मानिसहरू बोलाएर बस्ती बसाल्ने काम गरेका थिए । यही कारणले गर्दा उनलाई टीकापुरको परिकल्पनाकार पनि मानिन्छ । तिनै खडगबहादुर सिंहको नामबाट हेयका रूपमा निम्नवर्गीय दलित, शारीरिक अपाङ्गता भएको पात्र खड्के दमाईलाई खड्क्या मन्त्रीका नाउँले सम्बोधन गरी उक्त पात्रको नामका साथै उपन्यासको पनि नामकरण गरिएको छ ।

कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । कथावस्तु यथार्थ र कल्पनाको मिश्रणमा अघि बढेको छ । उपन्यासमा मुख्य र गौण कथास्तुको संयोजन रहेको छ । चौध अध्यायमा विभाजित यस उपन्यासको कथावस्तु मूलतः रेखीय संरचनामा अघि बढेको छ । खड्क्या मन्त्री कुनै उच्चवर्गीय व्यक्ति नभएर अहिले पनि पत्नी धौँरीका साथमा टीकापुर तथा आसपासका क्षेत्रमा घर घरमा माग्दै हिँड्ने व्यक्ति हो । दुवै जना राम्ररी बोल्न नसक्ने, होचापुड्का आकारका शारीरिक तथा मानसिक रूपमा अशक्तता भएका पात्र हुन् ।

उपन्यासकारले कथाको अन्त्यमा उसको मजबुत स्थितिको परिकल्पना गरे पनि वास्तवमा अहिले पनि उसको अवस्थामा कुनै परिवर्तन आएको छैन । यसरी जीवन्त, निम्नवर्गीय, दलितशोषित पात्रलाई उपन्यासको प्रमुख पात्र बनाई अन्य उच्चवर्गीय पात्रलाई असत् पात्रका रूपमा समेत चित्रण गरेर लेखकले परम्पराभन्दा भिन्न दृष्टिकोण अघि सारेका छन् । यस उपन्यासमा कथावस्तु, भाषाशैली, भावविचार, दर्शन, संस्कृति परम्परा आदि विषयको उच्च संयोजन गरिएको छ । यो कृति लेखकका प्रकाशित अन्य रचनाभन्दा उत्कृष्ट मात्र नभएर राष्ट्रकै उत्कृष्ट कृतिको प्रतिस्पर्धामा रहने निश्चित छ ।

कथावस्तु
मेरा गाउँको खड्क्या मन्त्री उपन्यासको प्रधान कथावस्तुमा होचा, पुड्का र प्रस्ट बोल्न नसक्ने हास्य पात्रका रूपमा परिचित खड्के दमाईँ र उसकी श्रीमती धौँरी पहाडी जिल्ला अछामबाट कैलाली जिल्लाको सुदूर पूर्वमा रहेको खैरीफाँटाको रानीजमरा कुलाको ढिकमा बसोबास गर्न पुगेका छन् ।

छुट सुकुम्बासीको नाम दर्ता गर्नका लागि सरकारी टोली आएको समयमा खड्क्या आफैँले पनि बालीको झन्झटमा नलाग्ने कुरा गर्नु र तत्कालीन पञ्चले पनि खड्क्याले पाउने जग्गा आफ्नो नाममा गरे फाइदा हुने मनसाय देखाउँदा जग्गा पाउनबाट वञ्चित भएको देखिन्छ । साथै टीकापुर विकास समितिमा जग्गा नपाएका असहाय व्यक्तिलाई जग्गा वितरण हुने समयमा खड्केलाई सम्झाईबुझाई मन्त्रीसँग जग्गाको बिन्ती बिसाउन पठाउँदा मास्टरले आफूलाई खड्कबहादुर नेपाली भनेर चिनाउनु भनेका थिए तर ऊ मन्त्रीको क्वाटर टीकापुरमा गएर जग्गाका लागि बिन्ती गर्दा मन्त्रीको निजी सचिवले उसको नाम सोधेपछि सिकाइएको थर नेपाली भन्न बिर्सेर खड्गबहादुर मात्र भनेछ । पूरा नाम सोध्दा अकमकिएपछि निजी सचिवले “खड्गबहादुर मन्त्री हो” भन्दा नबुझेरै टाउको हल्लाएछ । खड्गबहादुर मन्त्रीको बदनाम गर्न इतर पक्षको मान्छे हुने अनुमान गरी प्रहरीलाई पक्रन लगाउँदा प्रहरीले सबै यथार्थ बुझेपछि अबदेखि ‘खड्क्या मन्त्री भइस्’ भनेर उसलाई छाडिदिएछन् । यसरी खड्के दमाई खड्क्या मन्त्री भएको रहस्यमय सन्दर्भ छ ।

तत्कालीन शासकलाई आसेपासेले उल्टासुल्टा कुरा लाएर जनतालाई दुःख दिएका पात्रमध्ये खड्क्या मन्त्री पनि एक हो । सोझी र छलकपट नभएकी धौँरीले बच्चा जन्मिने डरले आफू लोग्नेबाट टाढा हुँदा खड्क्याबाट कुटिएको गुनासो मास्टर र नूतनलाई सुनाउँदा धेरै सन्तान नजन्माउन खड्क्या वा धौँरीमध्ये एउटाले बन्ध्याकरण गर्ने सल्लाह मास्टरले दिएका थिए । यसै सिलसिलामा कटाँसे बजारमा मास्टर (शिक्षक) हरूले दिनमै लालटिन बालेर गरेको विरोध जुलुसमा प्रेम दमाईँ र खड्क्या मन्त्री पनि पक्रिएका र पछि ठानेरदारले बुझ्दा दुवैजना टेलर मास्टर भएको थाहा पाएर छाडेका थिए । यही क्रममा कर्णालीका एक जना उदार मन्त्री घुम्दै कटाँसे आउँदा एक जना जँडयाहाले खड्गबहादुर मन्त्रीका घरमा बास पाइन्छ भनेर खड्क्या मन्त्रीकहाँ पठाइदिएछ । ती मन्त्री खड्क्या मन्त्रीको यथार्थ कुरा बुझी मास्टरको घरमा बास बसेछन् । खड्क्या मन्त्रीले भोगेको पीडा र देशको राजनीतिक विसङ्गतिप्रति मास्टर र मन्त्रीबिच वार्तालाप भएको थियो ।

गरिब खड्क्या बिरामी पर्दा कतैबाट सहयोग नपाएकाले धौँरीले प्राकृतिक जडीबुटीबाट सन्चो बनाएकी थिई । गाउँमा टोली आउँदा दुवैजनाले धेरै झन्झटका साथ नागरिकता पाएर देशको नागरिक बनेका थिए । खड्क्या मन्त्रीले पाएको भत्ता पञ्चायतकै सदस्यले लिएर खाएको थाहा पाएर माग्न जाँदा रक्सी खाइरहेको पञ्चायतको सदस्यले घाइते बनाएको थियो । खड्केलाई पञ्चायतका सदस्यले कुटेको समाचार बाहिरिएपछि सिडिओ आफैँ आई छानबिन गर्दा कुट्ने पञ्च मुम्बई भागेर गइसकेको   थियो ।

केही वर्षपछि खड्क्याको छोरो रामे ठुलो भएपछि भारतको अयोध्यामा चौकीदारी काम गर्न गएछ । सोही क्रममा धनका कारण त्यहाँका सेठले मार्नका लागिएकी कुवामा फालिएकी युवती सीतालाई बँचाएको थियो । कुवाबाट उद्धार गरेर युवती सीताको सल्लाहबमोजिम त्यही लुकाएर राख्छ । पछि दुवैको सल्लाहअनुसार उसलाई आप्mनी श्रीमती तुल्यााएर सम्पत्तिसहित घरमा ल्याई जग्गा किनेर पुनः काम गर्न भारततिर लागेको थियो ।

खड्क्याकी बुहारी सीताले सासुससुराको सेवा गर्दै देवर नन्दलाई स्कुल पठाउनुका साथै आफैँ पनि सोही स्कुलकी शिक्षिका बनेर दिन बिताएकी थिई । अन्तमा धौँरी र खड्क्या मन्त्रीको नातिनातिना जन्मेर राम्रो घरबारका साथ सुखमय जीवन बिताएको देखाई कथावस्तु टुङ्ग्याइएको छ । बिचबाट सुरु भई मूल कथा सँगसँगै अघि बढेको सहायक कथावस्तुमा उच्चवर्गीय व्यक्तिको सकारात्मक र नकारात्मक दुवै पक्षको चर्चा रहेको छ ।

खड्क्या मन्त्रीकै गाउँका जिमीदार तथा प्रधानपञ्चका छोरा प्रेमप्रकाश शर्मा नोकरचारसहित काठमाडौँमा पढ्न गएको समयमा उसको डेरानजिकै घरमा रहेकी सुप्रभासँगको प्रेम बसेको थियो । सो कुरा सुप्रभाले आफूसित एकदम मिल्ने उमेरले केही जेठी कलेजकी साथी प्रेरणालाई सुनाएकी थिई । प्रेरणाबाट नै ऊ कैलाली पथरैयाको जिमीदार तथा प्रधानपञ्चको छोरा भएको थाहा पाएकी थिई । प्रेरणाले आफू नरेशको प्रेममा परेको तर बिछोडिएको कुरा सुनाएकी थिई । वास्तवमा नरेश सुप्रभाको आप्mनै दाइ सुशान्त भएको कुरा पछि मात्र थाहा भएको थियो ।

लामो समयदेखि बेखबर नरेशले “पासपोर्ट बनाइराख्नू, म तिमीलाई लिन आउँदै छु” भनेर तार पठाउँदा प्रेरणा दङ्ग परेकी थिई । सुशान्त यानि नरेश घर आएपछि प्रेरणासित धुमधामसित बिहे भएको थियो । उता प्रेम र सुप्रभाको प्रेमका बारेमा सुप्रभाकी आमाले प्रेमले दिएको चिठीमार्फत थाहा पाउँदा निराश भई लोग्नेलाई सो कुरा सुनाएकी थिइन् । उनले प्रेमले पठाएको चिठी हेर्दा सरकारी सचिव रहेका सुप्रभाका पिता सुमन शमशेरले भने प्रेम असल मान्छे भएको अनुमान गरेका थिए ।

तत्कालीन राजपरिवारका मान्छेले राम्री देखेपछि केटीलाई जबरजस्ती उठाएर बलात्कारपछि हत्याको प्रसङ्गले आफू विदेश जाँदा छोरीमाथि त्यस्तै हुन सक्ने आशङ्काले चिन्तित भएका थिए । त्यसमाथि सुप्रभा अधिराजकुमार मिरेन्द्रको नजरमा परी “तिम्री छोरी मसँग पिकनिकमा पठाऊ” भन्ने हुकुम दिएपछि नमिता सुमिता काण्डको याद गरी सचिवले पदबाट राजीनामा दिई छोरी सामन्तीकी सिकार हुनुभन्दा जात नमिले पनि बचाउन उसको प्रेमी प्रेमलाई गोप्य रूपमा टीकाटालो गरेर कैलालीको गाउँतिर लगेर लुकाउन लगाएका थिए ।

प्रेमका बाबुआमा रुढिवादी विचारका भएकाले बुहारी सुप्रभामाथि ज्यादै अत्याचार गर्दथे । बाबुआमाको अत्याचारको विरोध गर्दा पनि ऊ केही गर्न सक्तैनथ्यो । पत्नीमाथि भएको अत्यार सहन नसकेर प्रेम लखनउ घुम्न जाँदा त्यहीँ बेपता भएको थियो । लोग्ने हराएपछि सुप्रभाले झन् कष्ट भोग्न बाध्य भएकी थिई । बुहारीमाथि गरिएको दुव्र्यवहारका कारण छोरा हराएको पीडा सहन नसकी पश्चात्तापमा परेर जिमिदारको मृत्यु भएछ । रामे, सीता र सुप्रभा प्रेमलाई खोज्न अयोध्यातिर गएर जोगीबाट प्रेम जीवित रहेको सुइँको पाएछन् । जोगीले “तत्काल भेट नहुने तर पछि अवश्य भेट हुनेछ” भनेर आशीर्वाद दिएपछि नेपालतिर फर्केछन् ।

उता प्रेरणा र नरेश काठमाडौँबाट कैलालीको माइती गाउँमा भेट्न आउँदा त्यहाँ नरेशले बहिनी सुप्रभालाई भेटेर उसको सबै कुरा बुझेछन् । भाउजू प्रेरणाले पनि नन्दको अवस्था दयनीय देखेर उसलाई आफूसँगै काठमाडौँ लगेछन् । केही समयपछि सुप्रभा पशुपतिनाथको दर्शन गर्न जाँदा त्यही अकस्मात् प्रेमसँग भेट भएछ र दुवै खुसीसाथ बस्न थालेछन् । नरेश र प्रेरणा केही समय काठमाडौँमै बसेर पछि विदेशतिर लागेछन् । यसरी सबैको मिलनका साथ संयोगान्तमा कथावस्तु टुङ्गिएको छ ।

उपन्यासका पात्रहरू
प्रस्तुत उपन्यासमा धेरै पात्रहरूको प्रयोग गरिएको छ । यस कथाका प्रमुख पात्र खड्क्या र धौरी हुन् । अन्य पात्रहरूमा प्रेम, सुप्रभा, नरेश, प्रेरणा, अधिराजकुमार चिरेन्द्र, प्रेमका बाबुआमा, रामे, सीता, सुप्रभाका बाबुआमा, म पात्र यानि मास्टरसाहेब, खडगबहादुर सिंह मन्त्री, मन्त्रीका निजी सचिव, कर्णालीका मन्त्री, नूतन, प्रहरीहरू, पञ्चहरू, काका, खड्क्या मन्त्रीका अरू छोराछोरीहरू, नातिनातिनाहरू, रम्भा आदि रहेका छन् ।

यसमा रहेका पात्रहरूमध्ये खड्क्या र धौँरी प्रमुख पात्रका साथै तत्कालीन एकतन्त्रीय पञ्चायती शासन व्यवस्थाका शासकको वक्रदृष्टिमा परेका पीडित निम्नवर्गीय जनताका प्रतिनिधि हुन् । अधिकांश निम्नवर्गीय शोषित पीडित जनताका प्रतिनिधि पात्र हुन् । प्रेम, सुप्रभा, नरेश र प्रेरणा नयाँ युग र परिवर्तनको कामना गर्ने अटुट प्रेमका प्रतिनिधि र परिवर्तनका वाहकका रूपमा देखिएका छन् । प्रेमका बाबुआमा रुढिग्रस्त परम्पराका तत्कालीन सामन्ती व्यवस्था प्रतिनिधि ठालु प्रवृत्तिका व्यक्ति हुन् । साथै बुहारीमाथि शोषण र अपहेलना गर्ने व्यक्तिका प्रतिनिधि हुन् ।

अधिराजकुमार चिरेन्द्र (धीरेन्द्र ?) यौनपिपासु राक्षसी प्रवृत्तिका भारदारका रूपमा रहेका छन् । रामे विदेशमा आप्mनो जीविका गुजारा गर्ने वर्तमान युवायुवतीको प्रतिनिधित्व गर्ने निम्नवर्गीय पात्र हो । रम्भा आदि ठुलाबडाका घरमा काम गर्ने तत्कालीन कमलरी प्रथाकी प्रतिनिधि पात्र हुन् । सुमन शमशेर तत्कालीन भाइभादारको अप्रत्यक्ष विरोधमा उत्रिएका पात्र हुन् । उनी समयअनुसार आफूलाई परिवर्तनमा ढाल्न सक्ने व्यक्ति हुन् ।

मास्टरसाहेव यानि मपात्र लेखक स्वयं हुन् भने नूतन उनकी पत्नी हुन्, जुन लेखककी पत्नीको वास्तविक नाम हो । उनी नारीवादी पात्रका साथै आदर्श गृहिणीका रूपमा रहेकी छन् । मास्टरसाहेब तत्कालीन सचेत नागरिकको प्रतिनिधित्व गर्ने परिवर्तनकामी दूरदर्शी र अप्रत्यतः तत्कालीन व्यवस्था विरोधी र प्रजातन्त्रको स्थापनार्थ लागिपरेका पात्र हुन् ।

खडगबहादुर सिंह तत्कालीन राज्यसत्ताका प्रतिनिधि पात्र हुन् । उनी स्वविवेकको प्रयोग गर्न नसक्ने आसेपासेको भनाइमा लाग्ने र वास्तविकता नबुझी निर्णय दिने तत्कालीन व्यवस्थाका अगुवामा रूपमा देखिएका छन् । साथै उनी वास्तविकता नबुझी निर्णय लिने अन्धशासक हुन् । मन्त्रीका कर्मचारी अथवा निजी सचिव वास्तविकता नबुझी निर्णय लिने र शासकलाई खुसी पार्ने दहीचिउरे प्रवृत्तिका व्यक्ति हुन् । कर्नालीका मन्त्री शासन व्यवस्थामा सुधारको महसुस गर्ने उदारवादी व्यक्ति हुन् । अन्य गौण पात्रहरूले आ-आफ्नो वर्गको प्रतिनिधित्व गरेका छन् ।
परिवेश
प्रस्तुत उपन्यासमा खास गरेर आञ्चलिक परिवेशको वरिपरि अडेको छ । स्थानगत परिवेशमा भारत र काठमाडौँका विभिन्न स्थानको चर्चा भए पनि मूलतः कैलाली जिल्लाका सुदूरपूर्वमा अवस्थित रानी, जमरा र कुलरिया कुलो, खैरीफाँटा, कटाँसे बजार, टीकापुर, भगरैया, चिसापानी बलचौर जस्ता स्थानमा मुख्य घटना घटेका छन् ।

उपन्यासका बढीभन्दा बढी घटना यिनै स्थानमा घटेका छन् । कालगत परिवेश वि.सं. २०३०/२०४० दशकको आसपास पञ्चायत कालीन रहेको छ । परिस्थितिमा तत्कालीन व्यवस्थामा असहाय र गरिबमाथि हुने जालझेल, एकतन्त्री शासनको शोषणदमन, यौनिक प्रसङ्ग, शासकका आसेपासेबाट हुने कुटपिट हत्या बलात्कार जस्ता अवस्था रहेका छन् । साथै कर्नाली सभ्यताका धर्म, परम्परा, संस्कृति र दर्शनका विविध पक्षको सजीव प्रस्तुतिका साथै कैलालीका थारूहरूको संस्कृति र परम्पराको पनि चर्चा रहेको छ ।

वर्गीय समाज, कमलरी प्रथा, निम्नवर्गीय युवा जीवन धान्नका लागि भारतका विभिन्न ठाउँमा गएर तल्लो स्तरको काममा खट्नुपर्ने अवस्था जस्ता परिस्थिति रहेको छ । यस्तै यस्तै देश, काल र परिस्थितिका आधारमा प्रस्तुत उपन्यासको परिवेशविधान रहेको   छ ।

भाषाशैली
मेरा गाउँको खड्क्या मन्त्री उपन्यासको भाषाशैली जीवन्त रहेको छ । यसको भाषाशैली काव्यात्मक रहेको छ । बिच बिचमा कवितात्मक अंश पनि रहेका छन् । स्तरीय भाषाका साथै अछामी, हिन्दी र थारू भाषाको पनि प्रयोग गरिुएको देखिन्छ ।

काव्यात्मक भाषाको उदाहरण :

त्यस कञ्चन पानीमा परेको छाया प्रतिच्छायाले कुलाको डिल किनारमा हिँड्ने वायुलाईसमेत लट्याउने र आफ्नो आकर्षणको घेरामा अल्झाइदिने गथ्र्यो । बस्तीमा प्रायः अछामबाट झरेका मानिसको बसोबास थियो । भेषभुषा, भाषा एकै भएता पनि जातजाति, फरक परम्परागत र हनसहन र जीवन जिउने शैली । बसाइँसराइसँगै आएको संस्कार संस्कृति (पृ.१)
अछामी भाषाको ठेट प्रयोग :

‘अँ ! कसा कुडा ग¥या भाउगोसी भन्नाछन् त साली फकाउनु पड्डैन, गुन्द्रुक पकाउन पड्डैन । यो त भाउगोसी ! मुलाई देख्नाबेलै हुरुक्क भइहाली ।’
‘हो र धौंरी….?’ भाउजू विश्वस्त हुन खोजिन् ।
‘कति झुटा बोल्न जान्या हो गोसी ? मु बाउन्नेवीरलाई खोज्न जानी हुँ क्या त ? बाउन्ने वीर आफैँ मुकाँ आइकन फकाउन के के ग¥या न । मुइले त भन्या कि छिएँ, हामी उसा उसै मान्ठ कस्तरी दिन काटी खानु । मेरो पछि नलाग् तु । मुइले भन्याको सुने पो, बरु यल्ले क्या भन्यो , थाहा छ गोसी ।’ धौँरीले खड्केतर्फ पुलुक्क हेरेर भनी—
‘गौडाउँदै गौड्या भेट भइगो दुई उस्ताई उस्ताको ।
मन सानु कैले न हुन्या, म ठूला पुस्ताको (पृ.२—३) ।

हिन्दी भाषाको प्रयोग :
‘राम ! ए औरत क्या कही रही है । बताओ । इसका मकसद क्या है ? क्यू राँड के हे रही हैँ ? इसने कब देखा, हमने कब राँडगिरी करी ?’ …. ‘सीता ! तुम आगववुला मत बनो । यहाँ राँड प्रेमसे भी कहते हैँ । जो तुमने सोचा, इस तरिके से नही कहाँ है । आपको प्रेमसे बोला है , नही तो आपने क्या बिगाडा रखा है इनका ?’ ‘अच्छा ! तो ठिक है, क्षमा किजिए माताजी, मैँ नही सम्झी आपकी भाषा’ (पृ. १२६) ।
थारू भाषाको प्रयोग :
‘भाटु मन पराई कि नाइँ सालीके ?’ ….‘कहीँ मन नपराई भाटु कैसन सुग्घर । मनै उच्च मनै, सुन्दर मनै । यसैन भाटु कहाँ मिली ?’ …. ‘भाटु तो तुहार मन पडलके का करना हो ? कल टो भाटु चलजाई काठमाडौँ ।’ ‘नाइँ डिडी ! कल टो हमर सँग भाटुको कटासे बजार लैजाम ।’….‘चलो हमार साथ काठमाडौँ ।’ ‘हाँ चलम काइना जामन अपन भाटु के साथ’ । ‘बैन चलो हमन सब भाटु के साथ’ (पृ.११६) ।

यस प्रकार प्रस्तुत उपन्यासमा पात्रअनुसारको उचित भाषाको प्रयोग गरिएको छ । शिक्षित र उच्चवर्गको स्तरीय भाषा छ भने निम्नवर्गीय व्यक्तिहरूले बोलीचालीको भाषा, भाषिका वा मातृभाषाको प्रयोग गरेका छन् । उपन्यासमा प्रयुक्त यस्तो विविधतामय भाषाको प्रयोग तत्कालीन समयमा कैलालीको पूर्वी क्षेत्रलगायत तराईका अन्य क्षेत्रमा प्रशस्त प्रयोग हुन्थ्यो जसको अवशेष अहिले पनि छँदै छ । यसैले प्रस्तुत उपन्यास परिष्कृत र जीवन्त भाषाशैलीको प्रयोगले बौद्धिक खालको बन्न पुगेको छ ।
उपन्यासको विचार तथा उद्देश्य

प्रस्तुत उपन्यासमा आञ्चलिकता प्रयोग भएकाले कर्नाली र डोटी सभ्यताको नालीबेली देखाउनु यसको मूल उद्देश्य रहेको छ । खास गरेर वि. सं. २०३०÷४० को दशकमा देखिएको नेपाली राजनीति समाज र दर्शनको यथार्थ चित्र उतार्दै तत्कालीन समयको समग्र पक्षको विवरण उपन्यासमा प्रस्तुत गरिएको छ ।

कालीकर्नालीको सेरोफेरोको जीवनचर्या, तत्कालीन समयमा पहाडबाट तराई झर्ने व्यक्तिहरूको लहरलाई अघि सारिएको छ । पहाडबाट नुनलगायत अन्य आवश्यक सामग्रीका लागि भेडा च्याङ्ग्रा ल्याएर तराई झर्ने र कटाँसे जस्ता तराईका बजारमा केही समय बस्ने कुरा झलक पनि उपन्यासमा रहेको छ ।

त्यस्तै जुम्ला, अछाम, दैलेख आदि ठाउँबाट मानिस हाटबजार आएर भारी बोकेर लैजाने हटारुवृत्ति, आफूभन्दा ठुलाप्रति गरिने मानसम्मान र आदरभाउ जस्ता पक्षलाई उपन्यासमा सटिक तरिकाले प्रस्तुत गरिएको छ । तराईमा झरेपछि उच्चवर्गले निम्नवर्गमाथि गरिएको शोषण तथा दमन, ठुलाबडाको घरमा कमैँया र कमलरी राख्ने प्रचलन, रुढिवादी परम्पराका कारण नारी तथा दमित व्यक्तिले भोग्ने पीडाको पनि उल्लेख गरिएको छ ।

तत्कालीन एकतन्त्रीय निरङ्कुश पञ्चायती व्यवस्थामा गरिने भेदभावपूर्ण व्यवहार, पञ्चायतका पक्षधर व्यक्तिले समाजमाथि गरेको अन्याय र पञ्चायत इतर पक्षधरले विभिन्न बहानामा भोगेको पीडाका साथै व्यवस्था भित्रभित्रै मक्किइसकेको आशय अभिव्यक्त भएको छ । यस प्रकार कालीकर्नालीको समग्र पक्षलाई शब्दका क्यामेराले खिँचेर पाठकसामु प्रस्तुत गर्नु यस उपन्यासको उद्देश्य रहेको छ ।

यस उपन्यास लुकेर रहेको अर्काे पाटो भनेको यौनमनोविज्ञानको प्रस्तुति हो । पटक पटक खड्क्या र धौँरीबिच भएका यौनिक क्रियाकलापको खुला चर्चा गर्नु, मास्टरसाहेव र नूतनबिच भएका कुराकानीमा मास्टरसाहेवले पटक पटक यौन वा सेक्स जीवनको अनिवार्य र अभिन्न अङ्ग भएको उल्लेख गर्नु, प्रेम र सुप्रभाबिच भएको यौनको सहज चित्रण गर्नु, रामे र सीताबिचको यौनिक विषयको चर्चा गर्नु, कमलरी रहेकी केटीले सुशान्त आउँदा विविध खाले कुरा गरी उसलाई आफूतिर आकर्षित गर्न खोज्नु, चिरेन्द्रले खुला रूपमा यौन विकृत हुनु फ्रायडको मान्यताका आधारमा इद, इगो र सुपर इगोमध्ये इदको अवस्था रहेको देखाउनु जस्ता सबै कुराहरू यौनमनोविज्ञानका पक्षअन्तर्गत पर्दछन् ।

लेखक स्वयंको उमेर पनि ढल्किन लागेकाले आफ्ना अतृप्त कामवासना नूतनलाई सुनाएर वा अरूका यौनिक पक्ष देखाएर परिपूर्ति गरेका छन् । यसरी प्रस्तुत उपन्यास कालीकर्नालीको सम्पूर्ण चित्र खिँच्नुका साथै यौनमनोविज्ञान प्रस्तुति गर्नमा सफल रहेको देखिन्छ ।

उपसंहार
आख्यानकार गगनसिंह थापाद्वारा लिखित प्रस्तुत उपन्यास उनका पूर्व प्रकाशित कृतिभन्दा उच्च प्रकृतिको रहेको छ । कथावस्तुको संरचना, विधामिश्रण र विधाभञ्जनको सफल संयोजन, भाषाशैलीको परिष्कार र प्रयोगमा उच्चता, आञ्चलिकताको प्रयोग, पात्र र परिवेशको उचित सम्मिलन, राजनीति, जीवनदर्शन, समाज, प्रकृति, परम्परा, संस्कार र मान्यता जस्ता धेरैजसो पक्षलाई एकै ठाउँमा उभ्याउन लेखक सफल भएका छन् । यिनै सम्पूर्ण पक्षका आधारमा हेर्दा सानातिना केही बेमेल भए पनि प्रस्तुत कृति मोफसलमा निस्केको नभई सिद्धहस्त लेखकको कृति रहेको मान्न सकिन्छ ।

यस्तो कृति पाठक समक्ष ल्याउने काम गरी यसको बिक्रीबाट उठेको रकम शारीरिक रूपले अशक्त र आर्थिक हिसाबले अत्यन्तै दयनीय अवस्थामा रहेका यस उपन्यासका प्रमुख तथा जीवन्त पात्र खड्क्या र धौँरीलाई प्रदान गर्ने गगन फाउन्डेसनका अध्यक्ष तथा कीर्तिशेष लेखकका सुपुत्र हिक्मत थापा बधाइका पात्र रहेका छन् ।
सन्दर्भ सामग्रीसूची
उपाध्याय, धनकृष्ण (२०८१). गगनसिंह थापाको ‘अस्ताचलको ढोकाबाट’ उपन्यासको विश्लेषण. टीएमसी सौगात ।
उपाध्याय, धनकृष्ण (२०८१). मेरा गाउँको खड्क्या मन्त्री कृतिको समीक्षा. २०८१ पौष १५ टीकापुरमा प्रस्तुत समीक्षा ।
थापा, गगनसिंह (२०७९). मेरा गाउँको खड्क्या मन्त्री. गगन फाउन्डेसन ।
बराल, ईश्वर (सम्पा.) (२०५३), झ्यालबाट (भूमिका खण्ड), छैठौँ सं.साझा प्रकाशन ।
शर्मा, मोहनराज (२०५५). समकालीन समालोचना ः सिद्धान्त र प्रयोग, साझा प्रकाशन ।
नेपाल, घनश्याम (सन् २००५). आख्यानका कुरा. एकता बुक्स हाउस प्रा.लि. ।
बराल, ऋषिराज (२०५६). उपन्यासको सौन्दर्यशास्त्र. साझा प्रकाशन ।
स्कोल्स, रबर्ट र अन्य (२०१०). इलेमेन्टस अफ लिटरेचर. अक्सफोर्ड युनिभर्सिटी ।

(लेखक उपाध्याय टीकापुर बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्)

डा.अन्सारी नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सुदूर पश्चिम काउन्सिलरमा नियुक्त

धनगढी, ५ माघ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सुदूरपश्चिम प्रदेश संयोजक (काउन्सिलर) मा डा. मेराज आलम अन्सारी नियुक्त भएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सुदूरपश्चिममा शाखा स्थापनाका क्रममा निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारीलाई सुदूर पश्चिम संयोजक नियुक्त गरेको हो ।

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जनरल सर्जरी डा. अन्सारीलाई सुदूरपश्चिमको संयोजकमा नियुक्त गरेका हुन् ।

सुदूरपश्चिममा स्थापनाका क्रममा रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सातौ शाखा हो । यसअघि परिषदले छ वटा प्रदेशमा शाखा स्थापाना गरिसकेको छ ।

डा.अन्सारीले सुदूर पश्चिममा परिषदको शाखा स्थापनाले चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धान गर्न सहज हुने बताए ।

खोज्नुहोस