गभर्नर नियुक्तिमा ढिलाईको अन्तर्य

द एभरेष्ट पोष्ट
१६ वैशाख २०८२ १६:३४
गभर्नर नियुक्तिमा ढिलाईको अन्तर्य

काठमाण्डौं,
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिन्छन् । उनलाई गभर्नर नियुक्त गर्न लागिएको अनुमानका भरमा नियुक्त वा सिफारिस नहुदै उनको योग्यतालाई लिएर अदालतमा मुद्दा दर्ता हुन्छ । अदालतमा उक्त मुद्दा हेर्न नभ्याईनेमा राखिन्छ । र, पालो नै आउदैन् ।

उनले दिएको राजिनामा कामु गभर्नर निलम ढुंगानाले दुई साता बित्न लाग्दा पनि स्वीकृत गर्दिनन् । राजिनामा स्वीकृत गर्न अर्थमन्त्री बिष्णु पौडेलले नै निर्देशन दिन्छन् । तर ढुंगाना टसमस हुदिनन् । भट्टको राजिनामा पेन्डिङमा राख्छिन् ।

यसैबीच गभर्नर सिफारिस समितिका सदस्य बिजयनाथ भट्टराई पदबाट राजिनामा दिन्छन् ।

त्रिभुवन विश्वविद्यालयमा स्नातकत्तोरका गोल्डमेडालिष्ट भट्टले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । अढाईदशक बिभिन्न बिभागको प्रमुख रहेर नेपाल राष्ट्र बैंकमा काम गरेका भट्टले कार्यकारी निर्देशकबाट राजिनामा दिएका हुन् । गभर्नरका लागि तोकिएको मापदण्डमा उनको योग्यता पर्याप्त मात्र होईन, आवश्यकता भन्दा बढि हो भन्न अत्युक्ति हुदैन् ।

कहिल्यै कुनै विवादमा नमुछिएका भट्ट अर्थतन्त्रका ज्ञाता हुन् । तर अनुमानका भरमा उनी विरुद्ध कसैको उक्साहटमा अदालतमा मुद्दा दर्ता हुन्छ । र, उनलाई त्यही मुद्दाको छिनाफानो नभएको बहानामा गभर्नर नियुक्त गर्न आनाकानी गरिन्छ ।
न उनको योग्यतामा विवाद छ । न उनी विवादित छन् । न अनुमानका भरमा दायर गरिएको मुद्दाले सिफारिस वा नियुक्त नै नभएका भट्टलाई छुन्छ । तर वहाना त्यही मुद्दालाई बनाईन्छ । र, उनको योग्यतामाथि विवाद भएको बखेडा झिकिन्छ ।

सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच भट्टलाई गभर्नर बनाउने सहमती भएको कुरा बाहिर आउछ । र, सहमती कार्यान्वयन गर्ने सुझाव दिएर देउवा स्वास्थ्योपचारका लागि एक साता लामो वैदेशिक भ्रमणमा जान्छन् । उनी फर्किदासम्म पनि सरकार भट्टलाई गभर्नर नियुक्त गर्न अग्रसर देखिदैन् । देउवा फर्किएपछि पुनः प्रधानमन्त्री ओलीसंग भेटवार्ता हुन्छ । भेटवार्तामा पनि भट्टलाई सहमती अनुसार गभर्नर नियुक्त गर्ने छलफल हुन्छ । छलफलपछि अर्थमन्त्री कामु गभर्नर ढुंगानालाई भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिन्छन् ।
तर ढुंगानाले टेर्दिनन् । अर्थमन्त्री केही गर्न सक्दैनन् ।

प्रधानमन्त्री ओली ढुंगानालाई गभर्नर बनाउन चाहन्थे । तर सत्तासाझेदार काँग्रेससंगको सहमतीमा भट्टलाई गभर्नर बनाउन तयार हुन्छन् ।

तर दुई सातासम्म गभर्नर नियुक्त गर्न सरकार असक्षम हुन्छ । र, उनको गति, नियत र व्यवहारले भट्टलाई गभर्नर बनाउने संकेत देखिदैन् ।

एक देउवा छन्, जो ओलीसंग सहकार्य जारी रहेसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेट नगर्ने कसम खान्छन् । र, प्रचण्डलाई भेट्न मान्दैनन् । अर्को प्रधानमन्त्री ओली छन्, जो देउवासंग भट्टलाई गनर्भर बनाउने सहमती गर्छन् । तर त्यही सहमती कार्यान्वयन गर्न आलटाल गर्छन् । प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेल सहमती प्रति प्रतिबद्ध हुन् भने अहिलेसम्म अटेर गर्ने कामु गभर्नर ढुंगानालाई जिम्मेवारीबाट किन मुक्त गर्न तयार भएनन् । सामान्य मान्छेलाई पनि अव यो कुरा बुझ्न गाह्रो हुदैन, प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलको आडभरोसा नहुदो हो त कामु गभर्नर ढुंगानाले यो हदसम्म अटेर गर्ने आट पक्कै गर्थिनन् ।

यदि अर्थमन्त्री पौडेलले साच्चिकै कामु गभर्नर ढुंगानालाई निर्देशन दिएका हुन्थे भने त्यो निर्देशन अटेर गर्ने ढुंगानालाई पदमुक्त गर्न आईतवार पर्खिदैनथे । अर्थमन्त्री पौडेलको निर्देशन ‘म हाने जस्तो गर्छु, त रोएजस्तो गर्नु, ’उखान झै प्रतित हुन्छ ।
यदि सहमती कार्यान्वयन गर्न प्रधानमन्त्री ओली ईमान्दार छन् भने तत्काल कामु गभर्नर ढुंगानालाई पदमुक्त गर्नुपर्छ । र, उनको ठाउँमा अर्कोलाई जिम्मेवारी दिनुपर्छ ।

त्यसपछि गभर्नर सिफारिस समितिमा मंगलवार नै सदस्य नियुक्त गरेर गभर्नरको नाम सिफारिस गर्न समितिलाई निर्देशन दिनुपर्छ । र, सो समितिको सिफारिसका आधारमा मंगलवार नै सरकारले गभर्नर नियुक्त गर्नुपर्छ । कुनै तुक नभएको मुद्दाको पछि लागेर अलमलिनु भनेको बहानावाजी गर्नु मात्र हो भन्ने बुझ्न कठिन छैन् ।

गभर्नर नियुक्ति प्रकृयामा ढिलाईले प्रष्ट संकेत गर्छ, भट्टलाई रोकेर अरु कसैलाई गभर्नर बनाउने खिचडी पाकिरहेको छ, त्यो प्रकृयामा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसंगै काँग्रेसको समेत सहभागिता छ ।

अन्यथा सहमती कार्यान्वयन नहुदा यतिसमयसम्म काँग्रेसले मौनता साँधेर बस्दैनथ्यो । सशंयको घेरामा ओली-देउवाबीचको सहमती छ ।

सहमती कार्यान्वयन नगर्ने प्रधानमन्त्री ओलीसंग टासिईरहनु पर्ने काँग्रेसको बाध्यता पनि बुझिनसक्नु छ ।

विचौलिया र स्वार्थ समूहहरु पहिलेदेखि नै आआफ्ना उम्मेदवार बोकेर शक्तिकेन्द्र धाईरहेका थिए । कसैले भट्टलाई कसैले बोकेका थिएनन् । प्रतिस्पर्धामा सबैलाई उछिनेर भट्ट गभर्नर बन्ने निश्चितप्रायः भएपछि स्वार्थसमूह र बिचौलियाहरुको निन्द्रा उडेको थियो । गभर्नर नियुक्त प्रकृयामा भएको ढिलाई हुनुमा त्यही समूहको चलखेल हावी भएको होईन भने सरकारले एक दुई दिनमा भट्टलाई गभर्नर बनाउनेछ । त्यही समूह हावी भएको हो भने अरु कुनै व्यक्तिलाई केहीदिनमा सरकारले गभर्नर नियुक्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस