अमेरिकी हवाई हमलामा परी यमनमा ७४ जना मारिए

एजेन्सी – अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।
आक्रमणमा १२५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ ।
रेड सी र एडेनको खाडीमा रहेका असैन्य पानीजहाज र सैन्य जहाज माथिको आक्रमणलाई अन्त्य गर्न सकियोस् भनी वासिङ्टनले मार्च १५ देखि हुथी विद्रोहीमाथि दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ ।
विद्रोहीहरूले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आक्रमण शुुरु गरेका थिए । इजरायली सेनाले अमेरिकी आक्रमणपछि यमनबाट आउँदै गरेको क्षेप्यास्त्रलाई रोकेको जनाएको छ ।
अमेरिकी आक्रमणपछि रास इसा तेल बन्दरगाह आक्रमणमा कम्तीमा ५० जना कामदार र कर्मचारीहरू घाइते भएका छन् ।