चीनद्वारा ‘रेअर अर्थ’ धातु र चुम्बक निर्यातमा अङ्कुश, अप्ठ्यारोमा अमेरिका

सिङ्गापुर : संयुक्त राज्य अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ चर्किँदा दुवैले एकअर्कामथि सामान आयात गर्दा चर्को शुल्क लगाएको विषयमा धेरैको ध्यान केन्द्रित भएको छ। तर वाशिङ्टनलाई जबाफ दिन चीन केवल करमा मात्र सीमित छैन।
चीनले ‘रेअर अर्थ’ वर्गमा पर्ने निकै महत्त्वपूर्ण खनिज पदार्थहरू र चुम्बकको निर्यातमा अङ्कुश लगाएपछि अमेरिका अप्ठ्यारोमा परेको छ।
बेइजिङको कदमले अमेरिका ती खनिज पदार्थमा कति परनिर्भर रहेछ भन्ने उदाङ्गो भएको छ।
यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो वाणिज्य मन्त्रालयलाई त्यस्ता खनिज पदार्थको उत्पादन बढाउन र आयातमा भर पर्ने अवस्था हटाउन निर्देशन दिए।
‘रेअर अर्थ’ पदार्थको महत्त्व के हो र तिनले जारी व्यापार युद्धलाई कसरी प्रभावित पार्न सक्छन् त?
‘रेअर अर्थ’ के हो, केमा प्रयोग हुन्छ
रासायनिक समानता भएका १७ वटा तत्त्वहरू ‘रेअर अर्थ’ वर्गमा पर्छन्। विभिन्न हाइ-टेक अर्थात् उन्नत प्रविधिका सामग्री उत्पादन गर्न यी तत्त्वहरू अत्यावश्यक हुन्छन्।
प्रकृतिमा यी तत्त्वहरू पर्याप्त मात्रामा हुन्छन्।
तर हतपत विशुद्ध अवस्थामा नपाइने भएकाले तिनलाई दुर्लभप्रायः मानिन्छ र तिनलाई निकाल्ने प्रक्रिया पनि निकै हानिकारक हुन्छ।
त्यसैले ती पदार्थलाई दुर्लभ अर्थ लाग्ने ‘रेअर’ भनिएको हो।
तपाईँ नीओडिमिअम, यिट्रिअम र युरोपिअमजस्ता नामसँग परिचित नहुन पनि सक्नुहुन्छ। तर तिनको प्रयोग गरेर निर्माण गरिएका वस्तुहरू तपाईँले प्रयोग गर्दै आउनुभएको हुन सक्छ।
उदाहरणका लागि, लाउडस्पीकर, कम्प्युटरका हार्ड ड्राइभ, विद्युतीय सवारीसाधन र जेट विमानका इन्जिनमा नीओडिमिअम प्रयोग गरिएको हुन्छ।
उक्त तत्त्वले ती वस्तुलाई सानो आकारमै बढी प्रभावकारी हुन सघाउँछ।
यिट्रिअम र युरोपिअम टेलिभिजन र कम्प्युटरका स्क्रीन बनाउन प्रयोग गरिन्छ। स्क्रीनमा राम्ररी रङ्ग ‘डिस्प्ले’ गर्न यी तत्त्वको भूमिका महत्त्वपूर्ण हुन्छ।
“तपाईँले स्विच थिचेर खोल्न र बन्द गर्न मिल्ने सबै साधनहरू ‘रेअर अर्थ’ तत्त्वबाट चलेका हुन सक्छन्,” जिन्जर इन्टरन्याश्नल ट्रेड एन्ड इन्भेस्ट्मन्टका निर्देशक टामस क्रूमर भन्छन्।
लेजर शल्यक्रिया र एमआरआई स्क्यानजस्ता चिकित्सकीय महत्त्वका प्रविधिको उत्पादनमा पनि रेअर अर्थ पदार्थहरू अत्यावश्यक हुन्छन्। प्रतिरक्षा प्रणालीमा प्रयोग हुने मुख्य प्रविधिमा पनि यी पदार्थहरूको ठूलो महत्त्व छ।
चीनको वर्चस्व कसरी कायम भयो
रेअर अर्थ पदार्थहरूको उत्खनन र अरू खनिज पदार्थबाट छुट्ट्याएर गरिने प्रशोधनमा चीनको एकाधिकारजस्तै छ।
विश्वभरि उत्पादन हुने ‘रेअर अर्थ’ पदार्थमध्ये चीनले ६१ प्रतिशत गर्ने र त्यसमध्ये उसले ९२ प्रतिशत पदार्थ प्रशोधन गर्ने आकलन अन्तर्राष्ट्रिय ऊर्जा निकाय ‘आईईए’ ले गरेको छ।
अर्थात् विश्वभरि हुने ‘रेअर अर्थ’को आपूर्तिमा चीनको वर्चस्व छ। उससँग ती पदार्थहरू कसलाई दिने वा कसलाई नदिने भन्ने क्षमता छ।
यी पदार्थको उत्खनन र प्रशोधन गर्ने दुवै प्रक्रिया निकै महँगा छन्। ती प्रक्रियाबाट वातावरण पनि प्रदूषित हुन्छ।
रेअर अर्थ पदार्थका सबै स्रोतहरूमा विकिरणयुक्त तत्त्वहरू पनि हुन्छन्। त्यसैले ईयूमा संलग्न र अन्य देशहरू ती पदार्थ उत्पादन गर्न अनिच्छुक देखिन्छन्।
“उत्पादन गर्दा उत्पन्न हुने विकिरणयुक्त फोहोरलाई सुरक्षित, नियमसम्मत र स्थायी रूपमा विसर्जन गर्नुपर्छ। अहिले ईयूमा उपलब्ध सबै विसर्जनस्थलहरू अस्थायी हुन्,” क्रूमर भन्छन्।
यद्यपि रेअर अर्थ पदार्थको आपूर्तिमा चीनको वर्चस्व एकैदिनमा कायम भएको हैन। दशकौँ अघिदेखि सरकारले लिएको नीति र गरेको लगानीको प्रतिफल स्वरूप अहिले चीन यो स्थितिमा आइपुगेको हो।
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,इनर मङ्गोलियाको बायन ओबो खानीमा ‘रेअर अर्थ’ धातुहरूको ठूलो भण्डार छ
“मध्यपूर्वसँग तेल छ, चीनसँग रेअर अर्थ पदार्थहरू छन्,” चीनका तात्कालिक नेता दङ शिआओपिङले सन् १९९२ मा इनर मङ्गोलियाको भ्रमण गर्दा भनेका थिए। उनले चीनको आर्थिक सुधारको नेतृत्व गरेका थिए।
यूकेको यूनिभर्सिटी अफ बर्मिङ्गममा कार्यरत शोधार्थी ग्याभिन हार्पर चीनले बिसौँ शताब्दीको अन्त्यतिर रेअर अर्थ पदार्थहरूको उत्खनन र प्रशोधन गर्ने क्षमता बढाउन थालेको बताउँछन्। उनका अनुसार अरू देशको तुलनामा चीनले अवलम्बन गर्ने पर्यावरणीय सुरक्षाको मापदण्ड र श्रमिकलाई दिने खर्च निकै कम छ।
“त्यसबाट उनीहरूलाई अरू प्रतिस्पर्धीले भन्दा सस्तोमा बेच्न र उत्खनन तथा प्रशोधनदेखि चुम्बकजस्ता तत्काल प्रयोग गर्न मिल्ने सामानको उत्पादनसम्म लगभग आफ्नो एकाधिकार कायम गर्न सजिलो भयो।”
चीनले ‘रेअर अर्थ’ खनिज पदार्थ निर्यातमा कस्तो रोक लगाएको हो
वाशिङ्टनले लगाएका विभिन्न ट्यारिफ अर्थात् अतिरिक्त आयात शुल्कहरूको प्रत्युत्तर दिने क्रममा चीनले यो महिनाको सुरुतिर सातवटा ‘रेअर अर्थ’ पदार्थको निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दियो। प्रतिरक्षा क्षेत्रमा अत्यावश्यक मानिने रेअर अर्थमध्ये पनि “हेभी” अर्थात् गह्रँगा तत्त्वको आपूर्तिमा चीनले कडाइ गरेको थियो।
‘लाइट रेअर अर्थ’ पदार्थहरूभन्दा कम पाइने भएकाले र तिनको प्रशोधन पनि कठिन हुने भएकाले ‘हेभी रेअर अर्थ’ पदार्थहरू बढी मूल्यवान् हुन्छन्।
चीनले एप्रिल ४ देखि सबै कम्पनीहरूले ‘रेअर अर्थ’ पदार्थ र चुम्बकहरू देशबाहिर पठाउने हो भने विशेष निर्यात अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
चीनले परमाणुअस्त्र अप्रसार सन्धिमा हस्ताक्षर गरेको छ। त्यसैले उससँग “दुईथरी प्रयोग गर्न सकिने सामग्री”को व्यापारमा नियन्त्रण गर्न पाउने अधिकार छ।
सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टरन्याश्नल स्टडीज (सीएसआईएस)का अनुसार चीनबाहेक अरूसँग ‘हेभी रेअर अर्थ’ पदार्थ प्रशोधन क्षमता नभएकाले यसबाट अमेरिका अप्ठ्यारोमा परेको छ।
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,चीनको नान्चङस्थित खानीमा रेअर अर्थ धातुहरू पाइन्छ
अमेरिकालाई कस्तो असर
‘यूएस जिअलजिकल’को एउटा प्रतिवेदनका अनुसार सन् २०२० देखि २०२३ सम्म अमेरिकाले आफूले आयात गरेका ‘रेअर अर्थ’ यौगिक र धातुमध्ये ७०% का लागि चीनमा निर्भर थियो।
यसबाट पनि चीनले लगाएको अङ्कुशबाट अमेरिकामा कस्तो असर परेको छ भन्ने बुझ्न सकिन्छ।
‘हेभी रेअर अर्थ’ पदार्थ सैन्य प्रयोजनका लागि विशेष गरी क्षेप्यास्त्र, रेडार र स्थानीय चुम्बकहरूमा प्रयोग गरिन्छ।
सीएसआईएसको एउटा प्रतिवेदनका अनुसार चीनले अमेरिकाभन्दा “पाँचदेखि छगुना तीव्र गतिमा आफ्नो अस्त्रशस्त्र उत्पादन विस्तार गर्दै अनि उन्नत अस्त्र प्रणाली तथा उपकरणहरू भित्र्याउँदै” गरेको अवस्थामा ‘रेअर अर्थ’ पदार्थहरूको निर्यातमा रोक लागेको हो।
“अमेरिकी प्रतिरक्षा उद्योममा पर्ने प्रभाव ठूलो हुने छ,” क्रूमर भन्छन्।
असर प्रतिरक्षा क्षेत्रमा सीमित छैन।
ट्रम्पले आयात शुल्क बढाएर सुधार्न खोजेको सरसामान उत्पादन उद्योगहरू पनि नराम्ररी प्रभावित हुने देखिन्छ।
“सामान ढुवानी रोकिँदा र सीमित उपलब्धताका कारण उत्पादकहरूले, विशेष गरी प्रतिरक्षा र उन्नत प्रविधिको क्षेत्रमा, सम्भावित अभाव र सामान उत्पादनमा विलम्बजस्ता समस्या खेप्नुपर्ने छ,” डा हार्पर भन्छन्।
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,विद्युतीय सवारीसाधनका इन्जिनका लागि चाहिने चुम्बक बनाउन पनि ‘रेअर अर्थ’ वर्गका धातुहरूको आवश्यकता पर्छ
“महत्त्वपूर्ण ‘रेअर अर्थ’ पदार्थहरूको मूल्य बढ्ने ठानिएको छ। त्यसो हुँदा स्मार्टफोनदेखि सैन्य सामानसम्म बनाउन प्रयोग हुने वस्तुको मूल्य तत्काल बढ्न सक्छ,” उनी भन्छन्। त्यसबाट प्रभावित अमेरिकी कम्पनीहरूले सामान उत्पादन गर्ने गति घट्न सक्छ।
चीनले लामो समयसम्म आपूर्ति रोके अमेरिकाले अरू आपूर्तिकर्ता खोज्न सक्छ र आफ्नो आन्तरिक उत्पादन र प्रशोधन गर्ने क्षमता बढाउने प्रयास गर्न सक्छ। तर त्यसका लागि ठूलो र दीर्घकालीन लगानी र प्राविधिक सुधार आवश्यक गर्नुपर्ने हुन्छ। यद्यपि चीनबाट किन्दाभन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ।
ट्रम्पले यो कुरा बुझेका छन्। यो साता उनले त्यस्ता महत्त्वपूर्ण पदार्थहरूको परनिर्भरताका कारण राष्ट्रिय सुरक्षामा पर्ने खतराबारे अनुसन्धान गर्न निर्देशन दिएका छन्।
के अमेरिकाले ‘रेअर अर्थ’ उत्पादन गर्न सक्दैन
अमेरिकामा रेअर अर्थ पदार्थको एउटा खानी सञ्चालित अवस्थामा छ। तर अमेरिकासँग उत्खनन गरेका पदार्थहरू छुट्ट्याउने र प्रशोधन गर्ने क्षमता छैन। अमेरिकाले कच्चा पदार्थ प्रशोधन गर्न चीन नै पठाउनुपर्छ।
पहिला केही अमेरिकी कम्पनीहरूले रेअर अर्थ धातुका चुम्बकहरू उत्पादन गर्थे। सन् १९८० को दशकसम्म ‘रेअर अर्थ’ पदार्थ उत्पादन गर्ने शीर्ष स्थानमा अमेरिका थियो।
तर चीनमा उत्पादित पदार्थको परिमाण धेरै र लागत मूल्य कम भएपछि ती कम्पनीहरूले काम बन्द गरे।
ट्रम्पले चीनसँग भएको निर्भरता हटाउनका लागि युक्रेनसँग खनिज सम्झौता गर्न चाहेको ठानिन्छ।
ट्रम्पले ग्रीनल्यान्डमाथि आँखा गाड्नुको अर्थ पनि त्यहाँ ‘रेअर अर्थ’ तत्त्वहरूको ठूलो भण्डार हुनु हो। ट्रम्पले डेन्मार्कको स्वामित्वमा भएको उक्त स्वायत्त भूभागमा आफ्नो नियन्त्रण कायम गर्न चाहेको कुरा बारम्बार बताएका छन्। बीबीसी नेपाली