बंगलादेशद्वारा नेपाली सामग्री आयातमा रोक

काठमाडौं– बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यू (एनबीआर) ले नेपालका विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ ।
आइतबार राजपत्रमा प्रकाशित सूचनाअनुसार भारत र भुटानसहित नेपालका पनि केही सामग्री आयातमा रोक लगाएको हो । धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारको कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो ।
यो निर्देशन एनबीआरको भन्सार शाखाले जारी गरेको हो । सूचनाअनुसार नेपाल र भुटानमा उत्पादन र प्रशोधन गरिएका धागो र आलुबाहेक अन्य सामग्रीलाई भने आयातको अनुमति दिइनेछ ।
भारतबाट भने डुप्लेक्स बोर्ड, न्युजप्रिन्ट, क्राफ्ट पेपर, सिगरेट पेपर, माछा, धागो, आलु, दुध पाउडर, सुर्ती, रेडियो र टिभीको पार्टपुर्जा, साइकल र मोटरको पार्टपुर्जा, फोरमाइका सिट, सेरामिक, सेनिटरी सामग्री, स्टेनलेस सामग्री, मार्बल स्ल्याब, टाइल्स र मिश्रित कपडा आयातमा रोक लगाएको छ ।
यसमा भ्याटमा रजिस्टर भएका बिडी उत्पादक उद्योगहरूलाई भने सुर्तीको पत्ता आयात गर्न दिइने उल्लेख छ । यो सूचना तत्काल लागू हुने बताइएको छ ।