ट्रम्पले चिनियाँ सामानमाथि लगाए २४५ प्रतिशत भन्सार कर

एजेन्सी । अमेरिका र चीनबीचको भन्सार करको युद्ध अझै रोकिएको छैन । यही क्रममा चीनमाथि अमेरिकाले थप १ सय प्रतिशत कर बढाएको छ । योसँगै अमेरिकाले चिनियाँ सामानमा लगाएको कुल कर २४५ प्रतिशत पुगेको छ ।
चीनले ११ अप्रिलमा अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको थियो, जसको जवाफमा ट्रम्पले नयाँ कर लगाएका हुन् । करयुद्धकैबीच चीनले अमेरिकालाई दुर्लभ खनिज पदार्थ निर्यातमा रोक लगाएको छ भने अमेरिकी कम्पनी बोइङबाट जहाज ल्याउनसमेत रोकेको छ ।
चीनले अमेरिकी करविरुद्ध कदम चालेपछि अमेरिकाले चीनमाथि थप कर लगाएको हो । यसअघि चीनले अमेरिकाले लगाउने भन्सार शुल्कको जवाफ नदिने बताएको थियो । तर, अमेरिकाले फेरि ठूलो मात्रामा कर थोपरेपछि चीनले पनि जवाफी कर लगाउने सम्भावना बढेको छ ।
चीनले अमेरिकासँगको व्यापार युद्धसँग नडराउने बताउँदै आएको छ । ट्रम्प र सी चिनफिङमध्ये कसले पहिले व्यापार युद्ध रोक्न वार्ता अघि बढाउछन् भन्ने पर्ख र हेरको अवस्था छ । ट्रम्प पहिले चीनले वार्ता सुरु गर्नुपर्ने पक्षमा छन् भने सी पनि अमेरिकाले आफ्ना कदम फिर्ता लिनुपर्ने पक्षमा छन् ।
ट्रम्पले बल चीनको कोर्टमा रहेको भन्दै कुराकानी चीनले सुरु गर्नुपर्ने बताएको भोलिपल्टै कर बढाएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले वार्ताबाट समस्याको समाधान चाहेको भन्दै दबाब बनाउन, धम्क्याउन छाड्नुपर्ने उल्लेख गर्दै चीनसँग बराबरी, सम्मान र आपसी हितका आधारमा कुरा गर्नुपर्ने बताएका छन् ।