पाकिस्तानमा वायुसेनाको विमान आकाशमै विस्फोट

एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तमा वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ। वायुसेनाको प्रशिक्षण विमानमा प्राविधिक खराबी आएपछि विस्फोट भएको थियो।
त्यसपछि विमान एक खेतमा खसेको छ। सेनाले जानकारी दिए अनुसार विमानमा सवार दुवै जना पाइलट भने सुरक्षित रहेका छन् । उनीहरू विमानबाट बाहिर निस्कन सफल भएका थिए । दुवैलाई नजिकैको एक सैनिक अस्पतालमा भर्ना गरिएको छ ।
अधिकारीहरूका अनुसार पाकिस्तान वायुसेना (पीएएफ)को मिराज V ROSE नामक प्रशिक्षण विमान मंगलबार लाहोरबाट करिब ३५० किलोमिटर दक्षिणपश्चिमतर्फ पर्ने वेहारी जिल्लाको उपनगरीय क्षेत्र रत्ता टिब्बाका खेतमा दुर्घटनाग्रस्त भएको हो ।
विमानले वेहारी शहर नजिकैको थिंगी एयरपोर्टबाट नियमित प्रशिक्षण उडान भरेको थियो । तर, केही समयमै प्राविधिक खराबीका कारण एक तेल डिपो नजिकै दुर्घटनामा परेको जनाइएको छ ।
स्थानीयले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् । त्यसपछिको दृश्यमा खेतमा बाक्लो धुवाँको मुस्लो देखिएको थियो । उद्धार टोली ११२२, सेना, प्रहरी र अन्य उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए ।
मिराज V ROSE फ्रान्सेली मिराज ५ को परिमार्जित संस्करण हो, जुन सन् १९७० को दशकदेखि पाकिस्तान वायुसेनाको सेवामा छ ।
रेट्रोफिट अफ स्ट्राइक एलिमेन्ट (ROSE) कार्यक्रममार्फत् यसको एभियोनिक्स र राडार प्रणालीमा सुधार गरिएको हो ।