रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन, पदभार ग्रहण

कोलोराडो, २ बैशाख । अमेरिकाको कोलोराडोस्थित नेपालीभाषीहरुको साझा संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ ।
हालै सम्पन्न संस्थाको २४ औं साधारणसभाले आकृति राईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा हरीबहादुर गुरुङ, महासचिवमा तेजप्रसाद ढकाल, कोषाध्यक्षमा सुनिता अधिकारी र महिला कोर्डिनेटरमा रमीता तुलाधर चयन भईन् । सभाले सन्तोष विश्वकर्मा र बिष्णु बिकलाई बोर्ड अफ डिरेक्टर चयन गरेको छ ।
कोलोराडोस्थित नव नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आईतवार सम्पन्न नव निर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण तथा २४ औं साधारणसभामा संस्थाका अध्यक्ष अर्जुन बगालेले संस्थाको प्रगति बिवरण तथा कोषाध्यक्ष गणेश पोख्रेलले आय ब्ययको बिवरण पेश गरे । दुबै प्रतिवेदन साधारण सभाबाट सर्वसम्मत रुपमा पास भए ।
साधारण सभा तथा पदभार कार्यक्रममा पूर्व प्राध्यापक तथा समाजसेवी डा. विजयराज शर्माको प्रमुख आतिथि र एनआरएनए एनसीसीका उपाध्यक्ष भानु खरेल, रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका सल्लाहकार तथा अनेसास बीओटीका अध्यक्ष पदम बिश्वकर्मा, तथा रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक नविन दत्त विशेष अतिथि रहेका थिए ।
निर्वाचन समितिका संयोजक नविन दत्तले नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएको सभा तथा पदभार कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिहरुले संस्थाको नवनिर्वाचित पदाधिकारीहरुलाई खादा तथा टीका लगाएर निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।
साधारण सभा तथा नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण गरी दुई सत्रमा संचालित कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधि, बुद्धीजिवी, विभिन्न संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
संस्थाका अध्यक्ष अर्जुन बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष विकाश त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव आकृति राईले गरेकी थिईन् ।
नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष बगालले आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्य तथा साधारण सदस्य लगायत सबैप्रति आभार व्यक्त गरे ।
दोश्रोसत्रको कार्यक्रम नवनिर्वाचित महासचिव तेजप्रसाद ढकालले संचालन गरेका थिए । नवनिर्वाचित अध्यक्ष आकृती राई अधिकारीले संस्थालाई अघि बढाउन सबैको साथ, सहयोग र सहकार्यका लागि आग्रह गरिन ।
अमेरिकाको कोलोराडाको नेपालीभाषीहरुको जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले नेपाली भाषा, संस्कृति, परम्परा जगेर्नाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।