सोफिज वर्ल्ड
पुस्तक चर्चा

-प्रेम राज अवस्थी
पश्चिमी दर्शनशास्त्रका मूलभूत पक्षहरू बुझ्न र ‘दर्शन के हो?’ भन्ने प्रश्नको उत्तरको खोजीमा हुनुहुन्छ, तर ठेलीका ठेली पढ्न जागर र समय छैन भने, तपाईंका लागि ‘सोफीको संसार’ उपयुक्त पुस्तक हो। सरल, सहज र बोधगम्य रुपमा लेखिएको यस पुस्तकले दर्शनशास्त्रको लामो इतिहासलाई कथा शैलीमा रोचक ढङ्गले प्रस्तुत गरेको छ।
जोस्टिन गार्डरको ‘सोफीको संसार’ दर्शन, रहस्य, र गैर-आख्यानले भरिएको पुस्तकले पश्चिमी दर्शनको सुरुवातदेखि २०औँ शताब्दीसम्मको लगभग ३००० वर्षको ऐतिहासिक यात्रा गराउँदछ। सन् १९९१ मा नर्वेजियन भाषामा “सोफीको भर्डेन” प्रकाशित यो पुस्तक सन् १९९५ मा अङ्ग्रेजीमा अनुवादित भएको थियो र त्यसपछि ६४ भाषामा अनुवाद भइसकेको छ। यो रोचक उपन्यासले पश्चिमी दर्शनको इतिहास र दर्शनका मूलभूत समस्याहरूको विश्लेषण गर्दछ। मुख्यतया, यसले दुई प्रश्नहरू – “म को हुँ?” र “यो विश्व कसरी अस्तित्वमा आयो?” – लगायत अन्य दार्शनिक प्रश्नहरूमा केन्द्रित छ। साधारण भाषामा लेखिएको यो पुस्तकले किशोर अवस्थाका बालबालिका देखि वृद्ध पाठकसम्मलाई ज्ञान र दर्शनप्रति जिज्ञासा जगाउँछ। पुस्तकमा, १४ वर्षीय सोफीलाई एक रहस्यमय दार्शनिक अल्बर्टो नक्सले युरोपेली दर्शनशास्त्रको इतिहास, पुराना मिथकहरूदेखि अस्तित्ववादसम्मका विषयहरू सिकाउँछन्। तर, दर्शन बुझ्दै जाँदा, सोफीलाई आफ्नो वरिपरिको संसार झनै रहस्यमय, अनौठो, र अवास्तविक लाग्न थाल्छ र उनको मनमा आफ्नो वास्तविकताको स्वरूपबारे प्रश्नहरू उठ्न थाल्दछ।
पुस्तकले सुकरातदेखि सार्त्रेसम्मका प्रभावशाली विचारहरूलाई पछ्याउँछ। साथै, ‘सोफीको संसार’ ले आइरिस दार्शनिक जर्ज बर्क्लीका सिद्धान्तहरूलाई उदाहरण स्वरूप प्रस्तुत गरेको छ। दर्शन बुझाउन, मानव सभ्यताका सुरुवातका मिथकहरूबाट सुकरातसम्मका विचारहरू समेटिएको छ।पुस्तकमा दर्शनको चर्चा तब सुरु हुन्छ, जब सोफीले घरको गेटमा रहेको पत्र-मञ्जूषामा आफ्नो नाममा लेखिएको एउटा खाममा केवल तीन शब्द “तिमी को हौ?” लेखिएको कागज भेट्छिन्। लगत्तै, अर्को खाममा लेखिएको हुन्छ, “संसार कहाँबाट आएको हो?” सोफीले यी प्रश्नहरू गम्भीरतासाथ सोच्न थाल्छिन्। केही समयपछि, तेस्रो खाम आउँछ जसमा लेखिएको हुन्छ, “दर्शनशास्त्र के हो?” क्रमसँगै सोफीले पत्रहरू पढ्दै जाँदा थाहा हुन्छ कि कोही उनलाई दर्शनशास्त्रको इतिहास सिकाउन चाहन्छ।
दर्शनशास्त्र आधारभूत प्रश्नहरूको उत्तर खोज्ने प्रयास हो—हामी को हौँ? संसार कहाँबाट आएको हो? इतिहासको कुनै कालखण्डमा यी प्रश्नहरूको उत्तर मिथकमा आधारित थिए। मानिसहरू प्राकृतिक घटनाहरू—जस्तै, मेघ गर्जन, चट्याङ, वर्षा, र खडेरीको कारण बुझ्न चाहन्थे र यी प्राकृतिक घटनाहरू देवी-देवताहरूले गराएको विश्वास गर्दथे। यसै अनुसारका कथाहरू सिर्जना गरिन्थ्यो। उदाहरणका लागि, ग्रीक मिथकहरूमा थोर भन्ने देवताले आफ्नो विशाल हथौडाले चट्याङ र गर्जन उत्पन्न गर्छ भन्ने विश्वास गरिन्थ्यो।
तर लगभग ईसा पूर्व ६०० तिर, प्राचीन ग्रिसमा दर्शनशास्त्रको उदय भयो। एथेन्सका केही चिन्तकहरूले पुराना मिथकहरूलाई आलोचनात्मक दृष्टिले हेर्न थाले र प्राकृतिक घटनाक्रमका लागि नयाँ व्याख्या दिन थाले। यस प्रकार, मिथकबाट तर्कसम्मको यो यात्रा पश्चिमी चिन्तनको महत्त्वपूर्ण मोड बन्यो। यही क्रममा, थेल्स, एनाक्सीम्यान्डर, र हेराक्लाइटस जस्ता दार्शनिकहरूले ब्रह्माण्डका मौलिक तत्त्वहरूको अध्ययन गर्न थाले। तिनीहरूलाई “प्राकृतिक दार्शनिक” मानिन्छ। तर दर्शनशास्त्रमा ठुलो परिवर्तन ईसा पूर्व ४५० तिर सुकरातको आगमनसँगै भयो।
सुकरातले आफूसँग सबै उत्तर छन् भनेर कहिल्यै दाबी गरेनन्। बरु, उनले मानिसहरूलाई प्रश्न सोधेर ज्ञान प्राप्त गर्न चाहन्थे। उनको प्रसिद्ध भनाइ “म एउटै कुरा मात्र जान्दछु, र त्यो के भने, म केही पनि जान्दिन।” विश्वभरि प्रख्यात छ। उनको दृष्टिकोणले “दार्शनिक” को नयाँ परिभाषा दियो—एउटा यस्तो व्यक्ति जसले ज्ञान प्राप्तिका लागि मन खुला राख्छ र आफ्ना धारणा लाई अन्तिम सत्य मानी त्यसैमा अडिग हुँदैन। तर सुकरातको यात्रामा एउटा दुखद मोड आयो। उनलाई ईसा पूर्व ३९९ मा धेरै प्रश्न सोधेको आरोपमा मृत्युदण्ड दिइयो।
सुकरातले आफ्ना विचारहरू कहिल्यै लेखेनन्, त्यसैले सुकरातबारे मुख्य रूपमा उनका शिष्य प्लेटोका लेखबाट थाहा हुन्छ। प्लेटोले दर्शनशास्त्रलाई नयाँ दिशा दिए। उनले तर्कको महत्त्वमा जोड दिए र “वास्तविकता” लाई दुई भागमा बाँडे: एउटा “आइडियाको संसार” (जहाँ सबै कुराको शुद्ध, परिपूर्ण रूप हुन्छ) र अर्को “संवेदी संसार” (जहाँ हामी भौतिक रूपमै चीजहरू अनुभव गर्छौँ)। तर प्लेटोका शिष्य एरिस्टोटलले प्रत्यक्ष अनुभव र वैज्ञानिक अध्ययनलाई प्राथमिकता दिए। उनका अनुसार, ज्ञान अनुभवबाट आउँछ, न कि केवल विचारबाट।
सोफीको अध्ययन मध्य युग हुँदै पुनर्जागरणतिर अघि बढ्दै जाँदा दर्शनशास्त्र, धर्म, र विज्ञानबिचको द्वन्द्व झन् पेचिलो हुन्छ। १७औं शताब्दीमा, दर्शन दुई धारमा बाँडियो: भौतिकवाद र आदर्शवाद। भौतिकवादीहरू (जस्तै, थोमस होब्स) ले सबै चीज भौतिक रूपमै अवस्थित हुन्छ भने, आदर्शवादीहरू (जस्तै, जर्ज बर्क्ली) ले हाम्रो ज्ञान केवल हाम्रो मनमा रहेको विचारको नतिजा हो भन्छन्। बर्क्लीले संसारको अस्तित्व नै प्रश्न गरे। उनले भने, “हामी वास्तवमै बाहिरी संसारलाई अनुभव गर्छौँ त? कि हाम्रो अनुभव मात्र हाम्रो दिमागको उपज हो?”
यही सोच्दा, सोफीले आफूलाई अचम्मको अवस्थामा पाउँछिन् र आफू एउटा उपन्यासको पात्र मात्र भएको खुलासा हुन्छ। १८औं शताब्दीको ज्ञानको युगमा, इमानुएल कान्टले तर्क गरे कि हाम्रा अनुभवहरू पूर्ण सत्य होइनन्। उनले “वर्गीकृत नैतिकता” को अवधारणा अघि सारे, जसअनुसार प्रत्येक निर्णयले नैतिक रूपमा सबै मानिसहरूलाई लागु हुने नियम बन्न सक्नुपर्छ। १९औं शताब्दीमा, रोम्यान्टिसिज्मले व्यक्तित्व र भावनालाई जोड दियो। त्यसपछि, अस्तित्ववादको उदय भयो, जसको मुख्य सिद्धान्त थियो कि मानिसले आफ्नो जीवनको अर्थ आफैँ सिर्जना गर्नुपर्छ। यसका प्रमुख विचारक जाँ-पोल सार्त्र थिए। उनले भने, “अस्तित्व नै सार हो”—अर्थात्, मानिसको जीवनको कुनै पूर्वनिर्धारित उद्देश्य हुँदैन, बरु हामी आफैँले आफ्ना निर्णयहरू मार्फत अर्थ सिर्जना गर्छौँ।
रमाइलो पारामा लेखिएको ‘सोफीको संसार’ प्रारम्भिक रूपमा दर्शनशास्त्र बुझ्नका लागि उपयोगी पुस्तकले शताब्दीयौँदेखि विभिन्न चिन्तकहरूको विश्वास र तर्कबिचको सम्बन्ध खोज्ने प्रयास गरेको छ। पुराना विचारधाराहरू बदलिँदै नयाँ वैज्ञानिक खोजहरू अगाडि आए पनि ज्ञानको खोजी कहिल्यै रोकिएन भन्ने कुरा पनि पुस्तकबाट पाउन सकिन्छ। साथै, सत्य नजिक पुग्नका लागी प्रश्न सोध्ने हिम्मत र प्रक्रिया जारी राख्नुपर्छ भन्ने सुकरातले सिकाएको मूल ज्ञान नै दर्शनशास्त्रको सार हो।