एनआरएनए नाईजेरियाको परोपकारी कार्य, नयाँ वर्षमा कल्याणकारी कोषको स्थापना

बैशाख १ (लेगोस,)नाइजेरिया ।
गैरआवासीय नेपाली संघ(एनआरएनए) नाइजेरियाले नयाँ बर्ष २०८२ को शुभकामना कार्यक्रम मनाउदैं कल्याणकारी कोषको स्थापना गरेको छ ।
संसारभर एनआरएनए अभियान विवादमा अल्झिरहँदा एनआरएनए नाइजेरियाले भने आपत विपदमा पर्ने नेपालीहरु, नेपालमा प्राकृतिक विपत्तिमा र कल्याणकारी योजनाहरुका लागि सहयोग गर्न स्थायी प्रकृतिको कल्याणकारी कोष स्थापना गरेको हो ।
लेगोसमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा संघका अध्यक्ष सोमेश अर्यालले एक मिलियन नाइजेरियन नायरा (युएस डलर ६६७) को सहयोग घोषणा गर्दै कोष स्थापनामा सहयोग गर्न सबैलाई आह्वान गरे ।
त्यस लगत्तै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, कर्णेल हेमन्त राणाले जनही ६६७ डलर सहयोग गरे । कल्याणरकारी कोषमा भरत रिजाल ५३३, दिलीप जैसी ५०० बिदुर घिमिरेले ३०० सुरज गिरीले ३०० डलर र प्रेम रोकाले ३३३ डलर सहयोग गरे । सघले कल्याणकारी कोषका लागि सहयोग संकलन अभियान जारी राखेको छ ।
सन २००८ मा स्थापना भएको एनआरएनए नाइजेरियाले विगतमा चितवन धरान , खोटाङ , मकवानपुर , रसुवा र कैलालीमा विद्यालयका पुस्तकालय , प्रयोगशाला, छात्रवास भवनका निर्माण अतिरिक्त नेपालमा भूकम्प, बाढी पहिरो आदि विपतमा सहयोग गर्दै आएको थियो । त्यसै गरी मानव तस्करहरुद्वारा अफ्रिकामा अलपत्र पारिने पीडित नेपालीको घर फिर्ती र राहतका लागि सहयोग गर्दै आएको छ ।
संघले अफ्रिकाका अन्य एनसीसीहरु संग मिलेर कोभिडकालमा नेपालका थुप्रै दुरदराजका अस्पतालहरुमा अक्सिजन सिलिन्डरहरु र अन्य स्वास्थ्य सामाग्रीको सहयोग पुर्याएको थियो ।