यु-१९ एसिया कप छनोट: नेपालको लगातार दोस्रो जित

काठमाडौँ – नेपालले काठमाडौँमा जारी यु-१९ एसिया कप क्रिकेटमा लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा युएइलाई डिएल म्याथोडमा ५ रनले हराएको नेपालले सोमबार भएको दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्यो।
प्रतियोगितामा लगातार दोस्रो हार भोग्ने क्रममा ओमानले नेपाललाई सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। पहिले ब्याटिङ गर्दै ओमानले दिएको १ सय १८ रनको चुनौती नेपालले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
नेपालका ओपनरद्वय साहिल पटेल र निरजकुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। निरजले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाएर आउट हुँदा अर्का ओपनर साहिल ४४ रनमा पेभिलियन फर्किएका थिए। कप्तान नरेन भट्ट १२ रनमा अविजित रहे।
माथिल्लो मुलपानी मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको ओमान ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटिएको थियो।
ओमानका लागि ब्रजेश शाहबाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै शाहले ६ चौकाको मद्दतले ५२ रन जोडे। सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाएका थिए।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि युवराज खत्रीले ७ ओभर बलिङ गर्दै २ मेडन सहित १५ रन खर्चिएर महत्वपूर्ण ५ विकेट हात पारे। त्यस्तै, सन्तोष यादवले २ विकेट लिएका थिए।
नेपाल लगातार दोस्रो जित सँगै ४ अङ्क बनाउन सफल भएको छ। अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्ने कार्यतालिका रहेको छ।