प्रमानन्द : एक ‘क्रेजी’ पर्यटनकर्मी

कतिपय मान्छे आफ्नो कमजोरी लुकाउन भूगोललाई दोष दिन्छन् । कतिपय समय र परिवेशलाई । त, कतिपय भाग्यलाई ।
जो आफ्नो क्षमता र कर्ममा विश्वास गर्छ्, खुरुखुरु कर्म गर्छ । प्रतिकूल समय र परिस्थितिलाई अनुकूल बनाउन प्रयत्न गरिरहन्छ ।
र, त्यही प्रयत्नले बनाउछ्, पृथक पहिचान । तिनैमध्येका एक हुन्, प्रमानन्द भण्डारी ।
२२ मंसिर २०३१ सालमा महेन्द्रनगरमा जन्मिएका उनी नरीश्वर भण्डारी र नैनाकलाका जेठा छोरा हुन् ।
जन्मथलो भीमदत्त नगरपालिका–२ उल्टाखाममा हुर्किएका उनले घरछेउकै सरस्वती माविमा कखरा सिके । त्यहीबाट एसएलसी गरे । त्यसपछि पढ्न पुगे, नैनिताल । त्यही प्रमाण पत्रको पढाई पुरा गरे । र, फर्केर महेन्द्रनगरमै स्नातक पढ्न थालेका उनी त्यहीबेला बुवाले शुरु गरेको होटल व्यवसायमा जोडिए ।
४० को दशकमा महेन्द्रनगर सुदूर पश्चिमको व्यापारिक ‘हव’ थियो । त्यो समय, जतिबेला महेन्द्रनगरमा खानबस्नका लागि राम्रो होटल थिएन । उनका बुवाले सोचे, एउटा गतिलो होटल खोल्न पाए, कम्तिमा यहाँ आउने मान्छेलाई सुविधा हुने थियो ।
त्यही सोचले झण्डै चार दशकअघि जन्मियो, आनन्द होटल । त्यसपछि महेन्द्रनगरमा थुप्रै होटल थपिए । त्यो क्रम जारी छ । न्यू आनन्द होटल, त्यो समय महेन्द्रनगरका लागि हयात पनि थियो, सोल्टी पनि । न्यू आनन्द होटल, जसको नामै काफि थियो ।
२०४२ सालमा चार कोठा भाडामा लिएर शुरु गरेको होटल व्यवसाय ०५५ सालमा बजारमा आफ्नै भवन बनाएर सारे । सञ्चालनमा ल्याए, १६ वटा कोठाको सुविधायुक्त होटल । त्यसमा थपे, तालिम हल र रेष्टुरेण्ट ।
०५८ सालमा मुलुकमा संकटकाल लाग्यो । उनको लगानी उठने कुरै भएन । ऋणमा डुबे । ०६१ सालमा ऋण तिर्न चार बिगाहा जमीन र घर बचे । तर उनले हिम्मत हारेनन । नत उनी पछि हटे ।
२०६५ सालमा उनले मोहित टुर एण्ड ट्राभल्स शुरु गरे । उनी हवाई जहाजको टिकटसंगै पर्यटकहरुलाई टुर प्याकेज पनि बेच्न थाले । उनी आफै गाईड । आफै मालिक । काम गर्न कहिल्यै संकोच मानेनन् ।
२०७५ सालमा बैंकबाट थप ऋण लिए । र, होटलको स्तरोन्नती गरे । कोठाको संख्या ५० पु¥याए ।
त्यसको केही समयपछि कोभिड–१९ को कहर शुरु भयो । होटल व्यवसाय ठप्प भयो । बैंकको सावाव्याँज तिर्न सकेनन । उनी दोस्रो पटक ऋणमा डुबे । ऋणबाट उम्किन भाँसीको १० कठ्ठा जमीन बेचे ।
जुंगाको रेखी नपलाउदै जोडिएको होटल व्यवसाय उनको अम्मल जस्तै थियो । उनका बुवाको होटल व्यवसायमा अनुभव थियो । उनलाई अनुभवी बुवाको साथ । त्यो व्यवसाय, जसमा बुवाको पसिनाको सुगन्ध थियो ।
होटल व्यवसायमा उनले थुप्रै उतारचढाव भोगे । पटक पटक ऋणमा डुवे । कोसिस गर्दा गर्दै ऋणमा डुबेकोमा उनलाई ग्लानी थिएन । गलत काम गरे पो ग्लानी ? कामगर्दा गर्दै समय र परिस्थिति प्रतिकूल भयो । त्यसलाई नियन्त्रण गर्नु उनको वशमा थिएन । समयले उनको पटक पटक परीक्षा लिईरह्यो । उनी परीक्षा दिईरहे । समय जित्न दिईरहेको थिएन । हार्न उनले जानेका थिएनन् ।
पर्यटन व्यवसाय धर्मराईरहेको बेला २०७० सालमा जग्गा लीजमा लिएर ८ कोठामा शुक्लाफाँटा जंगल कटेज शुरु गरे । क्याम्प फायर, रोमाञ्चकारी सफारी, सूर्यास्तको मनमोहक दृष्यावलोकनका लागि यो कटेज पर्यटकहरुको रोजाईमा प¥यो ।
उनी उत्साही भए । ०७१ सालमा शुक्लाफाँटामा सफारीको प्याकेज शुरु गरे । त्यसपछि खप्तड बडिमालिका, अपि, रामारोशन, रारा गएका उनले त्यहाँका लागि पनि प्याकेज बनाए । पहिलो पटक जेठो छोरा मोहितसंग २०७१ मा खप्तड गएका उनी त्यसयता सात पटक पुगिसके । रारा दुई पटक ।
उनी भारतीय पयर्टकहरुलाई बोकेर शिवरात्रीमा पशुपतिनाथ पुगे । पर्यटकको रोजाई अनुसार शुक्लाफाँटासंगै खप्तड, जनकपुर, पोखरा, मुक्तिनाथ पनि गाईड बनेर गए ।
सुदूरपश्चिमलाई काठमाण्डौंको नीतिले टाढा बनाएको हो । हजारौ किमी लामो हवाई यात्रा तय गरेर आएका विदेशी पर्यटकका लागि काठमाण्डौंबाट सुदूरपश्चिमको दूरी केही होईन । उनको अनुभवले भन्छ, अचाक्ली हवाई भाडाका कारण विदेशी पर्यटकको रोजाईमा सुदूर पश्चिम पर्न सकिरहेको छैन् ।
सरकारका नजरमा त्यही पोखरा, चितवन र लुम्बिनी मात्र छ । मानौ, नेपालमा अरु ठाउँ नै छैनन् । उनी भन्छन्, सरकार यो सोचभन्दा बाहिर कहिले निस्किएला ? र, पुग्ला सुदूरपश्चिम ।
सुदूर पश्चिममा विदेशी पर्यटक आउन सरकारको नीति बाधक छ । भारतीय पर्यटक आउने वातावरण नै छैन् । नेपालभित्र गाडीमा हुने अनावश्यक खानतलासी र सीमामा व्यहोर्नुपर्ने झञ्झट सम्झेर भारतीय पर्यटकहरु आउनुअघि नै आफ्नो योजना स्थगित गर्छन् ।
कच्चा पदार्थ नचाहिने संसारकै ठूलो उद्योग मानिन्छ, पर्यटन । जो, ‘थ्रि ए’ एडभेञ्चर, अकोमोडेसन र एक्सेसबिलिटीमा निर्भर छ । सुदूर पश्चिममा एडभेञ्चर छ । बाँकी दुई चिज अझै अपुग छन् । उनी भन्छन्, सरकारले ध्यान दिनु पर्ने यसमा हो ।
सरकारले पर्यटन वर्ष मनाईरहदा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्छ । तर तिनलाई सुदूरपश्चिममा पु¥याउने सरकारसंग कुनै खाका हुदैन् । सरकारको सोच र व्यवहारले उनको मन कुडिन्छ । मानौ, सुदूरपश्चिम यो देशको भूगोलभित्रै पर्दैन् ।
हुन् पनि सरकारको नियमित कार्यक्रम वा आकस्मिकताभित्र सुदूरपश्चिम अहिलेसम्म अटाएको छैन् । जव पर्यटन बोर्डमा बस्नेहरुको आफ्नै घर वा यही भूमि भएर उत्तराखण्डको तिर्थाटन गर्ने मन हुन्छ, तव उनीहरु काज मिलाएर भत्ता खाने जोहो मिलाउछन् । अरुबेला त सुदूरपश्चिम तपसिलमा पनि पर्दैन ।
देशभरीमा १२ लाखभन्दा बढि पर्यटक भित्रिएको भनेर हर्ष बढाई गर्ने पर्यटन बोर्डलाई सुदूर पश्चिममा नौ हजार पर्यटक भित्रिएको तथ्यांकले गिज्याउँदो हो कि नाई ? त्यसमध्ये पनि सात हजार पर्यटक भारतीय रहेको तथ्यांकले देखाउछ ।
सरकारी ढुकुटीबाट विदेश शयर गर्ने पर्यटन बोर्डका मान्छेलाई आफ्नै देश घुम्न फुर्सद हुदैन । आफू नघुमेको देशको प्याकेज बनाउछन् । र, विदेश शयर गर्छन । हरेक वर्ष कैयौं कार्यक्रममा विदेश जाने पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले ती कार्यक्रममा गएर कति विदेशी पर्यटक भित्र्याए ? उनी प्रश्न गर्छन् ।
===============
महेन्द्रनगरमा जव कुनै दल, संघसंस्था र नेतालाई निशुल्क कोठा, हल र खाना चाहिन्छ । तव उनलाई सम्झिन्छन् । हुन् पनि सबै दलका लागि उनको होटल आश्रयस्थल जस्तै हो ।
जव उद्योग वाणिज्य संघ वा होटल व्यवसायी संघको चुनाव आउछ । को कहाँबाट आयो ? त्यसको खोजी शुरु हुन्छ । उनी हराईन्छन् । उनलाई लाग्छ, जुन भूगोलमा उनी जन्मिए, जहाँको माटोमा लडिबुडी गर्दै हुर्किए, जहाँको हावा, पानी र माटोसंग उनको औंधी प्रेम छ, त्यही माटोमा उनी पराई बन्छन् । यो उनको नमिठो अनुभव हो । व्यक्तिगत रुपमा उनको स्वभाव, व्यवहार र बानी मन नपराउने मान्छे सायदै कोही होलान ।
तर चुनावमा भोट किन पाउदैनन् ? यो उनीभित्र गढेको प्रश्न हो । तर उनलाई त्यसको छु मतलव । उनी सबै चिज बिर्सेर सुदूर पश्चिममा पर्यटक कसरी भित्र्याउने त्यसैमा घोत्लिन्छन् ।
उनलाई कसले के भन्छ्, कहिल्यै असर गरेन । सायद असर गरेको भए उनी उहिल्यै महेन्द्रनगर छोडीसक्थे । उनी कर्म गरिरहे । सुदूरको पर्यटनको प्रवद्र्धनका लागि कहिले दिल्ली पुगे । कहिले लखनउ । कहिले आगरा । देहरादून, नैनिताल, हरिद्धार, रुद्रपुर त कति पटक पुगे, पुगे । त्यसको लेखाजोखा नै छैन् ।
काठमाण्डौं र पोखरा पुगेर कतिपटक त्यहाँका पर्यटन व्यवसायीलाई सुदूर पश्चिम घुम्न निमन्त्रणा दिए ।
==================
उनी पागल जस्ता लाग्छन् । तीन दशकदेखि, जो सबैचिज छोडेर बस्, पर्यटन प्रवद्र्धनमा लागीरहेका छन् । हुदा हुदा सपनामा पनि पर्यटक भ्त्रियाएको देख्छन् ।
गम्भीर बिरामी भएका उनका बुवा अस्पतालबाट साँझ डिस्चार्ज भए । बुवालाई घरमा छोडेर उनी त्यही साँझ काठमाण्डौंबाट महेन्द्रनगर पुगे ।
भोलिपल्ट विहानै टे«किङका लागि सबै बन्दोबस्त गरे । र, चालकलाई साथमा लिएर बाजुराको बडीमालिकाका लागि निस्किए । पर्यटनका कुरा गरेर मात्र हुदैन् । पर्यटकीय क्षेत्रको सुन्दरताको बयान गरेर मात्र हुदैन् । सुन्दरतासंगै उनी त्यहाँको कठिनाईलाई पनि नजिकबाट बुझ्छन् । अनि त्यहाँको प्याकेज बनाउछन् । बडिमालिकाको अपर्झट यात्रा गर्नु पछाडिको कारण त्यही थियो ।
उनी जे गरिरहेका छन् । त्यसमा उनका बुवाको साथ छ । पत्नी अम्बिकाको समर्थन । र, छोराहरुको आड । त्यसैले आफूले गरिरहेको कर्मप्रति दरो विश्वास छ ।
यो जरुरी छैन्, बाटो बनाउनेहरु आफैले बनाएको बाटोमा हिड्न पाउछन् । तर कसैले न कसैले त बाटो बनाउनै पर्छ । त्यसपछि पो अरुले हिड्न पाउछन् । हो, प्रमानन्द सुदूरपश्चिममा पर्यटनको बाटो बनाईरहेका छन् । भोलि त्यो बाटोमा सबै हिड्ने उनको विश्वास छ ।
त्यही विश्वासले उनलाई बिचलित हुन दिदैन । उनलाई भाग्न दिदैन् । थाक्न त उनले जानेकै छैनन् ।
महेन्द्रनगर बजारसंगै जोडिएको छ, शुक्लाफाँटा । जहाँ संसारकै दुर्लभ चरा,बन्यजन्तु र वनस्पती छन् । र, एशियाकै ठूलो मानिने घासे मैदान त्यही भित्र छ ।
एकैसाथ जहाँ हेर्न पाईन्छन् हजारौको संख्यामा बाह्रसिंगाहरु । झण्डै २५०० को हाराहारीमा बाह्रसिंगा, ४६५ भन्दा बढि प्रजातीका चरा, ४४ भन्दा बढि बाघ, २० भन्दा बढि गैडा र थुप्रै हात्ती छन् । शुक्लाफाँटाभित्र दर्जनौ तालहरु छन् । चार सय ६५ प्रजातीका चराको बासस्थान हो, शुक्लाफाँटा । शिकारी तालमा मात्र २२ हजार चरा एकै ठाउँमा रहेको अध्ययनले देखाएको छ । दुर्लभ खरमजुर यही पाईन्छ ।
विहानको नास्ता बाह्रसिंगा हेरेर खान मिल्ने भएकोले उनले प्याकेजको नाम दिए, ‘ब्रेकफाष्ट वीथ बाह्रसिंगा’ ।
संसारभरीबाट आएका गैर आवासीय नेपालीहरुका अगुवा जीवा लामिछाने, कुमार पन्त, कुल आचार्य लगायतले शुक्लाफाँटामा सफारीसंगै ‘ब्रेकफाष्ट वीथ बाह्रसिंगा’ को मज्जा लिए ।
शुक्लाफाँटामा नजिकबाट बाह्रसिंगाको झुण्ड, मयुरको नृत्य हेरेर लोभिएका लामिछानेले त यस्तो अद्भूत सफारी अन्यत्र महशुस गर्न नसिकएको सुनाए ।
भण्डारी यही कुरा संसारलाई सुनाउन चाहन्छन् । र, जति नयाँ मान्छे आउछन्, उनी आफै गाईड भएर शुक्लाफाँटा पस्छन् । भो अव त पुग्यो, कति जानु शुक्लाफाँटा ? उनले कहिल्यै भनेनन् । जति पटक गएपनि उनको धीत मरेको छैन् । शुक्लाफाँटा छ नै त्यस्तो ।
शुक्लाफाँटासंग उनको अटुट प्रेम छ । छेउमै बग्ने महाकालीमा कहिल्यै पानी हुदैन । कहिल्यै उर्लेर बस्तीमै बग्छ । तर उनको प्रेम एकनास छ ।
पर्यटकले एउटै कुरा कति हेर्नु नभनुन । उनी नयाँ गन्तव्यको खोजीमा मलास पुग्छन् । र, त्यहाँको सौन्दर्य वर्णन गर्छन् ।
लुम्विनी, पोखरा, र सौराहा बेचिने देशमा उनी सुदूर पश्चिम बेचिरहेका छन् । सरकार र पर्यटन बोर्डलाई पनि लाग्छ, त्यति टाढा सुदूरमा को जान्छ ?
भलै, त्यो बोर्ड र मन्त्रालयलाई नेतृत्व गर्नेहरु यही माटोले जन्माएकाहरु नै किन नहुन, उनीहरु पनि कुर्चीमा बसेपछि काठमाण्डौं झै भईदिन्छिन्, अलिकतिपनि लज्जाबोध नगरी भनिदिन्छन्, सुदूरपश्चिममा के छ ?
प्रदेश सरकारको नेतृत्व गर्ने दल र सत्ता साझेदारहरु पनि उस्तै छन् । पर्यटनमा बजेट छुट्याउछन् । अनि त्यसमै ¥याल काँढ्छन् । न काम गर्छन् । न पर्यटनव्यवसायीलाई काम गर्न दिन्छन् । बस्, खान पाए पुग्यो । पर्यटनको चिन्ता कसलाई ? यही कुराले प्रमानन्दको चित्त दुख्छ । यो माटोले जन्माएका मान्छेहरु यति कृतघ्न कसरी हुन सक्छन् ?
एक पटक त्यो दोषी चश्मा उतारेर हेर्नुस महाशय । उनी जवाफमा भन्छन्, सुदूरमा के छैन्, सुन्दर खप्तड छ । मनोरम बडिमालिका यही छ । हेरेर धीत नमर्ने अपी यही छ । महाकाली किनारमा फैलिएको अद्भूत शुक्लाफाँटा यही छ, जहाँ सूर्योदयदेखि सूर्यास्तसम्मका हरेक पल हेरिरहन मन लाग्छ । ¥याफ्टिङका लागि कर्णाली,काली र सेती यही छन् । धार्मिक पर्यटकका लागि भगवतीका सात बहिनीका पीठ उत्तिकै महत्वपूर्ण छन् ।
उनी शुक्लाफाँटा १० जनाको समूहलाई खाजा सहित १५०० रुपैयाको प्याकेज बेचिरहेका छन् । त्यसबाहेक दिन र पर्यटकको संख्याका आधारमाखप्तड, बडिमालिका, रामारोशन र अपीको प्याकेजमा काम गरिरहेका छन् । सरकारको सुविधा र बजेट कहिल्यै पर्खिएनन । उनले जे जती गरिरहेका छन् । आफ्नै बलबुता र सामथ्र्यमा गरिरहेका छन् । आफ्नै खर्चमा उनले सुदूरपश्चिमको पर्यटनमा काम गरिरहेका छन् । सरकारी बजेटमा पर्यटनको डंका पिट्नेहरुको जमातमा उनी अपवाद हुन् ।
उमेरले उनी एक कम पचासमा छन् । पर्यटनलाई जीविका होईन, जीवन बनाए । र, त्यही जीवनका तीन दशक पर्यटनका उकाली ओरालीमा बिताए । बाँकी जीवन पनि यसैमा बिताउने धोको छ । त्यही धोकोले ढाकिएका छन्, उनका निजी रहर, आकांक्षा र सपनाहरु ।
बैंकको किस्ता तिर्न समस्या छ । उनी समस्यालाई पैतालामुनी कुल्चेर हिडेका छन्, किनकी उनीसंग बुवा छन्, जसले भनिरहन्छिन्, हरेश नखानु । सरकारको भरोसा कसलाई ? बुवाको त्यही भरोसाले न उनी डग्मगाउदैनन् ।
आफूलाई रैथाने भन्नेहरु घरजग्गा बिक्री गरेर काठमाण्डौं हुदै युरोप अमेरिका छिरिसके । बुवाले जोडेको घरजग्गा बेचेर महेन्द्रनगरमै सुविधासम्पन्न होटल बनाएर उनले मूर्खता गरे भन्नेहरुलाई मुखभरी जवाफ दिने मन छ । यस्ता मूर्खहरु सबै शहरमा किन जन्मिदैनन् ?