२५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलर बोकेर केरुङतर्फ जाँदै गरेका लामा पक्राउ

काठमाडौं,५ चैत ।
काठमाडौंको टोखा नगरपालिकाको झोरबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका ४३ वर्षीय कुसान लामा रसुवाको केरुङतर्फ जाँदै गरेको खुलेको छ ।
प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का लामालाई सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
क्याबिनमाथिको बायाँतिर फल्स बटम बनाई सबै रकम त्यहीँ लुकाएर राखिएको अवस्थामा बरामद गरेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताए ।
गाडीका चालक रहेका उनी एक्लै थिए । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसअघि २०७३ पुस १३ मा ७ किलो सुन सहित कलंकीबाट समातिएका लामा २०७८ मा छुटेका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।