गाजामा भीषण आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु

काठमाडौं । इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनीको ज्यान गएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मृतकमध्ये धेरैजसो बालबालिका रहेका छन्।
अलजजिराका अनुसार इजरायली सेनाले गाजा क्षेत्रमा व्यापक बमबारी गरेको छ, जसमा दक्षिणी गाजाको खान युनिस र रफाह, उत्तरी गाजा सिटी तथा मध्य क्षेत्रमा पर्ने देइर अल(बलाह प्रमुख निशानामा परेका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा वृद्ध छन्, जबकि धेरै पीडितहरू भग्नावशेषमुनि फसेका छन्।
‘३२६ जना शहीदहरूको शव गाजाका विभिन्न अस्पतालहरूमा ल्याइएको छ, र अझै थुप्रै मानिस भग्नावशेषमुनि छन्,’ गाजाका स्वास्थ्य मन्त्रीले भनेका छन्।
गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा भएको युद्धविरामको उल्लङ्घनका रूपमा लिएको छ। हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने वार्ता असफल बनाएर पुनः द्वन्द्व चर्काएको आरोप लगाएको छ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हमासले हाम्रा बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, र अमेरिकी दूत तथा मध्यस्थकर्ताहरूको प्रस्तावलाई ठाडो अस्वीकार गरेपछि, इजरायलले सैन्य कारबाहीलाई अगाडि बढाउने निर्णय गरेको हो।’ इजरायली अधिकारीहरूका अनुसार आक्रमण जति आवश्यक छ, त्यति लामो समयसम्म जारी रहनेछ र यसलाई हवाई आक्रमणभन्दा पर पनि विस्तार गरिनेछ।
हमासले इजरायली सरकारलाई आन्तरिक संकट समाधानका लागि द्वन्द्वलाई ‘राजनीतिक अस्त्रुका रूपमा प्रयोग गरेको आरोप लगाएको छ। ‘युद्ध पुनः सुरु गर्ने नेतन्याहुको निर्णय कब्जामा रहेका कैदीहरूलाई बलिदान दिने र उनीहरूलाई मृत्युदण्ड दिने जस्तै हो,’ हमासको विज्ञप्तिमा उल्लेख गरिएको छ।
फुटेजहरूमा खान युनिसको नासेर अस्पतालमा स्ट्रेचरमा घाइते व्यक्तिहरूलाई दौडाउँदै गरेको देख्न सकिन्छ। अस्पतालका शवगृहमा सेतो कपडाले बेरिएका शवहरू ल्याइएको दृश्यहरूले युद्धको भयावहता झल्काउँछ।