पार्टी र सरकारबारे सुदूरपश्चिममा कांग्रेसको छलफल, मुख्यमन्त्री मन्त्री र सांसद राखेर केन्द्रीय उपसभापति र प्रदेश सभापतिले के भने ?

द एभरेष्ट पोष्ट
२८ फागुन २०८१ १५:२९
पार्टी र सरकारबारे सुदूरपश्चिममा कांग्रेसको  छलफल, मुख्यमन्त्री मन्त्री र सांसद राखेर केन्द्रीय उपसभापति र प्रदेश सभापतिले के भने ?

कैलाली । सुदूरपश्चिम प्रदेशको आगामी बजेट, प्रदेश सरकार र पार्टीबीचको समन्वय बढाउने गरी नेपाली कांग्रेसले बुधबार आन्तरिक छलफल गरेको छ ।

 

प्रदेश सम्मेलनका लागि धनगढी आएका उपसभापति पूर्णबहादुर खड्का र प्रदेश सभापति वीरबहादुर बलायरले बुधबार बिहान ओम पार्टी प्यालेसमा सुदूरपश्चिम कांग्रेसका जिल्ला सभापति, प्रदेश सांसद , मन्त्री र मुख्यमन्त्रीलाई एकै ठाउँमा राखेर आगामी बजेट, पार्टी र सरकारका विषयमा छलफल गरेका छन् ।

पार्टी र सरकारका बीचमा केही समस्या हुन थालेको गुनासो प्रदेश सांसद र कांग्रेसका नेताहरूले गरेपछि प्रदेश सभापति बलायरले सबैलाई एकै ठाउँमा राखेर छलफल गराएका थिए ।

 

छलफलमा सबै जिल्लाका पार्टी सभापतिलाई बोलाइएको थियो । तर, केही सभापतिमात्रै पुगेका थिए । प्रदेश सभापतिसहितका पदाधिकारी, मुख्यमन्त्री मन्त्री र प्रदेश सांसदहरूको बैठकमा ठोस निर्णय केही भएन । पार्टी र सरकारबीचको समन्वय अझै बलियो बनाउने, जनअपेक्षा अनुसारको बजेट तयार गर्ने, सरकार सञ्चालन गर्दा उत्पन्न हुनसक्ने समस्याहरू छलफल र संवादबाट टुङ्गो लगाउने लगाएको विषयमा काङ्ग्रेसभित्र सहमति भएको छ ।

छलफलमा कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामी, मुख्यमन्त्री कमल बहादुर शाह, पार्टी प्रदेश सभापति वीरबहादुर बलायर र केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का लगायतले धारणा राखेका थिए । प्रमुख सचेतक धामीले यसअघिको बजेटमा केही असन्तुष्टि जनाउँदै आगामी बजेट सबैलाई समेट्ने ढङ्गको आउनु पर्ने बताएका थिए ।

मुख्यमन्त्री शाहले केही समय अघि आफूसँग काम गर्न अप्ठ्यारो भए मन्त्री राज्यमन्त्रीलाई राजीनामा दिन र कर्मचारीलाई सरुवा लिन भनेका थिए । बुधबारको छलफलमा कांग्रेस प्रदेश महामन्त्री मनु शाहले त्यस विषयमा पार्टीमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

‘मुख्यमन्त्री ज्यूलाई कहाँ-कहाँबाट समस्या पैदा भएको होला यस्तो कुरा पार्टीको बैठकमा राख्दा हुन्छ’ शाहले विषय प्रसङ्ग उठान गरेका थिए ।

प्रदेश सरकारको कार्यशैलीप्रति सांसद र मन्त्रीहरु नै असन्तुष्ट हुदै गएका छन् । उता मुख्यमन्त्री शाहले आफूलाई मन्त्री र कर्मचारीहरुबाट असहयोग भएको गुनासो गर्दै आएका छन् ।

शाहले आफूले केन्द्रीय समीकरण अनुसार मुख्यमन्त्रीको जिम्मेवारी पाएको भन्दै सहज ढंगले काम गर्न पाउनु पर्ने बताउँदै आइरहेका छन् ।

बुधबारको छलफलमा पनि मुख्यमन्त्री शाहले आफ्नो कार्यकालमा सुशासनको पाटोमा केही महत्त्वपूर्ण कामहरू भएको भन्दै योजना अनुसारको काम अझै गर्न नसकिएको बताएका थिए । उनले कर्मचारी अभावका कारण प्रदेश सरकारलाई सबैभन्दा धेरे समस्या सृजना भइरहेको टिप्पणी गरे ।

‘प्रदेश सरकारबाट काम नभएको होइनन् सुशासनको पाटोमा केही काम भएका छन् तर, योजना र भिजनअनुसार अझै काम हुन सकिरहेको छैन’ उनले भने ‘हामीसँग पर्याप्त कर्मचारी छैनन् भएकाहरूबाट पनि कहिलेकाहीँ समस्या सृजना हुन्छ ।’

मन्त्रालयहरूमा सचिवहरू नहुँदा काम अझै प्रभावकारी हुन नसकिरहेको मुख्यमन्त्री शाहको भनाइ थियो । पार्टी सभापति बलायरले पार्टी र सरकारबिचको समन्वय र सम्पर्क अझै प्रभावकारी हुनुपर्ने बताएका थिए । उनले आएका समस्याहरू छलफल र संवादबाट टुङ्गो लगाउन समेत सबैलाई भनेका थिए ।

केन्द्रीय उपसभापति खड्काले बुधबारको छलफल निकै सकारात्मक र सान्दर्भिक रहेको बताउँदै यस्ता छलफल बेला बेलामा हुनुपर्ने बताए ।

‘४\५ महिनामा यस्ता छलफल र संवाद हुनुपर्छ । समस्या आए सल्लाह गर्नु पर्छ । मन माझामाझ गर्नुपर्छ’ उनले भने ।

उपसभापति खड्काले सरकार सञ्चालनका बेला केही समस्या उत्पन्न भए गठबन्धनमा छलफल गरेर अगाडि बढ्नु पर्ने बताए । ठूला समस्या आएमा केन्द्रीय गठबन्धनले पनि त्यसको हल गर्ने उनको भनाइ थियो ।

उनले सरकार जनताको पक्षमा रहेर काम गर्नु पर्ने भन्दै सुदूरपश्चिमका मुख्यमन्त्रीलाई अझै प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका थिए । सरकार सञ्चालनमा अनावश्यक हस्तक्षेप नगर्न भन्दै खड्काले पार्टी र सरकारबीच सहज वातावरण हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस