काठमाडौँमा उच्च सुरक्षा सतर्कता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्ने भन्दै राजावादीहरुले शक्ति प्रदर्शन गर्न शुरु गरेपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुरक्षा स्रोतले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो साढे २ बजे काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुनेक्रम शुरु भएको छ ।
यसै विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेर भिड अनियन्त्रित भई हुलहुज्जत, अमर्यादित, अवाञ्छित र गैरकानुनी क्रियाकलाप हुनसक्ने भएकाले त्यसलाई रोक्ने बारे छलफल भएको थियो ।
साथै सुरक्षा प्रबन्धका लागि सुरक्षाकर्मी परिचालन गर्ने र आवश्यक परे चारवटै सुरक्षा निकाय परिचालित गरिने गरि तयारी भएको बुझिएको छ ।
सुरक्षा समितिको सोही निर्णय अनुसार आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालन गरिएको छ ।
त्यस्तै प्रहरीले त्रिभुवन विमानस्थल भित्र टिकट भएका यात्रु र कर्मचारीलाई मात्र प्रवेश गर्न दिएको छ भने अन्यलाई मूलसडकको गेटमै रोकेको छ ।