सम्झनामा टीकापुर स्कुल : स्मृतिका केही टिपोटहरु

द एभरेष्ट पोष्ट
१६ फागुन २०८१ २२:४५
सम्झनामा टीकापुर स्कुल : स्मृतिका केही टिपोटहरु

हिक्मत थापा

२०३६ को हिउँदको महिना । उमेरले एघार बर्षको र कदले पनि सानै थिए । घाम लागेको दिन थियो । पिताजीको पछि पछि लागेर म तत्कालको टीकापुर आवाशिय माविमा कक्षा ८ को भर्नाको लागि परीक्षा दिन गएको थिए । कटासेबाट चक्रराज भाट दाइ र म गएका थियौं । हामी दुबैले भर्खर धर्मापुरको महेन्द्र शिशु निमाबि बाट कक्षा ७ उत्तीर्ण गरेका थियौ । दुईतिर मिलाएर बनाएका काठका टहराका कक्षा कोठाहरु , ठूलो चौर, अर्कोतिर छात्रबास , कार्यालय र हेडसरको आवास भएको त्यतिबेलाको नाम चलेको र भर्ना पाउन मुश्किल पर्ने बिधालय अबको मेरो अगाडिको पढाईको लक्ष्य थियो ।

हामी दुबैको नाम निस्कियो । संभवत पिताजी र मेरालागि मेरो भविष्य प्रतिको पहिलो पडावको त्यो सफलताको पहिलो खुशी थियो । गणित र अंग्रेजीमा कमजोर मलाई संयोगले हाम्रै परिवारिक नाताका स्कुलका संस्थापक प्रधानाध्यापक र शिक्षक बलबहादुर रावलसरको घरमा डेराको प्रवन्ध भयो । म सितापुर उहाँको घरमा बसेर पढन थाले । वास्तवमा मेरो अध्ययनको त्यो ठूलो टर्निङ प्वाइन्ट भयो । बलबहादुर रावल अंकलले मेरो अध्ययन प्रतिको रुचि र स्तरलाई नै कालान्तर सम्मकै लागि उभो लगाई दिनु भयो ।

-उमेर र अग्लाईले पनि सबै भन्दा सानो भएकोले कक्षामा म सबैको भाइ भए । त्यसमा पनि सबै दिदीहरुले “सानोभाइ” भनेर बोलाउन थाले । आज पर्यन्त समेत म कक्षा र स्कुलको सानोभाइ नै भइरहेको छु । मेरो संभवत त्यो नाम स्कुल जिवनकै स्मरणय योग्य प्रिय सम्बोधन अझै लागि रहन्छ । लहरै कक्षा ८,९ र १० कक्षा कोठाहरु थिए । कक्षा कोठामा हेडसर थोमस वर्गिस भुगोल पढाउन आउनु हुन्थ्यो । पिन ड्रोप साइलेन्स हुन्थ्यो ।

उहाँले लिथो मेसिनमा स्कुलमा प्रीन्ट गरेका मानचित्रमा पढाउनु र लेखाउनु हुने सहर र देशका नापनक्सा अझै पनि दुरुस्तै याद छन । एकदिन सोर्य मण्डलको परिक्रमा पढाउदा मलाई अगाडि बोलाएर फनफनी घुमाउनु भयो , ग्रहका परिक्रमा सम्झाउन । संभवत म बिद्यार्थी हुँदा सबैभन्दा डराएको त्यै दिन थियो ।

बहुदल र निर्दलको घोषणा भएको बर्ष थियो । नबुझे पनि कक्षामा हामी पहेलो र निलो रङ्गमा बिभाजित थियौ । खाली पिरियडमा दाइहरुले कक्षा भित्रै मतदानको खेल खेलाउनु हुन्थ्यो । कहिले पहेलो जित्थ्यो कहिले निलो । अभिभावकको बिचार अनुसार हामी बिभाजित हुन्थ्यौ । जनमत संग्रहका बेला हामी ८ कक्षामा थियौं ।

धनन्जय तिमिल्सिनासर नेपाली , रत्नप्रसाद संज्यालसर गणित , शेरबहादुर रावलसर बिज्ञान पढाउनु हुन्थ्यो हामीलाई । अंग्रेजी पढाउन मानबहादुर रावलसर भर्खर बम्बैबाट कलेज पढेर आउनु भएको थियो । अंग्रेजीको प्रारम्भिक ब्याकरण उहांबाटै कक्षा ८ मा सिकियो । अन्नखेती व्यावसायिक पाठ्यक्रम थियो । कुलराज पंथीसर चितवन बाट भर्खरै कृषि पढेर आउनु भएको थियो । मन्त्रमुग्ध हुने गरि पढाउनु हुन्थ्यो उहाँ । भुगोलमा पछि श्रीबास्तब सर आउनुभयो ।उहाँको शैली अझ विशेष थियो । जो पछि सम्म पनि यादगार रहिरहयो । केहिसमय काठमाडौंमा बिएससी पढेर आएका मनोज शाह सरले पनि बायोलोजी पढाएको याद छ । ऋषिकेश पन्डित सरले पनि बायोलोजी साइन्सका केही कक्षा लिनु भयो ।कक्षा ८ को सरस्वती पूजाको बेला सांस्कृतिक कार्यक्रम भएको थियो । त्यसमा कोहि किन बर्बाद होस नाटकमा सानो भुमिका खेलेको थिए । के थियो , ठ्याक्कै बिर्सिए    अहिले ।

स्कुलको गेटनेर सानो पसल थियो । चिम्सा आँखा भएका जेम्स दाइको। कपी , सिसाकलम चाहिए त्यही किन्थ्यौ । ससाना मिठाई टफीहरु किन्न पाइन्थ्यो । चौरमा टफीका प्लास्टिक फ्याक्नु हुन्न भन्नेमा सचेत हुन्थ्यौ । डर हेडसरकै हुन्थ्यो । जो चौरमा भेटिएका प्लास्टिक आफैं टिपेर हिडेको देख्थ्यौ । नयाँ स्कुल भवन ( अहिलेको भवन ) बन्ने भयो । अनि हामीलाई अहिलेको अस्पताल भएको भवनमा सारियो । हामीले कक्षा ९ र १० पढेको त्यही हो । प्राबि पुरानै ( अहिलेको ) ठाउँमा र निमावि देखि माबि नयाँ भवन ( अहिलेको ) अस्पताल भवनमा पढाइ हुन थाल्यो । सबै भन्दा पुर्वतिरको ब्लकमा कक्षा ८,९ र १० अनि एकातिर शिक्षकको अफिस र अर्कोतिर हेडसरको अफिस थियो ।

हामी १० कक्षा सम्म पुग्दा २० जना जति बिद्यार्थी थियौ ।जगत टमटा , भोला शाह, हेमन्त रावल , गंगा शाह , टीकाराम रेग्मी , कटक सेट्ठी , चन्द्रमान चौधरी , भास्कर खडका , गोबिन्द उपाध्याय , मोतीलाल चौधरी , भरत सुनार ,दिलिप शाह , दामिदर पण्डित , हिक्मत ठकुल्ला , सावित्री त्रीपाठी , रजनी सिहंपाल , रामु आले , जानकी रावल, ललिता दास , दुर्गा उप्रेती , मैयाँ खतिवडा र म ।( कसैलाई बिर्से भने क्षमा प्राथी छु )। भेट नभए पनि धेरै संग सम्पर्कमा छु । हालखबर प्रत्यक्ष अप्रत्यक्ष बुझिरहेको हुन्छु ।

पढनमा सावित्री त्रिपाठी दिदी सधै अगाडि । कोहि छेउसम्म पुग्न सकेनौ । अनवरत कक्षा फस्ट भइरहनु भयो । त्यसपछि पछि रजनी दिदी , जगत टमट्टा , भोला शाहदाइहरु । म भने कक्षा ८ मा साधारण पास हुँदै , ९ मा आठौ स्थान , टेस्टमा तेश्रोमा र बोर्डसम्म दोश्रो स्थानमा सुटुक्क पुगे , कक्षामा ।

खेलकुदमा नेतृत्व गर्थ्यो हाम्रो कक्षाले । भलिबलमा हेमन्तदाइ स्कुलको कप्तान , चन्द्रमान र जगत दाइ त्यस्तै बलिया खेलाडी । दौड र अन्यमा पनि दिदीहरु र अरु दाइहरु अगाडि । बिरेन्द्र शिल्डमा हाम्रै कक्षाको जबर्जस्त उपस्थिति हुन्थ्यो । हसुलियामा भएको बिरेन्द्र शिल्डमा खेलाडी नभए पनि उहाँहरुको पछि लागेर म पनि गएको थिए । दिनभर ट्राक्टरमा बसेर भजनी हुँदै रात्री हसुलिया स्कुल पुगेका थियौ । हाम्रो बिधालय जिल्लामा पहिलो भएर बिरेन्द्र शिल्ड जितेको थियो । कक्षा बाहेक सितापुरमा डम्बर ( उपमा ) फूपू , मोहन रावल अंकल , मकर केसी दाइ , चक्र बिष्ट दाइ कटासेका प्रेम गिरी , ललित कुँवर लगाएत थुप्रै स्वजनका मित्रवत सम्झना छन , त्यसकालका ।

नयाँ कक्षा चढदा किताब किन्न राजापुर गएको र कक्षा आठमा र दशमा एसएलसीको फर्म भर्न फोटो खिच्न तिकुनिया जानु पर्थ्यो । साइकलमा सरर पुगिन्थ्यो । तिकुनियामा फोटो खिचेको ! रेल हेरेको सम्झना अझै ताजा छन ।

धनगढी एसएलसी दिन जाने हामी अन्तिम ब्याज ( बि. सं. २०३९ ) थियौ । हाम्रै जाचँको बेला , गणितको दिन बिद्यार्थी र प्रहरी बिच झडप भइ गणितको जाँच स्थगित भयो । पछि बैशाखमा त्यो जाँच दिन गइयो । पंचोदय स्कुल हाम्रो परीक्षा केन्द्र थियो धनगढीमा । त्यस बर्षको झडपले २०४० देखि पुर्वी कैलालीका लागि टीकापुर केन्द्र कायम भयो । एसएलसी जाँच दिन धनगढी धाउनु पर्ने दु:ख यस क्षेत्रका विद्यार्थीका लागि सदाका लागि अन्त भयो ।

०४० सालको श्रावणमा हाम्रो रिजल्ट आएको रेडियोबाट थाहा पायौं । बर्षातको महिना थियो । बाटोघाटा सबै बन्द थिए । तेश्रो हो वा चौथो दिनमा राजापुरमा स्कुलको हेडसरकोमा गोरखापत्र पुगेको थाहा पायौं। हामी ४/५ जना हिडेर दौलतपुर घाटमा डुगां चढेर राजापुर पुग्यौ । गोरखापत्र पुगेको रहेछ ।हामी ८ जना पास भएका थियौ । सावित्री दिदी प्रथम र बाकी हामी दोश्रो डिभिजनमा पास भयौ । म चाहिँ दोश्रोमा रहेछु । पछि थाहा भयो ५८.६ % रहेछ मेरो मार्क । थोरैले प्रथम डिभिजन आउन पाईन । यसरी १४ बर्षमा मैले एसएलसी पास गरे , टीकापुर आवाशिय माविबाट ।

थुप्रै अन्य औपचारिक अनौपचारिक झझल्का स्मृतिमा अझै छन बिधालयका । सबै सम्झन सकिएन । सम्झेका पनि लिपिबद्द गर्न सकिएन । केही स्मृतिहरु कोरे । स्कुल भन्दा करिब दशहजार किलोमीटर पर अफ्रिकाको पश्चिमी कुनोबाट ।

सम्झनामा आएका नआएका सबै गुरुहरु जसले मलाई चेतना भर्नु भयो , स्नेह दिनु भयो र आशिष । सबैमा नतमस्तक छु । साथीभाई , सिनियरहरु, दाजु दिदीहरु सबै सबै प्रति कृतज्ञ छु । अझ सबैभन्दा बढी मेरो टीकापुर बिद्यार्थीकालका अभिभावक र गुरुमा पनि अब्बल गुरु जसले साझँभर लालटिनको धिपधिपे उज्यालोमा दिउँसोको स्कुलका पाठ घोकाई घोकाई मलाई तिखारनु भयो आदरणीय बलबहादुर रावलसरमा लाखौलाख कृतज्ञ छु ।

( प्रस्तुत संस्मरण बीरेन्द्र बिधामन्दिर माविको स्वर्ण जयन्तीमा भर्खरै प्रकाशित स्मारिका बाट साभार गरिएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस