जीवनको रहस्य -दार्शनिक खोज

प्रेम राज अवस्थी
यदि हामी विचार मग्न भएर चिन्तन गर्ने हो भने, हाम्रो मनमा धेरै प्रश्नहरू उठ्छन्। जस्तो कि “हामी को हौँ?”, “हाम्रो जीवनको उद्देश्य के हो?” र “यो संसार किन यस्तो छ?”। यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास नै जीवनको रहस्य बुझ्ने प्रयास हो। हजारौँ वर्षदेखि साधु-सन्त, दार्शनिक विचारक, र वैज्ञानिकहरू अनवरत रूपमा यी यक्ष प्रश्नहरूको उत्तर खोजिरहेका छन्। उनीहरूका विचार, जीवनको परिभाषा, र विवेचनाहरूले हामीलाई सधैँ मोहित पारिराखेको हुन्छ।
विज्ञानले जीवनका भौतिक प्रमाणहरू दिए पनि मानव अस्तित्वको गहिरो बुझाइको लागि वेद, दर्शन, र आध्यात्मिक ग्रन्थहरूको अध्ययन अपरिहार्य छ। उदाहरणका लागि, खप्तड बाबाको शिक्षाले “हामी को हौँ?” र “हाम्रो जीवनको उद्देश्य के हो?” भन्ने प्रश्नहरूको गहिरो उत्तर दिन्छ। त्यही रूपमा, भगवद-गीताले जीवन, जगत् र आत्म जागरणको लागि गहिरो आध्यात्मिक दृष्टिकोण प्रदान गर्दछ। साथै, सुकरात, प्लेटो, अरिस्टोटल, कन्फ्युसियस, इमानुएल कान्ट, गौतम बुद्ध, र परमहंस योगानन्दका दर्शनहरूले जीवनका रहस्यहरू उजागर गरेका छन्।भगवद-गीताबाट प्रभावित खप्तड बाबाले मानव केवल भौतिक अस्तित्व मात्र नभएर शरीर, मन, र आत्माको संयोजन भएको बताएका छन्। गीताका अनुसार आत्मा अजर, अमर, र शाश्वत हुन्छ तर भौतिक शरीर अस्थायी हो, जुन हामीले लगाउने वस्त्र जस्तै परिवर्तनशील छ।
हाम्रो जीवन केवल खानपान र मनोरञ्जनमा मात्र सीमित छैन, हामी सँगै गहिराइमा गएर सोच्न सक्ने अद्वितीय क्षमता छ। यही जिज्ञासाले मानव अस्तित्वको रहस्य बुझ्न प्रेरित गरेको छ, जसका लागि विभिन्न दार्शनिक र वैज्ञानिकहरूले व्याख्या गरेका छन्। भगवद्-गीताका अनुसार सबै प्राणीहरू परम चेतनाका अंश हुन् र तिनीहरू कर्म तथा पुनर्जन्मको नियमद्वारा बाँधिएका छन्। यसै सन्दर्भमा, परमहंस योगानन्दले आत्माको उत्पत्तिबारे भिन्न दृष्टिकोण प्रस्तुत गरेका छन्। उनका अनुसार, आत्मा दिव्य ऊर्जाबाट उत्पन्न हुन्छ र आत्म-बोधमार्फत पुनः त्यही मूल स्रोतमा फर्किन्छ। यी विचारहरूले जीवनको गहिरो अर्थ खोज्न प्रेरित गर्दै, भौतिक संसारभन्दा परको सत्यलाई बुझ्न मद्दत गरेको छ।
भगवद-गीता रचिएको लगभग २००० वर्षपछि प्लेटोले जीवनको बारेमा दार्शनिक दृष्टिकोण प्रस्तुत गरेका थिए। भिन्न सांस्कृतिक र आध्यात्मिक परिप्रेक्ष्य भए पनि केही दृष्टिकोणमा समानता पाइन्छ। निस्वार्थ रूपमा कार्य गर, परिणाममा धेरै ध्यान नदेऊ भन्ने गीताको उपदेश सँगै मिल्दो जुल्दो, उता प्लेटो जीवन बुझ्नका लागि भौतिक सुख-सयलभन्दा माथि उठ्नुपर्ने तर्क गर्दछन्। दुवै दृष्टिकोणले आत्मज्ञानलाई प्राथमिकता दिए पनि, प्लेटोको दृष्टिकोण मुख्यतः तर्कमा केन्द्रित छ भने, गीताको दृष्टिकोण भक्ति र आध्यात्मिक मार्गमा आधारित छ। सुकरातले आत्म-ज्ञानलाई बुद्धिको प्रमुख तत्त्व मानेर आत्म-बोधको मार्ग देखाएका छन्। अरिस्टोटलले आत्मालाई शरीरसँग अविभाज्य मानेर मानव अस्तित्वलाई तर्कशीलताको आधारमा परिभाषित गरेका छन्। अरिस्टोटल भने पुनर्जन्मको धारणा अस्वीकार गर्छन्। अर्कोतर्फ, इमानुएल कान्टको विचार अनुसार, संसारको वास्तविकता हामीले देख्ने, महसुस गर्ने, र बुझ्ने सीमाभन्दा परको कुरा हो। हाम्रो ज्ञान मुख्यतः इन्द्रियहरूले ग्रहण गर्ने अनुभवमा निर्भर गर्दछ, किनकि हाम्रा विचारहरू इन्द्रियहरूको सीमाभित्र मात्रै रहन्छन्, त्यसैले हामी भौतिक संसारको गहिरो सत्यलाई पूर्ण रूपमा बुझ्न असमर्थ छौँ।
यो भौतिक संसार माया मात्र हो, जसले मानवलाई स्थायित्वको भ्रममा पार्छ भन्ने भगवद्-गीता को अवधारणा प्लेटोको “अलिगोरी अफ द केभ” सँग मेल खान्छ, जहाँ उनले मानिसहरू इन्द्रिय अनुभवलाई नै सत्य ठान्छन् भनेका छन्, जबकि वास्तविकता त्यसभन्दा पर छ। अरिस्टोटल भने प्लेटोको परिकल्पनालाई अस्वीकार गर्दै, ज्ञानको स्रोत अवलोकन र तर्क हुनुपर्छ भनी तर्क गर्छन्। कान्टले यसै प्रसङ्गमा सत्यको अनुभूति सीमित रहेको बताउँदै, हाम्रो ज्ञान इन्द्रियहरूको दायराभन्दा बाहिर जान नसक्ने धारणा प्रस्तुत गर्छन्। बुद्धको दृष्टिकोणअनुसार, दुःखको मुख्य कारण मानिसको “सबै कुरा स्थिर र अपरिवर्तनीय छन्” भन्ने भ्रम हो। वास्तवमा, संसार निरन्तर परिवर्तनशील छ, र जब हामी त्यसलाई बुझ्न असमर्थ हुन्छौँ, तब दुःख उत्पन्न हुन्छ। बुद्धले ध्यान, सचेतता, र इच्छाबाट मुक्तिलाई सत्यको मूल सूत्र ठानेका छन्।
भगवद्-गीताले आत्म-अनुशासन, ध्यान, र आशक्तिबाट मुक्तिलाई परम सत्यको मार्ग मानेको छ। त्यसै गरि सुकरातले आत्म-जिज्ञासालाई ज्ञानको आधार मान्दै, प्रश्न गर्ने बानीलाई सत्यको खोजीका लागि अनिवार्य ठानेका छन्। प्लेटोले तर्कसङ्गत विचारलाई प्राथमिकता दिँदै सत्य भौतिक संसारभन्दा पर रहेको बताएका छन्, जबकि अरिस्टोटलले अनुभवजन्य ज्ञान र तार्किक विश्लेषणलाई सत्यको खोजीको प्रमुख आधार मानेका छन्। अर्कोतर्फ, इमानुएल कान्टको विचार अनुसार, संसारको वास्तविकता हामीले देख्ने, महसुस गर्ने, र बुझ्ने सीमाभन्दा परको कुरा हो। हाम्रो ज्ञान मुख्यतः इन्द्रियहरूले गर्ने अनुभवमा निर्भर गर्दछ र हाम्रा विचारहरू इन्द्रियहरूको सीमाभित्र मात्रै रहन्छन्, त्यसैले हामी भौतिक संसारको गहिरो सत्यलाई पूर्ण रूपमा बुझ्न असमर्थ छौँ। तर, योगानन्द र खप्तड बाबाका अनुसार सत्य केवल बौद्धिक चिन्तनको विषय होइन; गहिरो ध्यानद्वारा प्रत्यक्ष अनुभूत गर्नु पर्ने रहस्य हो। बुद्धको दर्शन जीवनमा पीडा किन हुन्छ र त्यसबाट मुक्ति पाउने उपाय के हो भन्ने विषयमा केन्द्रित छ। उनका शिक्षाले करुणा र शान्तिको मार्ग देखाउँदै, मानसिक तथा आत्मिक मुक्तिको उपाय सुझाउँछन्। यता, प्लेटोले आत्मा जन्मनु अघि नै एक परिपूर्ण र सुन्दर संसारमा अस्तित्वमा रहेको थियो भनी तर्क गर्छन्। उनका अनुसार, जब आत्मा भौतिक शरीरमा प्रवेश गर्छ, त्यसले पहिले देखेका विचारहरूलाई सम्झन खोज्छ, तर, भौतिक संसारका सीमितता तथा भ्रमहरूका कारण ती विचारहरू स्पष्ट रूपमा सम्झन कठिन हुन्छ। अरिस्टोटल भने पुनर्जन्मको धारणा स्वीकार गर्दैनन्। यसरी, विभिन्न दार्शनिक तथा आध्यात्मिक परम्पराहरूले सत्यको खोजीलाई फरक कोणबाट व्याख्या गरेका छन्, तर तिनको सार चेतनाको उच्चतम अनुभूतिसँग अन्ततः जोडिन्छ।
हरेक व्यक्तिको जीवनको उद्देश्य फरक हुन सक्छ। कोही ज्ञानको खोजी गर्छन्, कोही सङ्गीतमा रमाउँछन्, कोही खेलकुदमा समर्पित हुन्छन्, त कोही धन र शक्ति प्राप्त गर्न अभिप्रेरित रहन्छन्। तर, जीवनमा कुनै पनि मार्ग रोजे पनि, सबैका लागि महत्त्वपूर्ण कुरा शुद्ध हृदय हो। सच्चा जीवन केवल बाह्य सफलता वा उपलब्धिमा सीमित हुँदैन; बरु, दया, करुणा, र सत्यको मार्ग अवलम्बन नै जीवनको उच्चतम मूल्य हो। जीवन एक अद्भुत यात्रा हो, जहाँ सुख र दुःख दुवै अपरिहार्य छन्। यदि हामी सकारात्मक सोचका साथ ज्ञानको मार्ग तर्फ अग्रसर हुन्छौँ भने, जीवनको गुह्य रहस्य क्रमशः उद्घाटन हुँदै जान्छ। जीवनको वास्तविक सार स्नेह, दया, करुणा, र सत्यमा निहित रही आत्म-बोध र गहिरो चिन्तनद्वारा जीवनलाई अझ राम्रोसँग बुझ्ने अभ्यास गरौँ।
विभिन्न दार्शनिक, सनातनी परम्परा, र योगीहरूको विचारमा भिन्नता भए तापनि, केही साझा धारणा छन्। सबैमा वास्तविकता सतही वा भौतिक दृष्टिकोणभन्दा गहिरो र व्यापक छ भन्ने कुरामा सहमति छ। अधिकांश चिन्तकहरू आत्म-ज्ञान जीवनको रहस्य बुझ्नका लागि अपरिहार्य छ भन्ने स्वीकार गर्छन्। यसै सन्दर्भमा, भगवद्-गीता, बुद्धका शिक्षा, र योगानन्द र खप्तड बाबाका उपदेशहरू आत्म-बोधमा केन्द्रित छन्, जसले जीवनको गहिरो अर्थ बुझ्न मद्दत पुर्याउँदछन्। अर्कोतर्फ, सुकरात, प्लेटो, र कान्ट जस्ता पश्चिमी दार्शनिकहरूले तर्कशील विचार र तात्त्विक विश्लेषण जीवनको सत्य खोज्न महत्त्वपूर्ण माध्यम हुन्। यद्यपि यी चिन्तकहरूको विधि फरक भए पनि सबैको साझा उद्देश्य भनेको जीवनको सत्यको खोजी नै हो। यस कारणले, जीवनको रहस्य बुझ्न दर्शन अध्ययन अत्यन्त आवश्यक छ। विशेष गरी, ग्रन्थहरू जस्तै भगवद्-गीता, वेद, र बुद्धका शिक्षामा गहिरो ज्ञान छ, जसले आत्म-चिन्तन, र जीवनको वास्तविक उद्देश्य बुझ्नमा मार्गदर्शन गर्दछन्। आत्मज्ञान र दार्शनिक चिन्तनले मानिसलाई गहिरो अस्तित्व र जीवनको सत्यतर्फ उन्मुख गराउँदछ र जीवनको साँचो अर्थ तब खुल्छ जब हामी आन्तरिक बोध र चिन्तनको मार्गमा अग्रसर हुन्छौ।