नेपाली विद्यार्थी कुट्ने दुई सुरक्षागार्ड केआईआईटी कलेजबाट बर्खास्त

ओडिसा : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कुटपिट गर्ने दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको छ ।
विश्वविद्यालयमा अध्ययनरत एक नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका नेपाली विद्यार्थीमाथि क्याम्पस प्रशासन र सुरक्षा कर्मचारीले दुर्व्यवहार र कुटपिट गरेका थिए ।
बी–टेक तेस्रो वर्षमा पढ्ने लम्साल आइतबार साँझ होस्टेलमा मृत भेटिएपछि नेपाली विद्यार्थीले अनुसन्धान र न्यायको माग गर्दा दमन भएको हो । मंगलबार विश्वविद्यालयले उक्त घटनाबारे फलोअप सूचना जारी गर्दै दुई जना सुरक्षा गार्डलाई बर्खास्त गरिएको जानकारी दिएको छ ।
त्यस्तै छात्रावासका दुई जना उच्च अधिकारी र एक जना प्रशासन अधिकृतलाई पनि घटनाको छानबिन नहुन्जेलसम्मका लागि निलम्बित गरिएको विश्वविद्यालयले जनाएको छ ।