सुदूरपश्चिममा संसदीय समितिका सभापतिले लिए शपथ ,भन्छन्-अब कामले गति पाउँछ

कैलाली । सुदूरपश्चिम प्रदेशका चार वटा संसदीय समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ज्येष्ठ सदस्यको भरमा रहेका यहाँका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति , अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र विशेषाधिकार समितिले आज सभापति पाएको हो । शनिवार सबै समितिमा एक एक जनाको मात्रै उम्मेदवारी परेको थियो ।चार वटै समितिमा चार जनाको मात्रै उम्मेदवारी परे पनि आइतबार मात्रै उनीहरु निर्वाचित भएको घोषणा गरिएको हो ।
सामाजिक विकास समितिमा नेकपा एमालेका धर्मराज पाठक, सार्वजनिक लेखा समितिमा माओवादीका अक्कल रावल, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिमा कांग्रसेकी तुलसी देवकोटालाई सोमबार सभामुख भीम भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
पुस ११ मा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । सत्ता गठबन्धनमा भएको भागबन्डा अनुसार दलहरूले आफ्ना उम्मेदवारलाई सम्बन्धित समितिमा उम्मेदवारी दिन लगाएका थिए ।
सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यसअघि नै निर्वाचन भएर सभापति चयन भइसकेको थियो, तर विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री अवसर आएर मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका थिए । विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन् ।
कामले गति पाउने दाबी
करिब एक वर्षपछि समितिले सभापति पाएपछि नव निर्वाचित समिति सभापतिहरूले अब समितिको कामले गति पाउने दाबी गरेका छन् ।
सामाजिक विकास समितिमा लामो समय सदस्य भएर काम गरिरहेको भन्दै अब सभापति भएर काम गर्दा अझै प्रभावकारी ढंगले काम हुने सभापति धर्मराज पाठक बताउँछन् । कानुन निर्माण गर्ने, आफ्नो क्षेत्राधिकार भित्र परेका विषयहरूमा देखिएका समस्याहरू हल गर्ने र निगरानी गर्ने आफ्नो पहिलो दाइत्व रहेको उनको भनाइ छ ।
‘कानुन निर्माण गर्ने, संसदीय निगरानी गर्ने र सरकारले गरेका कामको अनुगमन गर्ने हाम्रो दाइत्व हो ’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, भूमि सुधार जस्ता बिषयमा आवश्यक पर्ने नीति निर्माण गर्ने र सरकारले ती क्षेत्रमा गरिरहेका कामहरू प्रभावकारी भए नभएको विषयमा पहल गर्छु । ’
उनले विगतमा समितिले गरिरहेको काम अझै प्रभावकारी हुने र फलदायी हुने विश्वास व्यक्त गरे ।सार्वजनिक लेखा समितिको सभापति निर्वाचित भएका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अक्कल रावलले पनि आफूले पाएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताएका छन् । अघिल्लो कार्यकाल पनि सांसद रहेका रावल प्रदेश सरकारको मन्त्री समेत भइसकेका छन् । माओवादीका उपनेता रहेका रावलले अब प्रदेश सरकारले गरिरहेको आर्थिक पाटोमा बढि निगरानी गर्ने र सुशासन कायम गर्न भूमिका खेल्ने बताएका छन् ।
‘प्रदेश सरकारको बजेट र कार्यक्रमहरूको विषयमा निगरानी गर्ने, प्रदेश सरकारलाई ठिक ढंगले अगाडी बढाउन निगरानी गर्ने जिम्मेवारी छ । समस्याहरूलाई समाधान गर्ने, राम्रो कामको प्रोत्साहन गर्ने, कानुन विपरीत भइरहेको कामहरूलाई रोक्छौँ ’ उनले भने, ‘हाम्रो समितिमा सबै दलहरूको प्रतिनिधित्व छ । सुदूरपश्चिमको विकास निर्माणमा आएका समस्याहरू साझा ढंगले हल गर्ने छौँ ।’
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापति तुलसी देवकोटाले पनि आफ्नो क्षेत्राधिकार भित्रको काम प्रभावकारी ढंगले गर्ने जनाएका छन् ।