सुदूरपश्चिमको समुन्नतिको लागि वैदिक मोडेल

-प्रेम राज अवस्थी
समाजको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासलाई केवल भौतिक सेवा-सुविधासँग सीमित नराखी,आध्यात्मिक, मानसिक, नैतिक तथा पर्यावरणीय पक्षलाई समेत समेटी समाजलाई समृद्ध बनाउनु नै वास्तविक समुन्नति हो।
तर, आज सुदूरपश्चिमसहित समग्र नेपाल सामाजिक, आर्थिक लगायत जलवायु परिवर्तनका चुनौतीहरूको सामना गरिराखेको छ। समाज नत पूर्ण रूपमा आधुनिक सिद्धान्तमा पुनर्स्थापित हुन सकेको छ, न परम्परागत मूल्य-मान्यताहरूमा अडिग छ। यस्तो सङ्क्रमणकालीन अवस्थामा समुन्नतिका सिद्धान्तहरूलाई आत्मसात् गर्दै, पर्यावरणीय सन्तुलन, सांस्कृतिक जगेर्ना, र आर्थिक आत्मनिर्भरता सहितको भविष्यमुखी समाज निर्माण गर्न विकासको नाममा आफ्नो जरा भुलेर हैन धरातलीय यथार्थता लाई मनन गर्दै अगाडी बढ्नु पर्छ।
अहिले सम्मका अधिकांश बहस, परिवर्तन, र सामाजिक उथलपुथल मुख्यतः राजनीतिक प्रवृत्तिका रहे। गाउँदेखि सहर र टोलदेखि दुर्गम स्थानसम्म राजनीतिले नै प्रमुख स्थान पायो। तर अब, समग्र समाजको ध्यान आर्थिक-सामाजिक विकासतर्फ आकर्षित गर्न ढिला गर्नु हुँदैन। अबको बाटो समृद्धिको हो भन्नेमा दुई मत छैन, समुन्नतिको लागी के गर्नुपर्छ भन्नेबारे केही हदसम्म स्पष्टता भए पनि, कसरी गर्ने भन्नेबारे साझा धारणा बन्न सकेको छैन। आर्थिक- सामाजिक समुन्नतिको लागि कुन दर्शन र दृष्टिकोणलाई अनुसरण गर्ने भन्नेमा एक किसिमको अलमल छ।
नेपालमा गफ बढी र काम कम हुन्छ भन्ने आम गुनासो छ। तर, यदि गफलाई सही दिशा र गहिराइमा बढाउन सकियो भने पनि गफले समृद्ध भविष्यको आधारशिलाको काम गर्न सक्छ।
गाउँहरू धमाधम रित्तिँदै छन्। अव्यवस्थित र असन्तुलित सहरीकरणले जनजीवन कष्टकर मात्र होइन, रोग र असन्तुष्टि पनि बढाइरहेको छ। जथाभाबी प्राकृतिक स्रोतसाधनको दोहनले वातावरणीय सङ्कट निम्त्याइरहेको छ र जलवायु परिवर्तनका प्रभाव बढ्दो गति मा छ। यी कारणहरूले पनी हुन सक्छ ,तुलनात्मक आर्थिक-सामाजिक रूपान्तरण का बाबजुद पनि असन्तुष्टि झन् बढेको छ। विगतका केही दशक अघि सम्म जन- जीवन निकै कठिन थियो। नुन-तेल जोहो गर्न महिनौँ पैदल हिँड्नुपर्थ्यो, अधिकांश मानिस नाङ्गै खुट्टा हुन्थे, स्वास्थ्य सेवा र शिक्षाको पहुँच सीमित थियो। तर, आज धेरै कुराहरू परिवर्तन भए तापनि मानिसहरूमा खुसी हुन सकेका छैनन् ।
विगत केही दशक यता विकासको नाममा समाजले धेरै कुरा नक्कल गरेको गुनासो सुनिन्छ। हामी हाम्रो संस्कृति, परम्परा, र दर्शनको गौरव कुरामा मात्र सीमित भयो। हाम्रो भनाई, गराई र सोचाई सामञ्जस्ययता हुन् सकेको छैन र बजार मा बेतालमा बजेको बाजामा उफ्रिराखेका छौ। उदाहरणका लागि, परम्परागत, प्राङगारिक जैविक कृषि छाडेर रासायनिक मल सहित विषादी आदिको प्रयोग व्यापक बनाइयो। स्थानीय अन्न उत्पादनलाई हेला गर्दै, आयातित र कम पौष्टिकतायुक्त खाद्य पदार्थहरू सर्वसुलभ बनाइए। जमिनको वर्गीकरणअनुसार पहिले घरबारी भूमिमा मात्र आवासीय प्रयोजनका लागि उपयोग गरिन्थ्यो, तर अहिलेको सिम, खल्ला वा डोल जमिन मा पनि बस्ती विस्तार भइरहेको छ। यस्तो अस्तव्यस्तताले वातावरणीय असन्तुलन, स्वास्थ्य समस्या, मानसिक असन्तुष्टि, र सामाजिक विचलन निम्त्याएको छ।
पछिल्ला वर्षहरू मा जैविक कृषि र प्राकृतिक जीवनशैली प्रवर्द्धन गर्ने प्रयासहरू केही हद सम्म अगाडि आइराखेका छन्। तर, ठोस रूपमा वैकल्पिक विकास मोडेल बारे बहस हुन सकेको छैन। यही परिपक्ष्यमा हाम्रो उन्नतिको मोडेलबारे गहन चिन्तन आवश्यक छ।
आर्थिक- सामाजिक विकासलाई कुल गार्हस्थ्य उत्पादन जस्ता सूचक लाई मात्र जोड नदिई प्रकृति र संस्कृति सँगको सह-अस्तित्व सहित समावेशी, दिगो, र स्थानीय आवश्यकतासँग उन्नति जोड्नु पर्छ। समृद्धि लाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी सांस्कृतिक, पर्यावरण र आध्यात्मिकता लाई प्राथमिकता दिनु पर्छ। वैदिक ज्ञानको दर्शनलाई आधुनिक विकास मोडेलसँग समाहित गर्दै अघि बढ्ने बाटो हामीले खोज्न आवश्यक छ। वेदमा ब्रह्माण्ड, जीवन, धर्म (कर्म), दर्शन, सम्बन्धी समग्र ज्ञान समेटिएको छ, जसलाई आर्थिक-सामाजिक उन्नतिको मार्ग निर्देशनका रूपमा लिन सकिन्छ। वैदिक विकास मोडेलले परम्परागत ज्ञानलाई आधुनिक आर्थिक तथा वातावरण संरक्षण सँग जोडेर दिगो विकासको आधार खडा गर्न सक्छ।
विशेष गरी, प्राकृतिक र सांस्कृतिक सम्पदाको जगेर्ना, वातावरणीय सन्तुलन, जैविक कृषि, आयुर्वेदमा आधारित जन-स्वास्थ्य र आध्यात्मिक पर्यटन लाई वैदिक मोडेलका महत्त्वपूर्ण आधारहरू मान्न सकिन्छ। वैदिक दृष्टिकोण अनुसार, प्रकृति, अर्थतन्त्र, र मानवीयता बिच सन्तुलन कायम गर्दै आत्मनिर्भर समाजको परिकल्पना गर्न सकिन्छ। ऋग्वेदले प्रकृति संरक्षण, जल व्यवस्थापन, जैविक कृषि, तथा समाजमा समानताको महत्त्व दर्साएको छ, जसलाई आधुनिक विकास दृष्टिकोणसँग समाहित गर्न सकिन्छ।
सुदूरपश्चिम सांस्कृतिक, ऐतिहासिक, र पर्यावरणीय महत्त्व बोकेको प्रदेश हो। यसको भूगोल उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र, पूर्वमा कर्णाली र लुम्बिनी प्रदेश, तथा पश्चिम र दक्षिणमा भारतको उत्तराखण्ड र उत्तर प्रदेशसँग जोडिएको छ। १९,५३९ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने यस प्रदेशले नेपालको कुल क्षेत्रफलको करिब १३.२२ प्रतिशत हिस्सा ओगट्छ। यस प्रदेशलाई वैदिक विकास मोडेलअनुसार समृद्ध बनाउनका लागि जन-जीविका, कृषि, पर्यटन, शिक्षा, र सांस्कृतिक पुनरुत्थानमा ध्यान दिन आवश्यक छ। दृढ राजनीतिक इच्छाशक्ति सहित हाम्रो आफ्नै प्रकृति मा भएको स्रोत साधन र परम्परागत ज्ञान को उपयोग गरी केही वर्ष भित्रै सुदूरपश्चिम एक उन्नत प्रदेश बनाउन सकिन्छ।
समाज को जग नै शिक्षा हो। जग बलियो बनाउन वेदले सुझाएको नैतिकता, आध्यात्मिकता, र व्यवहारिक ज्ञानलाई आधुनिक शिक्षा प्रणालीसँग एकीकृत गरी व्यक्तित्व विकासलाई प्राथमिकता दिने हो भने शिक्षामा मौलिक किसिम को सुधार गर्न सकिन्छ। जीवन-उपयोगी सीप, संस्कार, र वातावरणमैत्री सोचलाई पाठ्यक्रममा समावेश गर्नु पर्दछ। साथै विद्यमान शैक्षिक संरचनालाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल कक्षाकोठा, पुस्तकालय, र सीप विकास ल्याबहरूको स्थापना आवश्यक छ।
दशक अघि विद्यालय स्तरमा ‘पूर्व-व्यावसायिक शिक्षा’ भनेर वर्षमा एक दिन ‘मालपुवा’ पकाएर व्यावसायिक पाठ पढाएको जस्तो तरिका ले कुनै नतिजा दिँदैन। त्यसैले, शिक्षा लाई केवल सैद्धान्तिक ज्ञान मा मात्र सीमित नराखी, विद्यार्थीलाई आत्मनिर्भर र व्यावहारिक रूपमा सक्षम बनाउने र जीवन जिउने कला समावेश गर्नु पर्छ।
जैविक कृषि प्रवर्द्धन गर्न रासायनिक मलको प्रयोग लाई निरुत्साहित गरी आत्मनिर्भर ग्रामीण अर्थतन्त्रको आधार तयार गर्ने नीति अवलम्बन गर्नुपर्छ। जैविक कृषि प्रवर्द्धन गर्न किसानहरूलाई आवश्यक स्रोत र तालिम प्रदान गर्दै वैदिक कृषि पद्धतिहरूलाई समाहित गर्न सकिन्छ। स्थानीय उत्पादनहरूको मूल्यशृंखला वृद्धि गर्न र बजारमा स्वस्थ खानेकुराको सुनिश्चितता गर्न घरेलु उद्योगका उत्पादन जस्तै जाम, अचार, जडीबुटी, तथा अन्य स्वास्थ्यकर खानाकाको बजार प्रवर्द्धन आवश्यक छ। यस्ता उत्पादनहरूलाई वैदिक कृषिको सिद्धान्तअनुसार प्राकृतिक र जैविक पद्धतिबाट उत्पादन गर्न सकिन्छ।
वातावरणीय संरक्षणका लागि जलाधार संरक्षण, सिँचाइ व्यवस्थापन, तथा विपद् जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्न महत्त्वपूर्ण छ। ऋग्वेदले जल व्यवस्थापन र प्रकृति संरक्षणलाई उच्च प्राथमिकता दिएको छ, जुन आजको समयका लागि अत्यन्त सान्दर्भिक छ। ऋग्वेदले पृथ्वीलाई माता समान मानेर संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको छ। धार्मिक तथा पर्यटकीय महत्वका महाकाली, सेती, तथा कर्णाली नदीहरूलाई प्रदूषणमुक्त राख्दै जल व्यवस्थापन प्रणालीलाई सुधार गर्न आवश्यक छ।
सुदूरपश्चिमको जैविक विविधता, प्राकृतिक स्रोतसाधन, र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै यसलाई जैविक, साहसिक, धार्मिक, र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। डोटेली र थारु संस्कृति, पर्वहरू, तथा परम्परागत परिकारहरूको थप प्रचार र प्रवर्द्धनले अर्थतन्त्र मा योगदान गर्न सक्छ। साथै, स्थानीय हस्तकला, परम्परागत सङ्गीत, र नृत्यले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सक्छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड, रामारोशन, बडीमालिका, अपि नम्पा संरक्षण क्षेत्र, तथा महाकाली नदी आसपासका पर्यटकीय गन्तव्यहरूको समुचित व्यवस्थापनले पर्यटन क्षेत्रलाई हुन सक्छ।
अन्तमा, सुदूरपश्चिमको समृद्धि र विकासको लागि वेदमा आधारित वैदिक मोडेललाई अवलम्बन गर्दै एकीकृत विकास लाई अगाडी बढाउँदा प्रदेश को मौलिकता मा टेवा पुग्नु का साथै गौरव पनि उकास्न सकिन्छ। वैदिक दर्शन सहित परम्परागत ज्ञान र आधुनिक विकासका सिद्धान्तहरूलाई समेट्दै दिगो विकासको प्रवर्द्धन गर्न सकिन्छ। विशेष गरी जैविक कृषि, वातावरणीय संरक्षण, संस्कृति र पर्यटनको प्रवर्द्धनमा वैदिक दृष्टिकोणले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ। यसरी, सुदूरपश्चिमको विकासमा वैदिक ज्ञान र आध्यात्मिक परम्परालाई सहित समृद्ध भविष्य निर्माण गर्न तिर लाग्दा सुदूरपश्चिमलाई लाई मात्र नभई, नेपालको समग्र आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुग्न सक्छ।
( प्रेम राज अवस्थी, संयुक्त राष्ट्र संघमा कार्यरत छन्। यी उनका निजी विचार हुन् )