बुवाको लाश आँगनमा, डा.पन्त बिरामीको आँखाको शल्यक्रियामा व्यस्त

७ माघ २०८१ ९:५३
बुवाको लाश आँगनमा, डा.पन्त बिरामीको आँखाको शल्यक्रियामा व्यस्त

धनगढी, ७ माघ ।
एउटा छोराका लागि पितृ र मातृ शोकभन्दा ठूलो अर्को पीडा हुदैन । तर बरिष्ठ नेत्र चिकित्सक डा. विद्या प्रसाद पन्तले त्यो शोककाबीच पनि चिकित्सक हुनुको धर्म निर्बाह गरिरहे । यता धनगढीमा बुवाको लाश घरको आँगनमा थियो । उता म्यानमारको टाउँजीमा डा. पन्त बिरामीको आँखाको शल्यक्रिया गरिरहेका थिए ।

बुवाको मृत्यु भएको खवर उनले नपाएका होईनन । तर उनले त्यो समयको सदुपयोग गर्दै बिरामीको आँखाको शल्यक्रिया गरे, जुन समय उनी जीवनकै सबैभन्दा पीडा र छटपटीमा थिए । बुवाको क्रियाकर्म सकेर नेपालबाट फर्किदासम्म उनीहरु त अध्याँरोमै रहनेछन्, उनलाई लाग्यो, जहाज उड्ने समय नहुदासम्म किन खाली बस्नु ?

डा. पन्तको जीवनको अधिकांश समय आँखाको शिविर र बिरामीको आँखाको अप्रेशनका क्रममा थियटरमै बितेको छ । त्यो खवर सुनेर तव सबै चकित परे, जव डा. पन्त बुवाको मृत्यु भएको खवर सुनेर पनि बिरामीको आँखा खोल्न अप्रेशनमा व्यस्त थिए । उनलाई अस्पतालमा सान्त्वना दिन भीड जम्मा हुदा उनी भने बिरामीको आँखाको अप्रेशन गरिरहेका थिए ।

२०८० साउन ८ गते बुवा चुडामणी पन्तको धनगढीमा मृत्यु हुदा बरिष्ठ नेत्र बिशेषज्ञ डा. पन्त म्यानमारको टाउँजीमा थिए ।

झण्डै एक दशकदेखि म्यानमारमा आँखा अस्पतालको व्यवस्थापनसंगै बिरामीको आँखाको शल्यक्रिया गर्दै आएका डा. पन्त धनगढीबाट दुई दिनअघि मात्र म्यानमार फर्किएका थिए । आईसियुमा बुवाको उपचार भईरहेको जानकारी पाएपछि धनगढी आएका डा. पन्त बुवाको अवस्था सामान्य भएपछि पुनः म्यानमार फर्किएका थिए ।

दुई दिन नबित्दै बिहानै बुवाको मृत्यु भएको खवर सुनेपछि उनले म्यानमारबाट नेपाल आउने फ्लाईटको सोधीखोजी शुरु गरे । टाउजीबाट राजधानी यांगुनका लागि एउटा मात्र फ्लाईट थियो, साँझ पाँच बजे । सडक मार्ग भएर यांगुन पुग्न संभव थिएन ।

उनले साँझको फ्लाईटको टिकट बुक गरे । अस्पतालमा त्यो दिन आँखाको शल्यक्रियाका लागि करीव ५० जनाको नाम दर्ता भएको थियो । र, अस्पतालमा अप्रेशनका लागि पुगिसकेका बिरामीलाई चिकित्सकको बुवाको निधन भएको भन्दै घर फिर्ता पठाईदै थियो ।

बुवाको लाश घरको आँगनमा थियो । एक्लो छोरा डा. विद्या टाउँजीको अस्पतालमा बिलखबन्दमा थिए । एकै पटक साँझ मात्र यांगुनका लागि फ्लाईट भएकोले उनीसंग दिनभरी जहाजको समय कुर्नुभन्दा अर्को बिकल्प थिएन ।

उनले अस्पतालबाट अप्रेशन नभएर घर फर्किदै गरेका बिरामी देखे । कति समय पछि उनीहरुको पालो आएको थियो । त्यही पालोमा अप्रेशन नभएपछि फेरि कहिले अप्रेशन हुन्छ, ठेगान थिएन ।

बिरामीलाई घर पठाएर दिनभरी खाली बस्न उनको मनले मानेन । कति समयपछि आएको पालोमा अप्रेशन नहुदा निराश भएर फर्किरहेका बिरामीहरुको अनुहार देखेर उनले आफ्नो पीडालाई थाँती राखे । र, उनले निधो गरे, जहाज उड्ने समय नहुदासम्म जति सक्यो अप्रेशन गर्छु । । उनले बिरामीलाई घर नपठाउन र शल्यक्रियाका लागि तयारी अवस्थामा राख्न अस्पताल प्रशासनलाई भने । र, उनी बिरामीहरुको आँखाको अप्रेशन गर्न थाले । बिमानस्थल जानु अघि डा. पन्तले अस्पतालमा रहेका ४१ जना बिरामीको शल्यक्रिया गर्न भ्याए ।

बुवाको मृत्युको पिडा र छटपटीका बीच पनि उनले डाक्टरको धर्म निर्बाह गरे । र, पितृ शोकका बीच सबै बिरामीहरुको आँखाको शल्यक्रिया गरे ।

अस्पतालमा पालो कुरेर बसेका सम्पूर्ण बिरामीको आँखाको शल्यक्रिया सकेर डा। पन्त साँझको फ्लाईटबाट टाँउजी हुदै यांगुन पुगे । र, त्यहाँबाट दोस्रो दिन दिल्ली उडे । र, यांगुनबाट राति दिल्ली पुगेका डा। पन्त गाडीमा रातारात बनबासा पुगे । बुवाको मृत्यु भएको तेस्रो दिन साउन १० गते उनी धनगढी पुगे । उनी नआउदासम्म बुवाको शव घरको आँगनमा राखिएको थियो । उनी आएपछि तेस्रो दिन महाकाली नदीमा उनको बुवाको दाहसंस्कार गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस