अमेरिकी ‘पीस कोर’ ह्याच दम्पत्तीको डोटी प्रेम

९ पुष २०८१ २:०७
अमेरिकी ‘पीस कोर’ ह्याच दम्पत्तीको डोटी प्रेम

सन १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ कनेडीले ‘पीस कोर’ स्थापना गरे । संयुक्त राज्य अमेरिका र नेपाल सरकारबीचमा भएको द्धिपक्षीय सम्झौतापछि त्यही वर्षदेखि नेपालमा ‘पीस कोर’ आउन थाले । पहिलो वर्ष ७७ जना ‘पीस कोर’ नेपाल आए । र, बिभिन्न जिल्लामा गएर उनीहरुले स्वयमसेवा गरे । त्यसको चार वर्षपछि १९६६ मा आठ जना ‘पीस कोर’ नेपाल आए । ती मध्ये न्यान्सी ह्याच र डअ ह्याचले डोटी रोजे । र, पुगे सिलगढी । भर्खरै अध्ययन सकेर स्वयमसेवकका रुपमा नेपाल आएका ती अमेरिकन युवा दम्पत्तीले काठमाण्डौं भन्दा धेरै टाढा रहेको सिलगढीस्थित पदम पब्लिक बहुउद्देश्यीय हाईस्कुललाई आफ्नो कार्यक्षेत्र बनाए । जहाँ उनले आफ्नो जीवनका महत्वपूर्ण दुई वर्ष बिताए ।

त्यतिबेला धनगढी–डोटी जोड्ने सडक बनिसकेको थिएन । डोटीबाट धनगढी पुग्न कम्तिमा सात दिन लाग्थ्यो । सिलगढीबाट एकदिनमा कफल्लेकी वा नापानी । दोस्रो दिन मडे ओडार । महाभारतको लेक अन्तर्गत पर्ने त्यो ओडारमा मुर्दा ल्याउदा बास बस्ने हुनाले त्यसको नाम मडे ओडार राखिएको थियो । त्यहाँबाट चौथौ दिन खलबस्ता, गडसेरा । र, पाँचौ दिन जोरायल । छैठौ दिन खसरेको ओरालो । जो भासु नजिकै पथ्र्यो । सातौ दिन मछेलीको ओरोलो हुदै कोल्मुडा । आठौ दिन मालाखेती । र, साँझ खाना खाएर लडियामा रातभरी जंगलै जंगलको बाटो भएर बिहान ११ बजे धनगढी पुगिन्थ्यो ।

यो बाटो कसैले सात दिनमा पार गर्थे । कसैले आठ दिनमा । हिड्न नसक्नेले यही बाटोमा नौ दिन पनि लगाउथे । न्यान्सी र उनका श्रीमान डअ यही बाटो भएर सात दिनमा डोटीको सिलगढी पुगेका थिए ।

विद्यालयलाई त्यतिबेला दुई तहमा बिभाजन गरिएको थियो । एक देखि पाँच कक्षासम्मको पढाई प्राथमिक विद्यालय र छ देखि १० कक्षासम्मको पढाई हाईस्कुलमा हुन्थ्यो । सिलगढीमा भने छात्राहरुका लागि छुट्टै गल्र्स मिडिल स्कुल पनि थियो । जहाँ ६ कक्षादेखि ८ कक्षासम्म छात्राहरुको पढाई हुन्थ्यो । दिउसो काम गर्नु पर्ने भएकोले उनीहरुको पढाई विहान हुन्थ्यो । शारदा प्राथमिक विद्यालयमा सञ्चालित गल्र्स मिडिल स्कुल पछि बन्द भयो । त्यसबाहेक सिलगढीमा सिद्धी प्राथमिक विद्यालय र शैलेश्वरी प्राथमिक विद्यालय र भाषा पाठशाला पनि पढाई हुन्थ्यो ।

न्यान्सी र डअले पद्म पब्लिक बहुउद्देश्यीय हाईस्कुलमा दुई वर्ष पढाए । ह्याच दम्पत्तीले अंग्रेजी मात्र पढाएनन । उनीहरु बौद्धिक विकाससंगै शारिरिक विकासमा पनि उत्तिकै जोड दिन्थे । पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल हुनुपर्छ भन्ने उनीहरुको सोच थियो ।

ह्याच दम्पत्ती रानी पौवामा बस्थे । विद्यालयको समयमा पढाउथे । मध्यान्तर र विदाको समयमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउँथे । उनी आफू पनि भलिबल खेल्थे । अरुलाई पनि खेलाउँथे ।

पहिले पद्म पब्लिक हाईस्कुल भनेर चिनिथ्यो । पाठ्यक्रममा कृषि, औद्यागिक शिक्षा, होम साईन्स र सेक्रेटेरियल साईन्स गरी चार वटा विषय थप भएपछि पदम पब्लिक बहुउद्देश्यीय हाईस्कुल भनेर लेखिन थालियो । त्यतिबेला प्रत्येक कक्षामा दुई वटा सेक्सन हुन्थे । विद्याथी संख्या चार सय भन्दा बढि हुन्थ्यो ।

बीएस्सी गरेर आएको शिक्षकलाई बिएस्सी मास्टर भनिन्थ्यो । उसको योग्यता जोडेर उसको पहिचान बन्थ्यो । राम्रो लेख्ने विद्यार्थीलाई नम्बर दिन शिक्षकहरु निकै कञ्जुस्याई गर्थे । एक जना शिक्षकले भनेको कुरा मुकेश श्रेष्ठ अहिले पनि सम्झिन्छन्, मैले त्यति नम्बर पाएको छैन । तिमीलाई कसरी दिनु ।

३३ अंक ल्याउने पास हुन्थ्यो । शिक्षकले अधिकांशलाई नम्बर ३३ दिन्थे । ४० वा त्यो भन्दा बढि पाउने त अपवाद हुन्थे । राम्रै विद्यार्थीलाई पनि धेरै अंक दिदा शिक्षकहरु गुन लगाएको ठान्थे ।

मुकेश श्रेष्ठले अंग्रेजीमा ७६ अंक पाए । त्यो नै सबैभन्दा बढि नम्बर थियो । उनी अहिले पनि त्यो सम्झेर दंग पर्छन । भन्छन्, विद्यार्थीभित्र आत्मविश्वास कसरी भर्न सकिन्छ, त्यो गुण न्यान्सीमा थियो । न्यान्सीले नै विद्यार्थीहरुलाई उनीहरुको पढाई र लेखाईमा जहिले प्रोत्साहन गरिन । र संगै अतिरिक्त क्रियाकलापमा पनि ।

एसलएसलीमा डोटीको रेकर्ड

त्यतिबेला अछाम, बझाङ, बाजुरा र डोटीको एलएलसीको केन्द्र सिलगढी थियो । एसएलसीको परीक्षाका लागि काठमाण्डौंबाट सुपरीटेण्डेण्ट सिलगढी जान्थे ।

२०२६ सालमा चार जिल्लाका डेढ सयभन्दा बढि एसएलसीको परीक्षामा सहभागी भएका थिए । उत्तीर्ण पाँच जना मात्र भए । त्यो पनि तृतीय श्रेणीमा । उत्तीर्ण हुने बीमा श्रेष्ठ, ओमराज श्रेष्ठ, चन्द्र प्रसाद जोशी, मुकेश श्रेष्ठ र सुबर्णमान श्रेष्ठ सहित पाँचै जना पदम पब्लिक बहुउद्देश्यीय हाईस्कुलका विद्यार्थी थिए ।

अमेरिकी राजदुत क्यारोल सी लेसको डोटी भ्रमण

सन १९६७ अर्थात आज भन्दा ५७ वर्षअघि तत्कालिन अमेरिकी राजदूत क्यारोल सी लेस डोटी पुग्ने हल्ला डढेलो झै फैलियो । राजदुत आउने दिन सिलगढीबाट हुलका हुल मान्छेहरु कृषि अनुसन्धान केन्द्र भागेतडा पुगे । राजदुत चढेको सानो जहाज भागेतडामा अवतरण भयो ।

बडाहाकिम हेम बहादुर कार्की र स्थानीयले त्यहाँ राजदुतको भव्य स्वागत गरे । त्यतिबेला सवारीको साधन घोडा थियो । त्यो पनि केही सिमित व्यक्तिसंग मात्र । कृषि अनुसन्धान केन्द्रको पनि घोडा थियो । त्यही घोडामा चढेर राजदूत क्यारोल सिलगढी पुगिन । सिलगढीमा उनको भव्य स्वागत भयो । अनुहार नै ढाकिने गरी स्थानीयले माला लगाई दिए । राजदूत स्थानीयको स्वागतबाट अत्यन्त खुशी भईन । पदम पब्लिक स्कुलमा राजदूतले आफ्ना कुरा राखिन । डोटीको शैक्षिक तथा भौतिक विकासमा अमेरिकाले गर्दै आएको सहयोगलाई बृद्धि गर्ने राजदुत क्यारोलले प्रतिबद्धता जनाईन ।

नेपाली झण्डा हातमा लिएर विद्यार्थीहरुले राजदूतको स्वागत गरेका थिए, त्यही लाईनमा थिए, मुकेश श्रेष्ठ पनि । भन्छन्, राजदूतको टेबलमा अमेरिका र नेपालको झण्डा राखिएको थियो । र, विद्यार्थीहरुका हातमा नेपालको झण्डा । उनी नेपालमा अमेरिकी राजदूतावास स्थापना भएपछि कार्यभार सम्हाल्ले पहिलो राजदूत थिईन ।

नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापित भएपछि ३ मे १९४८ मा भारतको दिल्लीमा नेपालका लागि अमेरिकी दूतावास स्थापना भएको थियो । ६ अगष्ट १९५९ मा नेपालमा अमेरिकी दूतावास स्थापना भयो । सात वटा राजदूतले भारतको दिल्लीबाटै काम गरेका थिए । यो नै क्यारोलको डोटी पहिलो भ्रमण थियो ।

डोटीको शिक्षा क्षेत्रमा ह्याच दम्पत्तीको योगदान

डोटीको शैक्षिक विकासमा ह्याच दम्पत्तीले पु¥याएको योगदान अतुलनीय रहेको उनका विद्यार्थीहरु बताउछन् । ह्याच दम्पत्तीले कितावी ज्ञान वा अंग्रेजी मात्र सिकाएनन । जीवन जिउने कला सिकाए । खेल चिनाए । खेल्ने बिधि सिकाए । र, बाँच्नका लागि आवश्यक व्यवहारिक ज्ञान र शिक्षा पनि    दिए ।

खेलमा समेत अत्यन्त रुचि राख्ने न्यान्सीले काठमाण्डौंमा पनि भित्रिई नसकेको खेलहरु डोटीमा भित्र्याएकी थिईन । बास्केटबल । क्रिकेट । बेसबल । उनलै डोटीमा भित्र्याएकी हुन् । त्यतिबेला यी खेलमा काठमाण्डौंमा पनि खेलिन्थेनन, सिद्धी गणेश श्रेष्ठले भन्छन्, २०२७ सालमा एलएसली दिएर उच्च शिक्षाका लागि काठमाण्डौं पुगेपछि त्यसको महशुस भयो ।

पढाईका साथै अतिरिक्त क्रियाकलापमा जुन किसिमको एक्सपोजर गर्नुभयो त्यस्ले सिलगढीबाट उत्पादित विद्यार्थीहरु जहाँ गएपनि पढाईका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल भए, न्यान्सीका विद्यार्थी सिद्धि गणेश श्रेष्ठ सम्झिन्छन्, बौद्धिक र शारिरिक विकास संगसंगै लैजानुपर्छ भन्ने न्यान्सीको सोच कति दुरदर्शी थियो । अहिले त्यसको महत्व थाह भयो ।

कृषि मन्त्रालय लामो समय सेवा गरेर सहसचिवबाट अबकाश पाएका ६३ वर्षीय सिद्धी गणेश र कृषि विकास बैंकको बिभागीय प्रमुखबाट अवकाश पाएका मुकेश श्रेष्ठ डोटीको शैक्षिक विकासमा र खासगरी अंग्रेजीको जग बसालेर डोटीका विद्यार्थीलाई अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुको श्रेय न्यान्सी र उनका पति डअलाई दिन्छन् ।

कृषिमा मास्टर्स गर्न गएका बेला सिद्धि गणेशले थाह पाए कि, विकसित फिलिपिन्समा त्यो प्रबिधि भित्रिएको थिएन । जुन न्यान्सीले डोटीमा सिकाएकी थिईन ।

पदम पब्लिकबाट एसएलसी पास भएपछि काठमाण्डौं गएका सिद्धी गणेश काठमाण्डौबाट आईएस्सी पुरा गरेपछि कृषिमा स्नातक गर्न भारत गए । त्यहाँबाट १९७८ मा बीएस्सी एजी गरेपछि कृषिमै मास्टर्स गर्न छि फिलिपन्समा गएका थिए ।

शिक्षा के हो ? शिक्षा भनेको बुक मात्र होईन । अंग्रेजी के हो ? अंग्रेजीको महत्व र शिक्षासंगै अतिरिक्त क्रियाकलापको महत्व हामीले न्यान्सीबाट सिक्यौ, सिद्धी गणेश भन्छन्, अहिले मण्टेश्वरी र प्रि पाईमरी स्कुलमा देखिने प्रयोगात्मक शिक्षा ५८ वर्षअघि न्यान्सीले डोटीमा अभ्यास गरेकी थिईन । जो अहिले नेपालमा लागु भएको छ ।

नेपाली काँग्रेस डोटीका नेता  भरत खड्का डोटीको शैक्षिक विकासमा अमेरिकन पीस कोर भोलेन्टेरको योगदान उल्लेख्य रहेको सुनाउछन् । त्यतिबेला दुई किसिमका पीस कोर भोलेन्टेर हुन्थे । पहिलो, विद्यालयमा पढाउने । दोस्रो, विकासका आयोजनाका बारेमा सिकाउने । तथा त्यसको प्राबिधिक ज्ञान दिने । प्राबिधिक ज्ञान दिने पीस कोर भोलेन्टेरहरु जिल्ला पञ्चायत अन्तर्गत काम  गर्थे ।

खड्काका अनुसार डोटीमा त्यतिबेला चार जना पीस कोर भोलेन्टेर थिए । न्यान्सी र डअ पदम पब्लिकमा पढाउथे । जर्ज र म्याट जिल्ला पञ्चायतका योजनाहरुमा सहयोग गर्थे ।

अमेरिकन पीस कोर भोलेन्टेर म्याट केही समय फुलौट गाउँमा समेत बसेका थिए । उनी कतिसम्म सरल र सहज थिए भने गाउँमा जे पाक्थ्यो, त्यो निसंकोच खान्थे ।

डोटीमा २० को दशकदेखि २०३६ सालसम्म अमेरिकन पीस कोर भोलेन्टेरहरुले स्वयमसेवा गरेका थिए । उनीहरुको सम्पूर्ण खर्च अमेरिकी सरकारले व्यहोथ्र्यो ।

डोटीबाट फर्केको ५६ वर्षपछि पनि न्यान्सी र डअले डोटीलाई बिर्सेका छैनन । जीवनको उत्तरार्धमा पनि ह्याच दम्पत्तीको डोटी प्रतिको माया उस्तै छ । उनीहरु डोटीमा बिताएका पल पल याद गरिरहन्छन् । र, ती यादहरुलाई सामाजिक सञ्जालमा पोखिरहन्छन । उनीहरुले पछिल्लो समय आफ्नो डोटी बसाईका क्रममा खिचेका तस्वीरहरु सार्वजनिक गरेका छन् ।

५८ वर्ष अघि नेपाल आएका आठ जना पीस कोर भोलेन्टर यतिबेला जीवनको उत्तरार्धमा छन् । नेपालमा बिताएका जीवनका महत्वपूर्ण दुई वर्ष र त्यो अबधिमा संगालेका अनुभवहरु उनीहरु एक आपसमा अहिले पनि बाडिरहन्छन । कोरोनाको कहरले पनि यादहरु साट्ने त्यो प्रकृयालाई रोक्न सकेन । उनीहरुका बीचमा त्यो अबधिमा पनि हरेक बुधवार भर्चुअल मिटिङ भईरह्यो ।

डोटीमा बिताएका दुई वर्ष न्यान्सी र उनका पति डाअ सम्झिरहन्छ । जव डोटीको यादले चिमोट्छ, ह्याच दम्पत्तीलाई । तव पल्टाउन्छन, अतितमा कैद गरेका तस्वीरहरुको एल्बम । ती एल्बमहरुमा कैद छन्, ५८ वर्षअघिको डोटीका तस्वीरहरु । जसरी न्यान्सी र ह्याचले ५८ वर्षपछि पनि डोटीलाई ‘मिस’ गरिरहेका छन् ।

त्यसैगरी ५८वर्षअघि ह्याच दम्पत्तीले डोटीको शैक्षिक विकासमा पु¥याएको अतुलनीय योगदान सम्झिदै उनका पूर्व विद्यार्थीहरु भन्छन्, न्यान्सी तिमी र तिमीले लगाएको गुन हामी कसरी बिर्सिन सक्छौ । तिमी र तिम्रा पति डाअलाई धन्यवाद । तिम्रो योगदान त डोटीको पुस्तौ पुस्ताले सम्झिरहने छन् ।

डोटी त ह्याच दम्पत्तीको सम्झनामा अझै ताजा छ, अमेरिकामा रहेका धनगढीका हरी जोशी भन्छन्, डोटी फेरियो कि उस्तै छ ? ह्याच दम्पत्ती सोधिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस