‘आँखाले देखेको बिर्सिन नसकिने दरवार हत्याकाण्ड’

राजा वीरेन्द्रको सुरक्षाका लागि म दरवारमा खटिएको थिए । आफ्नो ड्युटी सकिएपछि क्वार्टरमा फर्किन्थे । सधै झैं २०५८ जेठ १९ गते साँझ ५ बजे म ड्युटी सकेर गंगबुस्थित आफ्नो क्वार्टर फर्के । राति ११ः३० बजे तुरुन्त दरवार आउनु भनेर कल आयो । कारण भनिएन । माथिको आदेश थियो–तत्काल आउनु ।
म तत्काल दरवार पुगे । त्यहाँको भयावह अवस्था देखेपछि भने म स्तब्ध भए । राजा वीरेन्द्र, रानी ऐश्वर्य सहित ११ जना गोलीको शिकार हुनुभएको थियो । दरवार रक्तरञ्जित थियो । सबैका लागि त्यो अकल्पनीय घट्ना थियो । त्यहाँ पुगेपछि मेरो दिमागले केही सोच्नै सकेन । के गर्ने, के नगर्ने अन्यौल म किमकर्तव्यबिमूढ थिए ।
राजा वीरेन्द्रको सुरक्षा मेरो जिम्मेवारी थियो । तर गोलीको शिकार हुनुभएका राजा बिरेन्द्रको अवस्थाका बारेमा कसैले केही भन्न सकिरहेका थिएनन । म बेला बेला अधिराजकुमार निराजनको सुरक्षामा खटिने गर्थे । उहाँको अवस्थापनि चिन्ताजनक रहेको सुने । म दरवारभित्र पुग्दा अस्पताल लैजानु पर्नेलाई अस्पताल लगिसकिईको थियो ।
भयावह घट्नापछि दरवार भित्र सन्नाटा थियो । त्यहाँ मुर्दा शान्ति थियो । कसैको दिमागले काम गरिरहेको थिएन । कोहीकसैसंग बोलिरहेका थिएन । सबैका ओठ बन्द थिए । हात चलिरहेका थिएनन । सबैका आँखामा त्रास थियो । सबै निर्जिव जस्ता लाग्थे । त्यहाँको अवस्था हेर्दा नर्मल अवस्थामा आउछ कि आउदैन लाग्थ्यो ।
राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानेर हत्या गरेर त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेका थिए ।
अधिराजकुमार ज्ञानेन्द्र शाह दरवारभित्र त्यो घट्ना हुदा पोखरा हुनुहुन्थ्यो । राति नै उहाँलाई काठमाण्डौं ल्याउने प्रयत्न मौसमको प्रतिकुलताका कारण सफल हुन सकेन । अधिराजकुमार शाह बिहान काठमाण्डौं आइपुग्नुभयो । अस्पतालको हेलिप्याडमा ओर्लिनुभएका अधिराजकुमार ज्ञानेन्द्रलाई लिन प्रधानमन्त्री कोईराला हेलिप्याडसम्म जानुभयो ।
म जसको सुरक्षाका लागि दरवारमा खटिएको थिए । उहाँहरु मध्ये कोही पनि जीवित हुनुहुन्थेन । राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो । जनताका लोकप्रिय राजा बिरेन्द्र र राजपरिवारका सदस्यहरुको अन्त्येष्टिमा पुरै देश रोयो । नागरिकहरु राजपरिवारको तस्वीरहरु बोकेर स्वतस्फूर्त रुपमा सडकमा उत्रिए । पुरै देश शोकमा डुब्यो । नरुने सायदै कोही थियो होला ।
घाईते अवस्थामा अस्पताल लगिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो । यद्दपि बाहिर उहाँको मृत्यु भईसकेको आंकलन गरिएको थियो । अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पिएको थियो । २०५८ जेठ २२ गते राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो । र ज्ञानेन्द्र नयाँ राजा घोषित हुनुभयो ।
नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिनुभएको थियो । एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्दै त्यसलाई सार्वजनिक गरेको थियो । प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निष्कर्ष निकालिएको थियो ।
म सधै राजा वीरेन्द्रको सुरक्षामा खटिन्थे । त्यसदिन भने अधिराजकुमार निराजनको सुरक्षामा खटिएको थिए । साँझ ५ बजे मेरो ड्युटी सकियो । र, म क्वार्टर तर्फ गए । त्यसदिन दरवारभित्र राजपरिवारको भोज थियो । राजाका नजिकका आफन्तहरुलाई भोजमा बोलाईएको थियो । तर को को बोलाईएका थिए, थाह थिएन ।
दरवार भित्रको कार्यक्रम भएको हुनाले मलाई घर जान छुट मिलेको थियो । किनकी दरवार भित्र हुने भोज वा कार्यक्रममा राजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि जान मिल्दैनथ्यो । यो दरवारको नियम थियो । त्यसैले म पाँच बजे क्वार्टर तर्फ निस्किए । दरवार बाहिर भोज अथवा राजा सहभागी हुने कुनै पनि किसिमको कार्यक्रम भए म निस्किन पाउदैनथे । किनकी त्यस्तो अवस्थामा राजाको सुरक्षामा रहेका सुरक्षाकर्मीहरुसंगै हुनुपथ्र्यो । बाहिर जान पाईदैनथ्यो ।
दुर्भाग्यवश त्यसदिन मैले राजाको सुरक्षा गर्ने अवसर गुमाए । देश र जनताले त्यो बिभत्स हत्याकाण्डमा अभिभावक गुमायो ।
मैले आफ्नो ज्यान जोखिममा पारेर भयानक गाडी दुर्घटनाबाट जोगाएका अधिराजकुमार निराजनको समेत दरवार हत्याकाण्डमा मृत्यु भयो । राजा बिरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार निराजनबाट पाएको त्यो स्नेह र मिठो व्यवहार सम्झेर दरवार हत्याकाण्डपछिका धेरै रात म निदाउन सकेन । हत्याकाण्डपछि पनि नियमित रुपमा दरवार जान्थे । तर दिमागले काम गरिरहेको थिएन ।
म एक पटक दुर्घटनामा परी गम्भीर घाईते हुदा राजाले हरेक दिन मेरो स्वास्थ्य अवस्था प्रति चासो र चिन्ता व्यक्त गर्नुहुन्थ्यो । मेरो उपचारको सम्पूर्ण खर्च पनि दरवारले बेहोरेको थियो । राजाको सदाशयता, चिन्ता र चासोले म क्रमशः निको हुदै गए । राजाको व्यबहार र बोली मेरा लागि औषधीतुल्य थियो ।
म जस्तो एक सामान्य प्रहरी निरीक्षकसंग राजाले आफ्नो सन्तानलाई झै गरेको त्यो स्नेह म जिन्दगी भर कहिल्यै बिर्सिन सक्दैन । मेरा लागि उहाँको त्यो स्नेह नै मल्हम थियो । त्यही ओखती ।
देश र जनताले लोकप्रिय राजा गुमाए । मैले मलाई स्नेह गर्ने अभिभावक । जसको स्नेह र ममता सम्झिदा पनि मन भक्कानिन्छ । र, फर्किन्छु ती अतितका यादहरुमा, जहाँ राजाका हरेक शब्दहरु मेरा कानमा गुञ्जिन्छन । र, उहाँको सन्निक्ट बिताएका ती दिव्यपलहरुले भावबिभोर हुन्छु । मेरो जीवन र प्रहरी सेवाका ती अवस्मरणीय पलहरु कहिल्यै बिर्सिन सक्दैन । म जस्तो सामान्य मान्छेलाई आफ्ना सन्तानलाई झै सञ्चो बिसञ्चो सोध्ने र शिघ्र स्वास्थ्य लाभको कामना गर्ने राजा वीरेन्द्र यो संसारमा रहनुभएन भन्ने कुरा विश्वास गर्न धेरै समयसम्म गाह्रो भयो । तर सत्य यही थियो, उहाँहरु हामी माझ रहनुभएन ।
२०५७ पुस ४ गते राति ११ बजे गंगबुमा भएको भयानक दुर्घटनामा अधिराजकुमार निराजनलाई जोगाउदा म मुस्किलले बाँचेको थिए । नागार्जुन निवास जादै गरेको बेला हामी (म र अधिराजकुमार निराजन) चढेको गाडी राति गंगबुमा प्रहरीको गाडीसंग ठोक्किएको थियो । अधिराजकुमार निराजनले गाडी चलाईरहनुभएको थियो । उहाँलाई जोगाउने क्रममा स्टेरिङमा मेरो छाती पर्दा करङका आठ वटा हड्डी भाँचिएका थिए । टाउको र ‘स्पाईनल कर्ड’मा गम्भीर चोट लागेको थियो । देब्रे हात भाँचिएको थियो ।
त्यो भयानक दुर्घटनापछि मैले तीन महिना अस्पतालको शैयामा बिताए । र, डिस्चार्ज भए । हिडडुल गर्न अझै सहजै भईसकेको थिएन । घरमै थेरापी शुरु गरे । दुखाई र घाउ निको हुदै गयो । म घरमा आराम गरिरहेको थिए । राजा वीरेन्द्रले सोध्नुभएछ, बिक्रम यतिका समयसम्म किन आएन ? उसलाई कस्तो छ ? राजा वीरेन्द्रले मलाई दरवारमा बोलाउनुभयो । र, म सात महिनापछि दरवारको काममा फर्किए । दिनमा कम्तिमा एक पटक राजासंग भेट हुन्थ्यो । कहिले दुई पटक पनि हुन्थ्यो । हरेक पटकको भेटमा राजा सोध्नुहुन्थ्यो, बिक्रम तिमीलाई कस्तो छ ?
मैले २०५७ बैशाख १ देखि २०५९ जेठ १ गतेसम्म दरवारमा काम गरे । राजा बिरेन्द्र र राजा ज्ञानेन्द्रको सुरक्षामा खटिने अवसर पाए । म दरवारमै कार्यरत छदा दरवार हत्याकाण्ड भयो । राजा बिरेन्द्र र रानी ऐश्वर्य सहितले ज्यान गुमाए ।
दरवार हत्याकाण्डको समयमा म राजा वीरेन्द्रको अंगरक्षक थिए । राजाको सुरक्षामा खटिए पनि सुरक्षाकर्मीहरुको पनि एउटा दायरा हुन्थ्यो । हामी ढोकाभन्दा भित्र जान पाउदैनथ्यौ । हामी ढोका बाहिरै हुन्थ्यौ । र, भित्र हुने भोज तथा विशेष कार्यक्रममा पनि हामी जान पाउदैनथ्यौ । हतियार भित्र पुग्नु नपर्ने हो । त्यहाँ दरवारको सुरक्षा संयन्त्र चुक्यो । युवराज दीपेन्द्रको खोपीमा हतियार पुग्नु नै सबैभन्दा ठूलो दुर्भाग्य भयो । युवराज दीपेन्द्रको खोपीसम्म हतियार नपुगेको भए यस्तो भयानक घट्ना हुदैनथ्यो ।
आफ्नै सन्तानले त्यस्तो गर्ला भनेर कसैले परिकल्पना गर्दैन । त्यही विश्वास नै राजा वीरेन्द्र र उहाँका परिवारका लागि घातक भयो । मुलुकले उदार र प्रजा वात्सल्य राजा र सिंगो राजपरिवार गुमायो ।
युवराज दीपेन्द्रको बाहिरको छवि र भित्रको व्यवहार फरक थियो । दुई वर्ष दरवारभित्र काम गर्दा त्यो मैले महशुस गरेको थिए ।
२०४७ सालअघि राजालाई संबिधानमाथि राखिएको थियो । राजालाई विष्णुको अवतार मानिन्थ्यो । राजा वीरेन्द्र कतिसम्म उदार र जनता प्रेमी थिए कि, उहाँ संबैधानिक राजतन्त्र स्वीकार गरेर संबिधानको मातहतमा बस्न तयार हुनुभयो । यही कुराले पनि उहाँको महानता देखाउछ । उहाँ आईडियल र भलादमी राजा हुनुहुन्थ्यो । जनताको पीर, मर्का बुझ्नुहुन्थ्यो । जनतालाई दुख्दा उहाँलाई पीडा हुन्थ्यो । बाढी, पहिरो वा दैवी विपत्तिमा परी नागरिकको जिउँधनको क्षति हुदा उहाँ छटपट्निुहुन्थ्यो । जनताको चाहना बुझेर हरेक कदम चाल्नुहुन्थ्यो ।
राजा वीरेन्द्रको देहावसानपछि म केही समय राजा ज्ञानेन्द्रको सुरक्षामा खटिए । उहाँ दरवारहत्याकाण्डको दोषीका रुपमा आरोपित हुनुभयो । युवराज दीपेन्द्रमाथि कसैले शंका गरेन । दीपेन्द्रले हत्या गरेको कुरा कसैले पत्याएन । तर राजपरिवारको हत्या दीपेन्द्रबाटै भएको थियो । यो सत्य बोल्ने आँट नजिकबाट घट्ना देखेका र त्यो भयावह घट्नामा परी जोगिएका मध्ये सबैले अझै गर्न सकेका छैनन । केहीले बोले । तर कसैले पत्याएनन । बरु सत्य बोल्नेहरुलाई सबैले गाली गर्छन । तर सत्य यही हो । युवराज दीपेन्द्रले चलाएको हतियारको गोलीबाट राजा, रानी सहित १० जनाको हत्या भयो ।
राजा ज्ञानेन्द्र आफ्नै दाजुभाउजुको हत्या गरेको आरोप चुपचाप सहिरहनुभयो । सायद बंशको प्रतिष्ठाका लागि राजा ज्ञानेन्द्रले आफ्नै बुवालाई युवराज दिपेन्द्रले मारेको कुरा बाहिर ल्याउनु भएन ।
कुलको ईज्जत र प्रतिष्ठाका लागि राजा ज्ञानेन्द्रले सत्य कुरालाई दवाउनु भयो । त्यही कुरा उहाँका लागि घातक भयो ।
(२०२३ सालमा बैतडीको दशरथ चन्द नगरपालिका– ५ बस्कोटमा जन्मिएका बिक्रम चन्द झण्डै २९ वर्ष लामो प्रहरी सेवापछि यतिबेला कञ्चनपुरको भीमदत्तनगर–३ ऐठपुरमा अवकाश प्राप्त जीवन बिताईरहेका छन् । नेपाल प्रहरीमा २०४९ चैत ११ गते प्रहरी निरीक्षक भएका चन्दले २०७८ साल मंसिर ८ गते प्रहरी बरिष्ठ उपरीक्षक पदबाट अवकाश पाए । दरवारमा दुई वर्ष राजाको सुरक्षामा खटिएका चन्द दरवार हत्याकाण्डका बेला त्यही तैनाथ थिए । आजको अंकमा दरवार हत्याकाण्डसंगका उनका अनुभव र अनुभूति प्रस्तुत गरेका छौ । )