इजरायलको शक्तिशाली हमलाले सिरियामा ३.१ रेक्टरको भूकम्प

इजरायलले सिरियाको तटीय शहर टारटसमाथि हवाई हमला गरेको छ । टारटसको सैन्य क्याम्पलाई लक्षित गरी गरेको हमलामा ठूलो मात्रामा गोलाबारुद र हतियार नष्ट पारेको इजरायलको दाबी छ । इजरायली हमलापछि सो स्थानमा शक्तिशाली विस्फोट भएको थियो ।
सिरिया वार मनिटरले एक दशकमा टारटसमाथि इजरायलले गरेको सबैभन्दा ठूलो हमला भएको जनाएको छ । इजरायलले फाइटर जेटले हमला गरेको स्थानमा एयर डिफेन्स युनिट र जमिनबाट मार हान्ने मिसाइलसमेत थिए । इजरायली हमलापछि टारटस शहरमा ३.१ रेक्टर स्केलको भूकम्प नै आएको थियो । यतिबेला टारटस हमलाको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।
सिरियामाथि विद्रोही समूहको कब्जासँगै इजरायलले हस्तक्षेपकारी रूपमा हमला गरिरहेको छ । रुसको समर्थन पाइरहेको बशर अल असदको सत्ता ढलेसँगै सिरियामा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढेको छ । असदको सहयोगी रुसले पनि इजरायली हमला र विद्रोही समूहको कब्जाबीच आफ्ना कूटनीतिज्ञहरू फिर्ता लगेको छ । रुसी विदेश मन्त्रालयले विशेष उडानमार्फत सिरियाको खमिमिम विमानस्थलबाट दमास्कसमा रहेका केही रुसी कूटनीतिज्ञलाई फिर्ता लगेको जनाएको छ ।
रुसीसँगै बेलारुस र उत्तर कोरियाका कूटनीतिज्ञलाई पनि सोही विमानबाट फिर्ता लगिएको छ । तर, दमास्कसमा रहेको दूतावासले अझै पनि टेलिग्रामको सहयोगमा काम भने जारी राख्नेछ । सिरियामा विद्रोहीको नियन्त्रणसँगै भइरहेको इजरायली हमलाको राष्ट्रसंघसहित अरब राष्ट्रले निन्दा गरिरहेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) ले सिरियाली भूमि गोलान हाइट्समा इजरायली बस्ती विस्तार गर्ने योजनाको निन्दा गरेको छ ।
आइतबार मात्रै इजरायलले गोलान हाइट्समा इजरायलीको जनसंख्या बढाएर दुई गुणा बनाउने घोषणा गरेको थियो । यो घोषणामा साउदी अरब र इरानले पनि निन्दा गरेका छन् । इजरायलले सन् १९६७ को युद्धका क्रममा गोलान हाइट्समाथि कब्जा गरेको थियो । यसअघि यो सिरियाको जमिन थियो । सिरियाले इजरायललाई यो क्षेत्रबाट हट्न पटक-पटक आग्रह गरे पनि सुरक्षा चिन्ता रहेको भन्दै बफर जोन बनाएको थियो । गोलान हाइट्समाथि इजरायली कब्जालाई सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्यता दिएका थिए ।