सन् २०२४: पत्रकार र सञ्चारकर्मीका लागि खतरनाक वर्ष

काठमाडौं । संयुक्त राष्ट्रसंघको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले सन् २०२४ लाई पत्रकार र सञ्चारकर्मीहरूको लागि एक खतरनाक वर्षको रूपमा परिचय गराएको छ ।
युनेस्कोको हालैको प्रतिवेदनमा यस वर्ष अहिलेसम्म ६८ जना पत्रकार र सञ्चारकर्मी कर्तव्यपालनाका क्रममा मारिएका उल्लेख छ ।
यसमा ६० प्रतिशत भन्दा धेरै हत्याहरू द्वन्द्वग्रस्त देशहरूमा भएका छन्, र यो सङ्ख्या पछिल्लो दशकमा सबैभन्दा धेरै रहेको बताइएको छ ।
युनेस्कोले यस वर्ष द्वन्द्व र युद्ध क्षेत्रहरूमा ४२ जना पत्रकारको ज्यान गएको जनाएको छ, जसमा सबैभन्दा धेरै प्यालेस्टाइनमा १८ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् ।
युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानजस्ता अन्य देशहरूमा पनि पत्रकारहरूको हत्या भएको छ, जसले हिंसा र अस्थिरताका क्षेत्रहरूमा बढ्दो जोखिमको सङ्केत गरेको युनेस्कोले प्रतिवेदनमा उल्लेख गरेको छ ।
युनेस्कोकी महानिर्देशक अड्री अजौलेले विश्वलाई जानकारी दिन र द्वन्द्व, युद्ध तथा सङ्कटबाट प्रभावित जनसङ्ख्यालाई मद्दत गर्न भरपर्दो सूचना अत्यावश्यक रहेको बताइन् ।
उनले पत्रकारले आफ्नो ज्यान जोखिममा राखेर काम गर्नुपर्ने अवस्था अस्वीकार्य भएको उल्लेख गर्दै सबै देशहरूसँग अन्तर्राष्ट्रिय कानूनअनुसार सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि कदम चाल्नको लागि आग्रह गरिन् ।
पत्रकार र सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम नउठाइने हो भने, सूचना प्राप्ति र विश्वसनीयता कायम राख्नका लागि थप चुनौतीपूर्ण अवस्था उत्पन्न हुनसक्ने चेतावनी युनेस्कोले दिएको छ ।