अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ३९ जनाको सजाय माफ

काठमाडौं । बहिर्गमन उन्मुख अमेरिकी राष्ट्रपति जो बाइडनले अहिंसक अपराधका दोषी ३९ जना अमेरिकी नागरिकको सजाय माफ गर्नु भएको छ । साथै बाइडनले जेलमा रहेका अन्य करीब १५ सय दोषीको सजाय पनि कम गरेका छन् ।
ह्वाइट हाउसका अनुसार एकै दिन राष्ट्रपतीय क्षमादानको आदेश जारी गरिएको यो अहिलेसम्मकै ठूलो संख्या हो । अमेरिकी संविधानले राष्ट्रपतिलाई महाभियोगका अतिरिक्त अन्य अपराधका लागि राहत वा क्षमा दिन सक्ने अधिकार प्रदान गरेको छ । पदमुक्त हुने वेला प्राय सबै अमेरिकी राष्ट्रपतिले आफ्ना निकटस्थ मानिसलाई मुक्ति दिलाउन यो अधिकारको व्यापक प्रयोग गर्ने गरेको पाइन्छ ।
यसै महिनाको प्रारम्भमा बाइडनले आफ्ना छोरा हन्टर बाइडनको सजाय पनि माफी दिएका थिए । आफ्नो छोरालाई माफी नदिने बताउँदै आउनु भएका बाइडनले कार्यकालको अन्त्यतिर भने यस्तो कदम चालेकोमा उहाँको चौतर्फी आलोचना समेत भएको थियो । यद्यपि बाइडनले आफ्नो छोरा विरुद्धको आरोप राजनीति प्रेरित भएको तर्क दिएका थिए ।
अदालतले हन्टरलाई कर छली र बन्दुक सम्बन्धी अपराध गरी दुई वटा फौजदारी अभियोगमा दोषी ठहर गरिसके पनि सजाय सुनाउन भने बाँकी नै थियो । आगामी जनवरी २० मा बाइडेन पदमुक्त हुँदै छन् भने सोही दिन डनल्ड ट्रम्पले राष्ट्रपति पद सम्हाल्ने छन् ।