सिरियाली राजधानी विद्रोहीको कब्जामा, राष्ट्रपति असदले देश छाडे

द एभरेष्ट पोष्ट
२३ मंसिर २०८१ १४:५५
सिरियाली राजधानी विद्रोहीको कब्जामा, राष्ट्रपति असदले देश छाडे
सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया “मुक्त” भएको घोषणा गरेका छन्।
विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन्।

रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका छन्। असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन।

सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ। असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरेका छन्।

सिरियाली विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि तस्बिर खिचेका छन्

तस्बिर स्रोत,Reuters

सोसल मिडियामा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ।

विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई “पूर्ण रूपबाट स्वतन्त्र पारेको” बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका हुन्।

विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो।

राजधानी कब्जापछि सिरियामा कसले के भने?

राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन्

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,राजधानी कब्जापछि विद्रोहीहरूले सिरियाको दोस्रो ठूलो सहर अलेपोमा पनि उत्सव मनाएका छन्

सिरियाका विपक्षी नेता हदि अल-बहराले अरबीक समाचार संस्था अल-अरबीयालाई असदको शासन ढलेको र “सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको” बताएका छन्।

सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन्।

“हाम्रा सबै सम्प्रदाय र धर्मका मानिसहरू – जबसम्म तपाईँ अरू कुनै नागरिकविरुद्ध हतियार उठाउनुहुन्न र जबसम्म तपाईँ आफ्नो घरमा बस्नुहुन्छ, तपाईँ सुरक्षित हुनुहुन्छ,” उनले एक्समा लेखेका छन्।

“त्यहाँ बदला वा प्रतिशोध र मानव अधिकार उल्लङ्घनको कुनै घटना हुने छैन। मानिसको मर्यादाको सम्मान गरिनेछ र उनीहरूको मर्यादा सुरक्षित गरिनेछ।”

एचटिएसका नेताले टेलिग्राममा लेख्दै सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,एचटिएसका नेताले सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी कार्यालयहरूमा प्रवेश नगर्न आदेश दिएका छन्

देशलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल-जलालीले आफू पदमा रहिरहेर देशमा सरकारको निरन्तरता कायम राख्ने काम “गर्न सघाउन तयार” रहेको बताएका छन्।

उनले बशर अल-असद यतिखेर कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको बताए।

सिरिया

तस्बिर स्रोत,Reuters

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन्।

अबु मोहम्मद अल-जुलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्।

आफ्नो जितलाई ऐतिहासिक क्षण बताउँदै उनले आत्मसमर्पण गर्नेलाई हानि नपुर्‍याउन आफ्ना मानिसहरू आह्वान गरेका छन्।

इरानी दूतावासमा हमला, दमास्कसको अरू अवस्था के छ?

इरानी सञ्चारमाध्यममा आएका विवरणमा दमास्कसस्थित इरानी दूतावासमा हमला भएको जनाइएको छ।

रोयटर्स समाचार संस्थाको तस्बिरमा दूतावासमा टाँगिएको इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानी र हिज्बुल्लाहका नेता हसन नस्रल्लाहको तस्बिर च्यातिएको देखिन्छ। उनीहरू दुवैको यसअघि नै मृत्यु भइसकेको छ।

त्यसैगरी कूटनीतिक स्रोतलाई उल्लेख गर्दै त्यहाँ रहेको इराकी दूतावासलाई खाली पारिएको समाचार संस्था एएफपीले जनाएको छ।

दमास्कसमा रहेको इरानी दूतावास

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,दमास्कसमा रहेको इरानी दूतावास भवन

दमास्कस पुगेकी बीबीसी संवाददाता बार्बरा प्लेट असरले त्यहाँ सिरियालीहरू खुसीले नाराबाजी गरेको बताएकी छन्।

“धेरै मानिसहरू अब के होला भन्ने कुराले अत्तालिएका छन्। ती खासगरी अल्पसङ्ख्यक समुदायका मानिसहरू, असदको सत्ताका समर्थकहरू, सेनामा रहेका मानिसहरू लगायत छन्,” सिरियाको राजधानीबाट असर भन्छिन्।

“मलाई लाग्छ आउँदा केही दिन धेरै मानिसहरू बाहिर धेरै देखा पर्ने वा घुलमिल गर्ने काम गर्नेछैनन्।”

सहरमा गोली चलेका र विस्फोटनका आवाज सुनिए तापनि आइतवारको बिहान तुलनात्मक रूपमा शान्त रहेको उनी बताउँछिन्।

अमेरिकी प्रतिक्रिया

दमास्कसमा खुशी मनाउँदै विद्रोहीहरू

तस्बिर स्रोत,Getty Images

अमेरिकी राष्ट्रपति जो बाइडन र उनका अधिकारीहरूले “सिरियाका अभूतपूर्व घटनाक्रम”को निगरानी गरिरहेको ह्वाइटहाउसले जनाएको छ।

बाइडन प्रशासन आफ्ना क्षेत्रीय साझेदारहरूसँग निरन्तर सम्पर्कमा रहेको ह्वाइटहाउसको विज्ञप्तिमा जनाइएको छ।

राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले यसअघि सोसल मिडियामा एक पोस्ट लेख्दै सिरियाको युद्धसँग अमेरिकाको कुनै सरोकार नहुनुपर्ने बताएका थिए।

उनको भनाइ थियो: “त्यो हुन दिनुस्। यो हाम्रो लडाइँ होइन।”

आधा शताब्दीको पारिवारिक राज अन्त्य

दमास्कसमा नियन्त्रण गुमाएसँगै असद परिवार र सिरियन बाथ पार्टीको झण्डै आधा शताब्दी लामो शासन अन्त्य भएको छ।

सन् २००० मा आफ्ना बुवालाई पछ्याउँदै सत्तामा आउँदा बशर अल-असद सुरुमा सुधारवादी नेताका रूपमा थिए।

सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को 'अरब स्प्रिङ'मा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,सन् २००० देखि सिरियामा शासन गर्दै आएका राष्ट्रपति बशर अल–असदको सत्ता सन् २०११ को ‘अरब स्प्रिङ’मा त जोगियो, तर देश गृहयुद्धमा डुब्यो

तर अरब स्प्रिङका बेला सन् २०११ मा प्रदर्शनकारीहरूविरुद्ध निर्मम रूपमा उत्रिएपछि उनको त्यस्तो छवि मेटिएको थियो।

सुरुमा नागरिक समाजका तर्फबाट भएको उक्त विरोधमा पछि कट्टर इस्लामवादी समूहहरू हाबी भए र सिरियामा गृहयुद्ध सुरु भयो।

उनी विद्रोही पकडका क्षेत्रमा रासायनिक अस्त्रको प्रयोग र अन्य विभिन्न अत्याचारसँग जोडिएका छन्।

असदले यस द्वन्द्व सिरिया टुक्र्याउन चाहने पश्चिमा शक्तिहरूले उक्साहटबाट सिर्जना भएको आरोप लगाउने गर्छन्।

बीबीसीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस