दक्षिण कोरिया सरकारद्वारा बाढी प्रभावितलाई सहयोग

द एभरेष्ट पोष्ट
१९ मंसिर २०८१ ९:४६
दक्षिण कोरिया सरकारद्वारा बाढी प्रभावितलाई सहयोग

काठमाण्डौं, १९ मंसिर ।

दक्षिण कोरियाको सरकारले नेपालको बाढी प्रभावित क्षेत्रका समुदायहरुलाई राहत सामग्री सहयोग गरेको छ ।

गणतन्त्र कोरियाली राजदूतावासले युनिसेफ नेपालको समन्वयमा देशका बिभिन्न स्थानमा बाढीबाट प्रभावितहरुलाई राहत सामग्री सहयोग गरेको हो ।

गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ र नेपालका लागि युनिसेफ प्रतिनिधिले संयुक्त रुपमा शुक्रवार काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावितहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरे ।

काभ्रेको पनौतीमा आयोजित कार्यक्रममा न्यानो लुगा, कम्बल, सरसफाई सम्बन्धि सामग्री र नवजात शिशु किटहरू वितरण गरिएका थिए ।

युनिसेफको समन्वयमा राहत तथा अत्यावश्यकीय स्वास्थ्य सामग्री हस्तान्तरण गरेका राजदूत पार्क थेयङले गणतन्त्र कोरिया सरकारका तर्फबाट बालमैत्री केन्द्रको स्थापना गर्ने बताए ।

राजदूत पार्कले दुई देशको आपसी हित र साझा चासोलाई केन्द्रमा राख्दै नेपाल–कोरिया सम्बन्धका विभिन्न पक्षका बारेमा प्रकाश पारेका थिए।

राजदूत पार्कले गणतन्त्र कोरिया सरकार नेपाल र कोरियाबीचको समानताको बारेमा उल्लेख गर्दै नेपालको आर्थिक विकासका लागि नेपाललाई प्राथमिकतामा राखेको बताए।

गत असोज महिनामा भारी वर्षापछि आएको बाढी र पहिरोबाट नेपालका बिभिन्न जिल्लामा ठूलो धनजनको क्षति भएको थियो । खानेपानी र स्वास्थ्यचौकीहरुमा समेत ठूलो क्षति पुगेको थियो । कोरिया सरकारले तत्काल क्षतिग्रस्त तथा बाढी प्रभावित समुदायका लागि पाँच लाख डलर सहयोग गर्ने निर्णय गरेको थियो ।

युनिसेफको सहकार्यमा सोही रकम बराबरको मानवीय सहायता सामग्री सरकारले उच्च प्रभावित क्षेत्रका रुपमा निर्धारण गरका काभ्रे, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र सप्तरी जिल्ला लगायतका बाढी प्रभावित क्षेत्रका समुदायलाई प्रदान गरिरहेको नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले बताए ।

उनले विपदका बेला सबैभन्दा जोखिममा परेका क्षेत्रमा मानवीय सेवा गर्न कोरिया सरकार सदैव तत्पर रहेको बताए । विपदमा रहेका समुदायमा समयमै महत्वपूर्ण सहयोगले प्रभावित क्षेत्रका जनताको जीवन यापन सहज हुने उनको विश्वास छ ।

२०७२ बैशाखमा नेपालमा गएको महाभूकम्प, त्यसपछि कोभिड–१९को महामारी र गत वर्ष जाजरकोटको भूकम्प लगायतका कठिन समयमा कोरिया सरकारले नेपाललाई तत्काल सहयोग गर्दै आएको छ।

गणतन्त्र कोरियाले पारस्परिक सम्मान र समझदारीमा आधारित मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ। कोरिया र नेपालबीच सन् १९७४ मा स्थापित कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सव मनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस