कीर्तिपुरको प्रमुखमा काँग्रेसका कृष्णमान डंगोल बिजयी

काठमाडौं, १८ मंसिर । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मतसहित विजयी भएका छन् ।
निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार काँग्रेसका उम्मेदवार डंगोल ५ हजार ३ सय ३४ मत सहित बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी माओवादीका मेयर उम्मेदवार शिवशरण महर्जन ४ हजार ५ सय ५५ मत पाए । तेस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत प्राप्त गरे ।
यो नगरपालिका यसअघि ०७९ को निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए । नकर्मीको मृत्युपछि कीर्तिपुरमा उपनिर्बाचन भएको हो ।
०७९ मा भएको निर्बाचनमा नेकपा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य ५ हजार ५ सय ७ मतसहित दोस्रो स्थानमा रहेका थिए । माओवादीले भने त्यतिबेला पनि शिवशरणलाई नै उम्मेदवार बनाएको थियो । उनले ४ हजार ९० मत प्राप्त गरेका थिए । यस पटक भने माओवादी दोस्रो स्थानमा रह्यो ।