भेनिस र दो लफ्जों की है दिल की कहानी

१५ मंसिर २०८१ ८:३१
भेनिस र दो लफ्जों की है दिल की कहानी

सन २०१९ को नोभेम्बर अन्तिम साता हंगेरीको बुडापेष्टबाट शुरु भएको युरोप भ्रमणको अन्तिम गन्तव्य थियो, ईटली । ईटली जादै गरेको थाह पाएपछि नेपालबाट मित्र रामदास चौधरीको मेसेज आयो–भेनिस नछुटाउनुहोला ।

स्वीजरल्याण्डको जुरिकबाट रेलको यात्रा आफैमा निकै रोमाञ्चकारी । पहाड छेडेर बनाईएका लिकमा तिब्र गतिमा गुड्ने रेलबाट देखिने हिमाल, पहाड र तालका किनारमा बसेका बिशाल शहरहरुको दृष्य कम्ति लोभलाग्दो छैन ।

ईटली पुगेपछि संसारको सबैभन्दा सानो देश भ्याटिकन सीटी हेर्न छुटाए, ईटलीको यात्रा अधुरो हुन्छ । तर यस पटक भने समुन्द्रमाथिको शहर भेनिसका बारेमा चर्चा गर्दैछु । ईटलीको रोमको दुई दिने बसाईपछि तेस्रो दिन हामी भेनिसको यात्रामा निस्कियौ । साथमा थिए, युएनसीआरडी नोगाया जापानका प्रमुख रुद्र महन्ती चौधरी । दक्षिण भारतका चौधरीसंग रोमको एउटा कार्यक्रममा भेट भएको थियो । फरक भूगोल र देशका भएपनि भेनिस यात्रा गर्नै पर्ने हुटहुटी भने हामी दुईमा उस्तै थियो । त्यही हुटहुटीले हामी भेनिसको यात्रामा निस्किएका थियौ ।

भेनिसका लागि रोमबाट रेलमा चढेपछि सन १९७९ भेनिसमा सुटिङ भएको अमिताभ र जिनत अमानद्धारा अभिनित द ग्रेट ग्याम्बलर फिल्मको  ‘दो लफ्जों की है दिल की कहानी, या है मोहब्बत ? या है जवानी ?’ बोलको गीतको दृष्य दिमागमा रिल झै घुमिरहेको थियो  । त्यसयता भेनिसमा पाँच वटा हिन्दी फिल्मको सुटिङ भयो । यद्दपि चर्चा भने ४५ वर्ष पुरानो त्यही गीतको   हुन्छ ।

समुन्द्रमाथि यति सुन्दर शहर कसरी बन्यो होला ? समुन्द्रमा कसरी ठडिए होलान यति भव्य र कलात्मक महलहरु ? मनमा रेलको गति झै एकतमासले तमाम कौतुहलता पनि कुदिरहेका थिए । हिन्दी फिल्म द फकिर अफ भेनिसमा एउटा संवाद छ–तिमी भेनिस गएका छौ भने चैनसंग मर्न सक्छौ ।जसको आशय हो– भेनिस घुमे अरु ठाउँ घुम्नै पर्दैन । हाम्रो गन्तव्य त्यही भेनिस थियो ।

ईटली पुगेर भेनिस छुटाउने कुरै भएन । भेनिसका बारेमा सुनेका यस्ता तमाम किस्सा र बर्णनले चुम्बकको काम गरेको थियो । र त, हामी हानिएका थियौ, भेनिस ।भेनिसमा रेल रोकियो । अनि शुरु भयो हाम्रो सामुन्द्रिक यात्रा । तपाई के मा चढ्ने ? डुंगा, स्टिमर वा क्रुजमा ? कति टाढासम्म जाने ? एक घण्टाको प्याकेज लिने कि दिनभरीको ? त्यही अनुसार शुल्क तिर्नुपर्छ । हामी भने आधा दिनको प्याकेजमा क्रुजमा निस्कियौ ।

स्टिमर र क्रुजमा समुन्द्रमा शयर गर्नुको मजा नै बेग्लै । समुन्द्रको बीचमा भवनहरु छन् । समुन्द्रको किनारमा लहरै बसेको वस्ती छ । वस्तीको बीच भएर बग्ने नहर र ती नहरमा तैरिरहने डुंगा, स्टिमर र क्रुजमा फोटो सेशन गर्दै गरेका पर्यटकहरु । आँखा नझिम्क्याई हेरिरहु लाग्ने सामुन्द्रिक सौन्दर्य । नहरको ठाउँ ठाउँमा बनाईएका आकाशे पुल । त्यो आकाश पुलमा उभिएर सेल्फि खिच्दै गरेका पर्यटकहरु । कसैलाई कसैको वास्ता छैन । मान्छे हरेक पल सामुन्द्रिक सौन्दर्यको मजा उठाईरहेका छन् । त्यही नहरसंगै जोडिएका रेष्टुरेण्टहरु । जव साँझ छिप्पिदै जान्छ, रेष्टुरेण्टको उज्यालो पानीमा तैरिन्छ । पानीसंगै टल्किने रेष्टुरेण्टको त्यो दृष्य कही भेटिदैन भेनिस बाहेक अन्यत्र । भेनिस सुत्दैन । किनकी भेनिसले देख्नु पर्ने सपना नै छैन । बरु भेनिस धेरैको सपना हो ।

पानी माथि शहर कसरी बसाईयो ? सातौ शताब्दिमा बसाईएको भेनिसको ‘वाटर ईञ्जिनियरिङ’ अदभूत र अपत्यारिलो लाग्छ । बास झै एक प्रकारको काठ समुन्द्रमा गाडेर त्यसमाथि त्यही काठ बिछ्याएर त्यही माथि भवनहरु बनाईएको बताईन्छ । काठको जगमा सुन्दर भेनिस शहर बसेको आफैमा अनौठो लाग्छ ।

भेनिसमा साना ठूला १२४ टापु छन् । र ती टापुलाई ४१७ पुलले जोडेको छ । जसमध्ये ७२ पुल निजी हुन् । भेनिसभित्र १७० नहर छन् । यी नहर मात्र होईनन, सडक पनि हुन । भेनिस संसारकै सुन्दर शहर हो । समुन्द्रमाथि निर्मित भेनिसका लागि पानी नै सबैथोक हो । जता हे¥यो । त्यतै पानी । आँखाले देखिने ठाउँसम्म पानी । अर्थात भेनिसको जीवन पानीमै शुरु हुन्छ । पानी मै सकिन्छ ।

भेनिसमा सडक छैन । र गाडीहरु पनि छैनन । नहर नै यहाँको सडक हो । अनि डुंगा र स्टिमरहरु नै यहाँका गाडी हुन । प्रहरीले गस्ती पनि स्टिमरबाटै गर्छन । यहाँका लागि स्टिमर नै एम्बुलेन्स हो । पर्यटकलाई भेनिसको दृष्यावलोकन गराउने साधन पनि ।जसरी हरेक घरको आगनमा कारहरु राखिन्छन । समुन्द्रको जगमा बनेका हरेक घरहरुमा डुंगा वा स्टिमरहरु त्यसैगरी बाँधेर राखिएका हुन्छन । तिनै डुंगा र स्टिमरले जीवन र जीविका धानेको छ ।
भेनिसको ईतिहास
रोमन साम्राज्यको पतन पछि जर्मनीहरुको आक्रमणबाट जोगिन भागेका मानिसहरु सुरक्षित स्थानको खोजीमा भेनिस पुगे । जहाँ पुग्न अत्यन्त कठिन थियो । तर सुरक्षित थियो । उनीहरुले समुन्द्रमा वस्ती मात्र बसाएनन, त्यही समुन्द्रमा रहेका १२४ वटा निर्जन टापुमा मानव सभ्यताको शुरुवात समेत गरे । यसरी सन ६९७ मा भेनिस गणतन्त्रको स्थापना भयो ।

सुरुमा भेनिस बीजान्टिन साम्राज्यको प्रभावमा थियो । तर यो बिस्तारै स्वतन्त्र भयो । उसले भूमध्य सागरलाई व्यापारिक प्रयोजनमा भरपुर सदुपयोग ग¥यो । समुन्द्री मार्ग मार्फत उसले युरोपमा त प्रभुत्व कायम ग¥यो नै । आफ्नो व्यापार व्यवसायलाई एशियादेखि अफ्रिकासम्म फैलायो । यसरी भेनिस धनी गणतन्त्र बन्यो । र धनी व्यापारी बर्गको घर पनि ।

कुनै बेला जर्मनीहरुको आक्रमणबाट जोगिन भागेर भेनिस आईपुगेकाहरुको शक्ति त्यसको केही दशकमा यति बलियो भयो कि उसको प्रभाव उत्तरी ईटलीदेखि ग्रिससम्म फैलियो । व्यवसायीक सफलतासंगै भेनिस अग्रणी सैन्य शक्ति भयो । उसले केही समय इटाली, स्लोभेनिया, क्रोएशिया, मोन्टेनेग्रो, अल्बेनिया, ग्रीस र साइप्रसलाई नै आफ्नो अधिनमा राख्यो ।ईच्छाशक्ति भन्दा बलियो केही हुदैन । लाखौको संख्यामा सेना भएपनि तीनमा ईच्छाशक्ति भएन भने त्यो संख्याले अर्थ रहदैन । तर ईच्छाशक्ति भए ठूला ठूला युद्ध पनि केही हजारको संख्यामा रहेका सेनाले जित्न सक्छ ।

हो, यो भनाई भेनिससंग मेल खान्छ । भेनिस केही हजार मान्छेले बनाएका हुन् । जतिबेला मान्छे बाँच्ने उपायको खोजिमा थिए, त्यतिबेला नै भेनिसियनहरुले उद्योग, व्यापार र जहाजहरुको निर्माणबाट मनग्गे आम्दानी मात्र गरिसकेका थिएनन, छुट्टै पहिचान पनि बनाईसकेका थिए ।अटलांटिक सागरमा नयाँ वाणिज्यिक मार्गहरु सञ्चालनमा आएपछि भने एक शक्तिशाली समुन्द्री गणतन्त्रको पहिचान बनाएको भेनिसको व्यापार र अर्थतन्त्रमा क्रमशः गिरावट आयो । १४ औं र १५ औं भेनिसमा ठूला र भव्य महलहरु बने । जतिबेला भेनिसको अर्थतन्त्र निकै उकासिएको थियो । तिनै कलात्मक भवनहरु आज भेनिसमा पर्यटकीय आकर्षणका आधारहरु बनेका छन् । भेनिसको सेन्ट मार्क स्क्वायर तिनै मध्येको एक हो ।

ईटालियन नौ सेनाले अहिले प्रयोग गर्ने शस्त्रागार जहाज निर्माण कारखाना भेनिसमै छ । यो त्यही कारखाना र वाणिज्यिक केन्द्र थियो, जहाँ भेनिसले वाणिज्यिक र सैन्य जहाजहरु बनाउने गथ्र्यो । जसको बलले उसले यो क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको थियो । ईटलीको उत्तरी क्षेत्र भेनेटोको राजधानी भेनिस ४१६ बर्ग किमीमा फैलिएको छ । भेनिसको जनसंख्या सन २०१७ मा २६१९०५ थियो । भेनिसमा कोभिड १९ को महामारी पूर्व वर्षेनी साढे चार करोड पर्यटक पुग्थे । तर कोभिडको महामारीपछि भने भेनिसको पर्यटन र यहाँको अर्थतन्त्र थला परेको छ ।

युरोपका हरेक देशहरुको आआफ्नै विशेषता र ऐतिहासिक महत्व छ । ठूला नदी र शहरसंग युरोपका अधिकांश देशहरुको सभ्यता र विकास जोडिएको छ । यद्दपि स्वीट्जरल्याण्ड जस्ता देशहरु पनि नभएका होईनन, जहाँका हिमाल र प्राकृतिक तालहरु पर्यटन र अर्थतन्त्रका आधारशिला हुन् ।भेनिसको सभ्यता पनि समुन्द्रसंग जोडिएको छ ।

भेनिसलाई चिनाउने थुप्रै कुराहरु छन् । र यसका थुप्रै बिशेषता र पहिचान छन् । भेनिस संसारकै महंगो शहर पनि हो । भेनिसलाई एड्रियाटिक रानी, पुलको शहर, पानीको शहर र मास्कको शहरका रुपमा पनि चिनिन्छ । संसारको पहिलो क्यासिनो सन १६३८ मा भेनिसमा स्थापना भएको हो । संसारको पहिलो ग्रयाजुयट गर्ने महिला पनि भेनिसकै हुन । उनले सन १६४८ ग्रयाजुयट पुरा गरेकी थिईन ।

नकावका लागि पनि भेनिस प्रख्यात छ । संसारको सबैभन्दा महंगो नकाव पनि भेनिसमै बनेको बताईन्छ । नकाव किन्न त पाईन्छ । तर सधै लगाउन पाईदैन । सन १६०८ को कानुन अनुसार १० प्रकारका नकाव मात्र लगाउन पाईन्छ । त्यो पनि कार्निवल फेष्टिवलको समयमा मात्र । अन्य समयमा नकाव लगाए २ वर्ष कैद र जरिवाना गरिन्छ । अझ नकाव लगाउने व्यक्तिलाई पोलमा बाँधेर सर्वसाधारणले कुटपीट गर्न पनि छुट छ ।
भेनिस जलवायु परिवर्तनको चपेटामा परेको छ । केही वर्षयता भेनिस समुन्द्रमा क्रमशः डुबिरहेको छ । यो भने भेनिसका लागि चिन्ताको विषय हो । कतिपय बीज्ञहरुले सन २०३० सम्म भेनिस समुन्द्रमा डुब्ने आकलन समेत गरेका छन् ।

भेनिस भोलिको चिन्ता गर्दैन । आज जे छ, त्यसैमा रमाउछ । भेनिसियनहरु भन्छन्, भोलि कसले देखेको छ ? जिउने त बर्तमानमा हो । भेनिस घुम्दै गर्दा २१ औं शताब्दिमा आएर पानी पानी जहाज र चुच्चे रेलका सपना देखाउने आफ्नो देशका नेताहरुलाई सम्झे । र, १५०० वर्षअघि समुन्द्रमाथि यति सुन्दर शहर बसाउनेहरुलाई नमन गरे ।भेनिससंग आफ्नो देशलाई तुलना गरेर मन किन अमिलो बनाउनु ?  अमिताभ र जिनत अमानको त्यही मिठो गीत ‘दो लफ्जों की है दिल की कहानी, या है मोहब्बत ? या है जवानी ?’ सम्झिदै रुमानी मन लिएर रोम फर्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस