अवैध मानव ओसारपसारको मुद्दाबाट उन्मुक्ति पाएका एमाले प्रदेश सांसद अधिकारी रिहा, श्रीमतीको जिम्मा लगाइयो

काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अवैध रूपमा मानव ओसारपसारमा संलग्न समूहको प्रभावमा परेर जापानसम्म पुगे पनि अवैध ओसारपसारमा भने संलग्न नदेखिएको निष्कर्ष निकाल्दै कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेसँगै उनी आजै रिहा भएका छन्।
पैसा बुझाएर जापान हिँडेका तीन जनासँग अधिकारीले रकम नलिएको, काठमाडौँमा भेट गरेर सँगै नगएको, अवैध रुपमा जापान लगेकोबारे प्रहरी अधिकारीहरूलाई जानकारी दिएको, परिचय पत्र बनाउन संलग्न नदेखिएको र उनको हस्ताक्षर किर्ते देखिएको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो।
कोशीको कानुन मन्त्री रहेको बेलामा अधिकारी प्रदेश सरकारको मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृति नै नगराइ काठमाडौँ जान्छु भनेर जापान हिँडेका थिए। तर जापानको अध्यागमनले शङ्का लागेर उनीसहित चार जनालाई नेपाल डिपोर्ट गरेको थियो।
उनीसँगै डिपोर्ट भएका तीन जना प्रहरी हिरासतमा पुगेपछि अधिकारी विवादमा तानिए। उनले मन्त्री पदबाट राजीनामा दिएपछि प्रहरीले अदालतको अनुमति लिएर अनुसन्धानका लागि विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।