सिड्नीमा ‘नेपाल फेस्टिभल’, मुख्यमन्त्री मिन्सले भने- एकता र सद्भाव नेपालीबाट सिक्नुपर्छ

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ‘नेपाल फेस्टिभल-२०२४’ आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हरेक दुई वर्षमा फेस्टिभल आयोजना गर्दै आएको छ ।
यस पटकको ‘नेपाल फेस्टिभल’ सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा आयोजना गरियो । हजारौं नेपाली राष्ट्रिय झण्डा फहराउँदै ढाकाटोपी, दौरा-सुरूवाल र साडीमा सजिएर परेडमा सहभागी भए । त्यस अवसरमा नेपाली बाजा र झाँकी सहित परेड पनि निकालिएको थियो ।
नेपाली कला-संस्कृतिलाई पर्यटनको माध्यमबाट चिनाउने उद्देश्यले नेपाल फेस्टिभल आयोजना गरिएको गैरआवासीय नेपाली संघ न्यु साउथ वेल्स राज्यका सचिव कल्याण खड्काले बताए । टाउन हलबाट सुरु भएको सांस्कृतिक परेडका कारण इतिहासमै पहिलो पटक सिड्नीका केही सडकको आवागमन नै ठप्प भएको थियो । प्रहरीको स्कर्टिङमा भएको परेडले धेरै सिड्नीवासीको ध्यान तानेको थियो ।
फेस्टिभलमा पहिलोपटक सिड्नी न्यू साउथ वेल्स राज्यका मुख्यमन्त्री क्रिस मिन्स सहभागी भए । मुख्यमन्त्री मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान समेत सहभागी थिए । कार्यक्रममा न्यु साउथ वेल्सका बहुसांस्कृतिक मन्त्री स्टीभ काम्पर समेत नेपाल फेस्टिभलमा सहभागी भएका थिए ।
मुख्यमन्त्री मिन्सले हजारौं सहभागी भएको नेपाल फेस्टिभलमा आफू सहभागी हुन पाउँदा खुसी लागेको बताए । ‘एकता र सद्भाव के हो नेपालीहरूबाट सिक्नुपर्छ’ उनले भने ।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन अस्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतिक मनोरञ्जन दिएका थिए । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाल फेस्टिभलले यहाँ रहेका नेपालीलाई एकापसमा जोड्न भूमिका खेलेको बताए ।
बिहान १० बजेदेखि राति १० बजेसम्म चलेको फेस्टिभलमा नेपाली खाना, नेपालीहरुले सञ्चालक गरेका व्यवसायका साथै अस्ट्रेलियाका व्यावसायिक संघसंस्थाले सहभागिता जनाएका थिए । फेस्टिभलमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो, जसमा काठमाडौंको धरहरा, पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो ।