बिथोलिएको माओवादी आमसभा

०५७ साल जेठ दोस्रो साता । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को भ्रातृ संगठन अखिल क्रान्तिकारी किसान महासंघको आमसभाको मौखिक निमन्त्रणा प्राप्त भयो । २०५२ साल फागुन १ गते ‘जनयुद्ध’का नाममा सशस्त्र संघर्ष शुरू गरेको माओवादीले त्यतिबेला कैलालीमा आफ्नो संगठन आक्रामक रूपमा विस्तार गरिरहेको थियो । माओवादी पार्टी भूमिगत भए पनि उसका भ्रातृ संगठनहरूले प्रहरीबाट जोगिएर खुला कार्यक्रमहरू गरिरहेका थिए । कैलालीका ग्रामीण बस्तीहरूमा सरकारका विरुद्ध भित्ते–लेखन शुरू भइसकेको थियो । ‘सामन्ती र सुराकी’ उनीहरूको टार्गेटमा थिए ।
धनगढीमा औंलामा गन्न सकिने पत्रकार थियौं । सुदूरपश्चिममा पत्रकारिता बामे सर्दै थियो । कान्तिपुर, हिमालय टाइम्स, नयाँ सडक, रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन, रासस, नेपाल समाचार पत्र लगायत पत्रिकाका रिपोर्टर धनगढीमा कार्यरत थिए । जसले स्थानीय स्तरमा समेत प्रकाशन गर्थे । धनगढीबाट सेती समाचार प्रकाशित हुँदै आएको थियो । त्यसपछि थपियो, नेपाल टाइम्स दैनिक । मातृ सन्देश साप्ताहिक पनि प्रकाशित हुन थाल्यो । कञ्चनपुरको महेन्द्रनगरबाट फारवेष्ट टाइम्स, अभियान र नयाँ मुलुक दैनिक र महाकाली साप्ताहिक प्रकाशित हुन्थ्यो ।
माओवादीले संगठित रूपमा कुनै विशाल आमसभा गरिसकेको थिएन । माओवादीले कैलाली र चुरेको जंगल क्षेत्रमा सेना तयार गरिरहेको र उनीहरूलाई तालिम दिइरहेको सूचनाहरू प्राप्त भइरहन्थे । त्यसले देश ठूलो युद्धको भड्खालोमा पर्ने भय व्याप्त थियो । को माओवादी ? को सरकारको सुराकी ? थाहा हुँदैनथ्यो । सेनाका सुराकी र माओवादी हामीभित्र पहिचान लुकाएर काम गरिरहेका छन् भन्ने भान हुन्थ्यो ।
त्यसैले पत्रकारहरू दुवै पक्षको निगरानीमा थिए । दुवै पक्षको तारो थिए । यद्यपि उनीहरूका लागि आफ्नो सूचना जनतामाझ पु¥याउन पत्रकारहरूको सहारा लिनुपर्ने एक प्रकारको बाध्यता थियो । हामीलाई माओवादीले आमसभाको रिपोर्टिङ गर्न त्यही बेला खबर पठायो । म त्यतिबेला सेती समाचार दैनिकमा संवाददाताका रूपमा काम गर्थें । त्यसका साथै नयाँ सडक राष्ट्रिय दैनिकका लागि धनगढीबाट रिपोर्टिङ गर्थें ।
माओवादीको आमसभामा जानु जोखिमपूर्ण थियो । पहिलो कुरा त आमसभा कहाँ हुँदैछ ? कहिले र कुन समयमा हुँदैछ ?जानकारी दिइएको थिएन । आमसभामा प्रहरी पुगे जे पनि हुन सक्ने डर थियो । शेरबहादुर बस्नेत स्थानीय साप्ताहिक पत्रिकासँग एक गैरसरकारी संस्थाको मुखपत्र सामाजिक रूपान्तरणको सम्पादन गर्थे । उनीसँग कुरा भयो । हामी दुवै जनाबीच आमसभामा जान सहमति भयो । र, हामी १३ जेठ २०५७ को साँझ साइकलमा फूलवारीतर्फ हान्नियौं । हामी पालैपालो साइकल चलाएर राति फूलवारी पुग्यौं । त्यो माओवादीको आधार इलाका थियो । फूलवारीको बहुलियामा प्रहरी चौकी थियो । प्रहरी गस्तीमा भने निस्किंदैनथे । माओवादीहरू निर्वाध रूपमा आफ्ना कार्यक्रमहरू गर्थे ।
राति पत्रकार बस्नेतका दाइको घरमा खाना खायौ । त्यतिबेलासम्म स्थानीय माओवादी कार्यकर्ताहरू हाम्रो सम्पर्कमा आइसकेका थिए । र, माओवादी पार्टीभित्र पनि दुई जना पत्रकार फूलवारी पुगेको खबर पुगिसकेको थियो । खाना खाएपछि एक जना माओवादी कार्यकर्ता हामीलाई लिन आए । र, त्यहाँबाट एउटा विद्यालयमा पु¥याए । त्यो, फूलबारी माध्यमिक विद्यालय थियो । हामीभन्दा पहिले त्यहाँ माओवादी नेता र कार्यकर्ताहरूसँगै सर्वसाधारणहरू जम्मा भइसकेका थिए ।
चकमन्न अँध्यारो रात । माओवादीहरू । नयाँ ठाउँ । डर । कानेखुशी गरेर संवाद गरिरहेका व्यक्तिहरू । जोरले बोल्न अनुमति थिएन । टर्च बाल्न वा उज्यालो निषेध थियो । मोबाइल आइसकेको थिएन । जे भन्छन्, त्यो सुन्नु । बस्, चुपचाप बस्नु । कहाँ लैजाँदै छन् ? कसैलाई सोध्ने अनुमति थिएन ? र, त्यहाँ उपस्थित अधिकांशलाई त त्यो पनि थाहा थिएन, कहाँ आम सभा हुँदैछ ? कहाँ लैजाँदै छन् ! अन्धकार थियो । र, हामी चुपचाप थियौं । ‘कमरेड अनु’ त्यो भीडमा अलि बढी नै सम्बोधन गरिएको नाम थियो । उनी फूलबारी एरिया इञ्चार्ज थिइन् । र, त्यो भीडलाई त्यहाँबाट गन्तव्यतर्फ पठाउने जिम्मेवारी उनको काँधमा थियो । झन्डै २०/२१ वर्षकी एक युवती त्यो भीडको नेतृत्व गरिरहेकी थिइन् ।
माओवादी पार्टीमा अनु उपनामले चिनिने लीला भण्डारी त्यही कमाण्डर थिइन्, जो माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधान सभाको निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५ बाट अत्यधिक मतले निर्वाचित भएकी थिइन् । मध्यराति हामीलाई माओवादी कार्यकर्ता र सर्वसाधारणहरूसँगै ट्याक्टरमा राखियो । र, त्यहाँबाट हामी चढेको ट्याक्टर हिंड्यो । हाम्रो पछाडि अर्को ट्याक्टर थियो । एउटा ट्याक्टरलाई अर्कोले पछ्याइरहेको थियो । चालक आफूखुशी ट्याक्टर चलाउन पाइरहेका थिएनन् । चालक छेउमा बसिरहेका माओवादी कार्यकर्ताले जता भन्यो, चालकले त्यतै लगिरहेका थिए ।
मध्यरात । उबडखाबड बाटो । अहिले जस्तो कल्भर्ट र पुल बनिसकेका थिएनन् । बस्तीहरूमा विद्युत् जडान भइसकेको थिएन । अन्धकार थिए, बस्तीहरू । र, सडक अत्यन्त खराब । धुलाम्य सडक । धुलोमा ट्याक्टर फस्थ्यो । त्यहाँबाट ट्याक्टर निस्किंदा, पहिले धुलो उड्थ्यो, अनि ट्याक्टर । ट्याक्टरमा बसेकाहरू धुलोले ढाकिन्थे । कता लैजाँदैछन् ? कसलाई सोध्ने ? बताउने पनि त कोही थिएन । सबै हामी जस्तै थिए, जसलाई कहाँ जाँदैछौं भन्ने सूचना नै दिइएको थिएन । रातभरि ट्याक्टरहरू कुदिरहे । कतिखेर जंगल । कतिखेर बस्तीमा ट्याक्टर गुडिरहेका हुन्थे । मेरो जीवनको यो पहिलो यात्रा थियो, कैलालीका ग्रामीण बस्तीहरूको ।
माओवादीको आमसभाको रिपोर्टिङ गर्न पाइने उत्कट इच्छाले डरलाई मनभित्रै दबाएर हामी धुलो खाएर चुपचाप ट्याक्टरको यात्रा गरिरहेका थियौं । भोक, प्यास र पीडा सुनाउनु कसलाई ? सुन्ने को ? जता लग्यो, त्यतै जानु हाम्रो बाध्यता थियो । माओवादीका केन्द्रीय नेताहरू हेर्न पाइने, उनीहरूका विचार र भाषण सुन्न पाइने लालसा थियो । त्यसले धुलो र उबडखाबड सडकमा खेप्नु परेका सास्ती र डरलाई ओझेलमा पारेको थियो । त्यसमाथि यसरी राति त कहिल्यै ट्याक्टरमा यात्रा गरेकै थिएन । कहाँ पुग्यौं ? कुन बस्तीमा छौं ? कुन जंगलको बाटो हो ? त्यो थाहा हुने कुरै भएन । बस्, यत्ति थाहा थियो, भोलि हुने आमसभामा लैजाँदैछन् । बिहान चार बजेतिर एउटा जंगलको मध्यभागको खुला चौरमा हामीलाई ट्याक्टरबाट झर्न लगाइयो ।
न ओढ्ने । न बिछ्याउनलाई केही । बिहानको चार बजिसकेको थियो । थकित अनि गलित थियौं । भोक उस्तै लागेको थियो । पानीसम्म पिउन पाएका थिएनौं । त्यस्तो अवस्थामा सुत्नु कसरी ? नसुतौं, रातभरि जाग्राम बसे भोलि अनिंदोले असर गर्ने । डर कहाँ गयो ? भोक कहाँ हरायो ? तिर्खा सम्झेर कति छट्पटिनु ? त्यही खुला चौरमा हामी निदायौं ।
झिसमिसमै निद्रा खुल्यो । मुश्किलले एक/डेढ घण्टा निदायौं । भोक लागेको थियो । बिहान माओवादी कार्यकर्ताहरूले केही खानेकुरा दिए । त्यहाँ नजिकै तरभुजा खेती थियो । तरभुजा खायौ । बिहान मात्र थाहा भयो, हामी हसुलियाको मझरामा थियौं ।त्यहाँबाट फेरि शुरू भयो, अर्को दिनको यात्रा । बिहान करीब नौ बजे ट्याक्टरमा चढेर हामी मझराबाट हिंड्यौ । सबै माओवादीका हातमा हतियार थिएनन् । केहीसँग साना हतियार र केहीसँग भरुवा बन्दुकहरू थिए । माओवादी अर्ध–भूमिगत थिए । माओवादीका मुख्य नेताहरू सार्वजनिक मञ्चहरूमा देखिंदैनथे । तर भ्रातृ संगठनका नेता र कार्यकर्ताहरू भने खुलेयाम हिंड्थे । उनीहरू परिचय भने दिंदैनथे ।
ट्याक्टरहरू धुलो उडाउँदै अघि बढे । हामी पूर्ववत् ट्याक्टरमा चुपचाप बसिरह्यौं । एउटा माओवादी नेताको सिमाना कटेपछि अगाडिको बाटो देखाउने जिम्मा अर्को एरिया इञ्चार्जको हुन्थ्यो । र, उसले ट्याक्टरलाई बाटो बताउँथ्यो । यसरी माओवादीका एरिया इञ्चार्जहरूले आ–आफ्नो एरिया पार गराउँथे । उनीहरूलाई पनि थाहा थिएन कि कहाँ आमसभा हुँदैछ ? बस्, उनीहरूको जिम्मेवारी हुन्थ्यो, आफ्नो एरिया सुरक्षित रूपमा पार गराउनु । ट्याक्टरले थुपै्र बस्ती र जंगल पार गरिसकेको थियो । तर आमसभा हुने ठाउँको पत्तो थिएन ।
तीन घण्टाको यात्रापछि पहलवानपुरको बनवर्सा पुग्यौं । आमसभा स्थल त्यही थियो । हामीभन्दा पहिले नै दर्जनौं ट्याक्टरहरू त्यहाँ पुगिसकेका थिए । कैलालीका विभिन्न भागबाट हजारौंको संख्यामा सर्वसाधारणहरू ट्याक्टरमा त्यहाँ पुगेका थिए । र, आमसभा शुरू भइसकेपछि पनि ट्याक्टरहरू आउने क्रम रोकिएको थिएन । तर पछि भने ठाउँठाउँमा प्रहरीले ट्याक्टरहरू आमसभा स्थल जानबाट रोकेको खबर आयो । सबै ट्याक्टरहरू त्यहाँ आउन नपाई बाटोबाटै फर्के ।
आमसभा, अखिल नेपाल क्रान्तिकारी किसान महासंघको आयोजनामा हुँदै थियो । कार्यक्रमका अध्यक्ष थिए, अखिल क्रान्तिकारी किसान संघका जिल्ला अध्यक्ष खुशीराम चौधरी । तिनै खुशीराम यतिबेला नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य छन् । आमसभालाई माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहालले सम्बोधन गर्ने भनिएको थियो । उनी अन्तिम समयमा आमसभामा उपस्थित हुन सकेनन् ।
उनी अनुपस्थित भए पनि आमसभालाई सम्बोधन गर्न किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, माओवादीको सेती महाकाली ब्युरोकी इञ्चार्ज पम्फा भुसाल, लेखराज भट्ट ‘राकेश’, दामा शर्मा, माया भाट र जनार्दन शर्मा ‘प्रभाकर’ आएका थिए ।आमसभाको मञ्चको पछाडिपट्टि कन्द्रा नदी थियो । र, नदी पारि जंगल । आमसभा स्थलको अगाडि थियो, नदी बगरको ठूलो खुला चौर । र, चौरमा आउने तीनतिर बाटा थिए । दिउँसो त्यहाँ आमसभा शुरू भयो ।
मञ्चमा माओवादीका नेताहरूले आसन ग्रहण गरिसकेका थिए । र, स्वागत मन्तव्य सकिएसँगै माओवादी नेताले सम्बोधन गर्न थालेका थिए, त्यही बेला तीनतिरबाट प्रहरीका गाडीहरू आमसभास्थल भित्र प्रवेश गरे । त्यसपछि भने सर्वसाधारण र माओवादी कार्यकर्ताहरू तितरवितर हुन थाले । कार्यक्रम सञ्चालकले मञ्चबाट नभाग्न सहभागीहरूलाई आग्रह गरिरहेका थिए । प्रहरीको प्रवेशपछि आमसभाका सहभागीहरू आतंकित भइसकेका थिए ।
त्यहाँ टीकापुर र धनगढीबाट थुप्रै पत्रकारहरू पुगेका थिए । मञ्चको अगाडि रहेका पत्रकारहरू पनि प्रहरी आमसभास्थलभित्र प्रवेश गरेपछि अप्रिय घटना हुनसक्ने भयले त्यहाँबाट बाहिर निस्किए । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक तिलक श्रेष्ठ अगाडिको गाडीमा थिए । यो पंक्तिकारसँगै थिए, पत्रकार हेमन्त पौडेल । उनले हामीलाई चिन्थे । गोली चल्न सक्ने संकेत दिएका उनले त्यहाँबाट निस्किन सुझाव दिए । हामी आमसभा स्थल छोडेर पहलवानपुर जाने बाटोतिर लाग्यौं ।
हामी भीडमा थियौं । त्यो भीडमा थिए, माओवादी समर्थक र कार्यकर्ताहरू । हुन त, त्यसभित्र सर्वसाधारणहरू पनि थिए, जसलाई माओवादीले जोरजबर्जस्ती र करकापमा ल्याएका थिए । तर गोलीले भीडभित्रका हामीलाई चिन्ने कुरै भएन । त्यसैले भीडबाट अलग हुनु उचित ठान्यौं ।
आमसभास्थल वरिपरि माओवादीका थुप्रै सुरक्षा घेरा थिए । नेताहरूलाई सुरक्षा दिने विशेष टीम थियो । हुन त, माओवादीले आमसभा स्थलमा आउने सबै बाटाहरूमा आफ्नो सुराकी राखेका थिए । जसले सूचना दिन नपाउँदै प्रहरी आमसभा स्थल पुगेको थियो । माओवादीले पनि अनुमान गरेको थिएन कि, यति चाँडो, यस्तो विकट ठाउँमा प्रहरी यति सजिलै पुग्नेछ । प्रहरीको उपस्थिति माओवादीका लागि अनपेक्षित थियो ।
माओवादीहरूसँग हतियार नभएको त होइन, तर प्रहरीसँग भिडन्त गर्ने पक्षमा माओवादी थिएन । किनकि दोहोरो भिडन्त भए ठूलो मानवीय क्षति हुनसक्ने उसको पूर्वानुमान थियो । त्यही कारण हुनसक्छ, माओवादीले प्रत्याक्रमण गरेन । प्रहरीले शुरूमा भीड तितरवितर गर्न अश्रुग्याँस प्रहार ग¥यो । अश्रुग्याँसले सहभागीहरूका आँखा पोल्न थाल्यो । प्रहरी त्यत्तिमै रोकिएन । उसले अश्रुग्याँसका गोला भीडमा बर्साइरह्यो । त्यसपछि भने आमसभाका सहभागीहरूको भागाभाग भयो । भागदौडका क्रममा भीडमा कति मान्छे च्यापिए । कति घाइते भए । सबैलाई ज्यान प्यारो । आमसभा पूरै बिथोलियो ।
प्रहरीले अश्रुग्याँसपछि गोली चलायो । गोली लागेर एक जनाको आमसभा स्थलमै मृत्यु भयो । मृत्यु हुने चौमालाका बलबहादुर चौधरी थिए । पछि माओवादीले उनलाई शहीद घोषणा ग¥यो । प्रहरीको गोलीले भयंकर उपनामले चिनिने माओवादी नेताको कान छेड्यो । उनी आमसभाका गम्भीर घाइते हुनेमध्ये एक थिए । प्रहरी आक्रमणमा मुश्किलले जोगिएका कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगर बस्ने भयंकरको गोलीले चुँडेको त्यो कान छैन । भागदौडमा कति घाइते भए त्यसको त लेखाजोखा नै भएन ।
प्रहरीले गोली प्रहार गर्न थालेपछि केन्द्रीय नेताहरूको सुरक्षामा खटिएका माओवादीका लडाकुहरूले पिठ्युँमा राखेर कन्द्रा नदी तारेर जंगलमा सुरक्षित पु¥याए । अरू माओवादी नेताहरूले त्यतिबेलासम्म आमसभास्थल छोडिसकेका थिए । प्रहरीले आक्रमण गरे पनि माओवादीबाट प्रत्याक्रमण नहुँदा ठूलो क्षति हुनबाट जोगियो । हामी त्यहाँबाट निस्किएर पहलवानपुरस्थित पूर्व पश्चिम राजमार्ग पुग्यौं । हामी फर्किंदै गर्दा माओवादीका समर्थकहरू काठका पुलहरू भत्काएर प्रहरीको बाटो अवरुद्ध गरिरहेका थिए । भयानक त्रासदी व्यहोरेका हामीहरू मृत्युको मुखबाट जोगिएर साँझ धनगढी पुग्यौं ।
यसअघि कैलालीमा माओवादी र प्रहरीका बीच भिडन्तका केही छिटपुट घटना भएका थिए । माओवादीले आफ्ना निहत्था कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीले हत्या गरेको आरोप लगाउँथ्यो । २०५५ सालको फागुनमा बलियाको कौवापुरमा प्रहरीको आक्रमणमा भीमबहादुर भाट सहित दुई जना माओवादी कार्यकर्ता मारिएका थिए । सो घटनामा सुराकी गरेको आरोपमा माओवादीले तरुण दलका नेता लोकराज ढकाललाई कौवापुरमा मारे । त्यस्तै बालुवा खोलामा माओवादी कार्यकर्ता भानु आचार्य प्रहरी आक्रमणमा मारिएका थिए । ढकाल कैलालीमा माओवादीको आक्रमणमा मारिने नेपाली कांग्रेसका पहिलो कार्यकर्ता थिए ।
(पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकबाट)