प्रेस काउन्सिल नेपालद्धारा नौवटा युट्युब च्यानललाई कारबाही

द एभरेष्ट पोष्ट
४ मंसिर २०८१ १४:३९
प्रेस काउन्सिल नेपालद्धारा नौवटा युट्युब च्यानललाई कारबाही

काठमाडौं, ४ मंसिर ।
प्रेस काउन्सिल नेपालले नौवटा युट्युब च्यानललाई कारबाही गरेको छ ।

प्रेस काउन्सिल नेपालले एक बिज्ञप्ति जारी गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरेको दाबीसहित विभिन्न नौवटा युट्युब च्यानललाई कारबाही गरेको जनाएको छ ।

दर्ता र सूचीकरणबिना चलेका, मिडियासँग आबद्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको र मिडियाअन्तर्गत आबद्ध भएका अन्य च्यानललाई अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन वा स्थगन गर्न निर्देशन दिइएको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्धारा मंगलवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको अनुगमन गरिरहेको जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज, अफवाहपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकताका साथ स्थान दिएर प्रसारण भएकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

“त्यस किसिमका सामग्री सम्प्रेषण हुनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिताविपरीत कार्य हुन्, विज्ञप्तिमा भनिएको छ, त्यस्ता गलत, निराधार, अफवाहपूर्ण, भ्रमपूर्ण, अतिरञ्जित शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, अमर्यादित सामग्री सम्प्रेषण भइ आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।”

यसैगरी, काउन्सिलले पत्रकारिताका मूल्यमान्यताविपरीत गलत, समाजमा उत्तेजना फैलाउने, हिंसा, एवं द्वन्द्वलाई प्रश्रय दिने, प्रायोजित एवं पक्षपोषणयुक्त घृणा तथा द्वेष फैलाउने सामग्री नगर्न नगराउन आग्रहसमेत गरेको छ ।

 

press-Bigyapti-2081-08-04-1732022803.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस