बा

द एभरेष्ट पोष्ट
४ मंसिर २०८१ २:२९
बा

गोविन्द रिजाल ।

हिजो बा,

फुरङ्ग हुनु भा थियो

छोरा जन्मिएकोमा

भुईमै खुट्टा थिएन बा को

बधाई थाप्नुको चटारो

सुत्केरीको स्याहार सुसार

छैठी न्वारान भोज भतेर

आफन्तको चहलपहल

भ्याई नभ्याई थियो बा लाई ।।

 

यसो अनुहार हेर्नुहुन्छ बा ले छोराको

खै के सोच्नुहुन्छ

र मन्द मुस्कुराउनु हुन्छ

जिस्काईदिन्छ कसैले

काटिकुटी बाबू जस्तै

लजाउनु हुन्छ बा

टाउको निहुराएर ।।

 

विस्तारै छोरो,

हुर्किएको छ

हर्लक्कै बढेको छ

पढेको छ शहर पसेर

तर बा अझै निहुरीरहनु भएको छ

खेतका आलिमा

पाखोवारीका कान्लामा

भोको पेटमा पटुकि कसेर

किनकी छोरालाई ठुलो मान्छे बनाउनु छ

र चिनिनु छ फलानोको बा भनेर ।।

 

मतलब छेैन बा लाई,

आफ्नो भोकको

फुटेका पैतलाको

जवानिमै चाउरिएका गालाको

फाटेको जाँघेको

फिटा टालेको हात्ती छाप चप्पलको

छाना उजाडिएको छाप्रोको

किनकी छोरालाई ठुलो मान्छे बनाउनु छ

र चिनिनु छ फलानोको बा भनेर ।।

 

थाहा छ बा लाई,

यो देश ठुलाको हो ठालुको हो

हलो जोत्नेको होईन

गफ चुत्नेको हो

त्यसैले त बा लाई पनि ठुलो हुने रहर छ

केवल एक सपना छ बा को

आफुले पूरा गर्न नसकेको सपना

ठुलो मान्छे बन्ने सपना

छोराबाट पूरा गराउनु छ बा ले

त्यसैले त बा ले यो सब गरीरहनु भएको छ

छोराको निम्ति

किनकी बा ले छोरालाई ठुलो मान्छे बनाउनु छ

र चिनिनु छ फलानोको बा भनेर ।।

 

कुनै दिन,

यही शहरको छोराको छिडि कोठामा

बा आउनु हुन्थ्यो

अलिकति गुन्द्रुक लिएर

दुई माना घिउ लिएर

दुई पाथि सेरी खेतको चामल लिएर

आमाको माया नासो लिएर

पुरै गाँउको रैवार लिएर ।।

 

तर आज छोरा,

महलमा सरे देखि

गाउँ विरानो भयो

बा गँँवार भए

दाजु भाई पाखे भए

आफन्त आफन्त रहेनन

दुई थान कुकुरसँग छ उस्को सामिप्यता ।।

 

हुन त बा लाई,

केही दिन वास नदिएको होईन छोराले

महलको छिडी कोठामा

के गर्नु

कसैले सोधे बा भन्न गाह्रो मान्छ छोराले

उसको ईज्जत घट्छ रे

साथिभाईले के सोच्लान भन्ने डर छ

बा ले घर छोडेर गईदिए हुन्थ्यो भा छ उस्लाई

सबै वुझेर पनि नवुझेझै गर्नु हुन्छ बा

किनकि छोरो ठुुुुलो मान्छे भएको छ

तर पूरा भएको छैन बा को फलाना को बा सुन्ने रहर ।।

 

आज बिहान,

मन्दिरबाट फर्किदा

गेटमै एक थान बोर्ड थपिएको छ

प्रवेश निषेधको रसावधानको ।।

 

कुकुरदेखी सावधानको बोर्ड

गेटमै झुण्डिएदेखि

बा र घरको सम्बन्ध सकियो

रगतको नाता सकियो

बा लाई पनि प्रवेश दिएन

त्यो कुकुरले

मालिकको ईज्जत घट्ने डरले ।।

 

आज बा,

फेरी छोराकै ईज्जत जोगाउन

बसाई सर्नु भएको छ

खोला छेउमा

र हेर्दै बस्नुहुन्छ त्यहि घर

वृद्धाश्रमको झ्यालबाट

अझेै मरेको छैन बा को ठुुुुलो मान्छे बन्ने सपना

फलानाको बा भनेर चिनिने रहर ।।

 

तर छोरा,

देश बदल्ने गफ गर्छ

समाज परिवर्तनको वकालत गर्छ

सबै भन्दा जान्ने भएको अभिनय गर्छ

ठुलो मान्छे भएको अहंकारसँगै

त्यही वृद्धाश्रममा गएर

बा को एक थान तस्वीर ल्याउछ

र मुहार पुस्तिकामा देखाउछ

पितृ भक्ति ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस