आमा

द एभरेष्ट पोष्ट
४ मंसिर २०८१ २:१६
आमा

भानुभक्त आचार्य

१।
टोड्कोभित्र अजंगको सर्प पसेर
बच्चाहरु खाँदै गरेको देखेपछि
कोकलेका बा–आमाहरु हुर्दुराउँदै आए,
हाँगामा बसे, कराए, साथीहरु बोलाए,
आधा जीउ घुसाएर बचेरा खाइरहेको
त्यो अजिंगर तर्साउने कसको हिम्मत रु
बाउ छेउमा बस्यो करायो, चूप लाग्यो ।
तर, बचेराकी आमाले मन थाम्न सकिन
हिम्मतले सर्पसँग पौठेजोरी खेल्न गई,
उसको आक्रमणमा परी, अनि मरी ।
सौभाग्य, कोकलेको यौटा बच्चा बाँच्यो ।
यस्ता लाखौं आमाहरुको उत्सर्गले
बचाएको विरासत हो यो श्रृष्टि ।

२।
केही अघि एउटी मृगिणी आमाले
उसका चार महिने पाठाहरुलाई बचाउन
दुइटा चितुवालाई आफ्नो जीवन सुम्पेर
आफू नमरुन्जेलसम्म एकोहोरिएर
बच्चाहरु स्वतन्त्र भाग्दै गरेको हेरी ।
मृत्युलाई जीवनले, बेदनालाई करुणाले
पराजित गरेको झल्को दिने गरी
इन्टरनेटमा भाइरल त्यो तस्बिरजस्तै
हाम्रो जीवन आमाको उपहार हो ।
सन्तानभित्र आफ्नो अस्तित्व देख्ने
सन्तानको सुखका लागि मरिमेट्ने
आमाहरुको साहदत्तलाई सलाम ।


हाम्रै वरपर कुकुर्नीले छाउराहरुलाई
बाउको सिकार हुनबाट जोगाएकी छे
सुत्केरी बिरालीले ढाडेबाट जोगाउन
सयौं पटक बच्चाहरु सारेकी छे ।
ढोइले छावालाई ह्याकुलाभित्र राखेर
बाघ र सिंहहरुबाट बचाएकी छे ।
बिरामी, भोको वा घाइते भए पनि
बघिनीले डमरुलाई दूध चुसाएकी छे ।
माकुराकी आमालाई थाहा होला
उसका बच्चाहरुले उसैलाई खानेछन् ।
तैपनि उसले बच्चा जन्माएकै छे
किनकि उसलाई यो श्रृष्टि थाम्नु छ ।

४।
मान्छेको होस् या अमान्छेको
यो श्रृष्टि करोडौं आमाहरुको
बलिदानको दस्तावेज हो ।
आमाको सौंर्य, त्याग, तपस्या
ममता, साहस र दायित्वबोध
अनि करुणाहरुको भण्डार हो
हामीले भोगिरहेको यो श्रृष्टि ।
हामीसँग आमाले दिएको शरीर,
आमाबाट सापटी लिएको रगत,
आमाको फुँकेको श्वासप्रश्वास छ ।
अब अलिकति आमाको पन पनि
आफूभित्र हुर्काउन सक्यौं भने
अर्को स्वर्ग खोज्दै भौतारिनै पर्दैन ।

५।
त्यसैले म विश्वस्त छु,
करुणा र त्यागकी प्रतिमूर्ति
आमा यो धरतीमा रहुन्जेल
ईश्वरको अस्तित्व रहिरहन्छ
श्रृष्टिको चक्र घुमिरहन्छ ।
तसर्थ, हे मानवहरु, जाऊ
आस्थाका हरेक मन्दिरमा
आमाका तस्बिरहरु सजाउ
आमालाई स्वयम् उभ्याउ ।
आमाको पूजा गर, ढोग,
तर नखोज आमाभन्दा ठूलो ईश्वर
किनकि ऊ आफैं आमाको श्रृष्टि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस