इजरायलसँग युद्धविराम गर्न लेबनानलाई इरानको साथ, नेतान्याहु बाधक भएको आरोप

इरानले लेबनानको समर्थन गर्ने बताएको छ। इजरायलसँग युद्धविराम गर्ने निर्णय गरेमा लेबनानको समर्थन गर्ने इरानले बताएको हो।
इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानी शुक्रबार लेबनान पुगेका थिए। त्यहाँ उनले कार्यवाहक प्रधानमन्त्री नाजिब मिकाती र लेबनानको संसदका सभामुख नाबिह बेरीसँग भेट गरे।
रोयटर्सका अनुसार बिहीबार, लेबनानका लागि अमेरिकी राजदूत लिसा जोनसनले बेरीलाई युद्धविराम प्रस्तावको मस्यौदा प्रस्तुत गरेका थिए।
उक्त मस्यौदामाथि हिजबुल्लाह पनि सहमत छ। अमेरिकाको युद्धविराम प्रयासलाई कमजोर पार्न लेबनान आएको भनेर सोध्दा लारिजानीले भने, ‘हामी कुनै पनि कुरालाई बढाउन खोजिरहेका छैनौं। हामी समस्याको समाधान खोजिरहेका छौं।’ उनले भने, ‘हामी लेबनानी सरकारलाई सबै परिस्थितिमा समर्थन गर्छौं। युद्धविराममा बाधा पुर्याउने नेतान्याहु र उनका जनता हुन्।’ इजरायलले हिजबुल्लाह नियन्त्रित बेरुतको दक्षिणी क्षेत्रमा लगातार चौथो दिन पनि हवाई आक्रमण जारी राखेको छ।
इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले युद्धास्त्र गोदाम, मुख्यालय र अन्य हिजबुल्लाह पूर्वाधारमा आक्रमण गरेको बताएको छ।