वक्यौता नउठे नेपाल सरकार जिम्मेवार : घिसिङ

काठमाडौ, २८ कात्तिक ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युतको वक्यौता नउठे त्यसको जिम्मेवार नेपाल सरकार र उर्जा मन्त्रालय हुने बताएका छन् ।
बुधवार प्राधिकरणमा विद्युत महशुल नतिरेको भन्दै उद्योगहरुको लाईन काटेका घिसिङले सरकारको निर्देशमा लाईन जोडेको बताए ।
व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् ।
उनले नेपाल सरकारको निर्देशनअनुसार उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको बाँकी वक्यौता १५ दिनभित्र वक्यौता बुझाउनुपर्ने बताए ।
उनले १५ दिनको अवधिमा वक्यौता नबुझाए प्राधिकरण आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने चेतावनी दिए ।
कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुसँग विद्युत वक्यौता उठाउन निर्देशन दिएको भन्दै त्यसको कार्यान्वयन प्राधिकरणले उद्योगको लाइन जोडेर शुरु गरेको बताए ।
निर्देशक घिसिङले प्राधिकरणले कानूनी रूपमा वक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएकाले कार्यान्वयन गर्न प्राधिकरण बाध्य भएको बताए ।
प्राधिकरणले विभिन्न समयमा गरी तीन पटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिरहेको भन्दै अहिले पनि सरकारको निर्देशन र निर्णयलाई प्राधिकरणले पालना गरेको बताए ।
कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर गरे ।
घिसिङले मन्त्रिपरिषद् बैठकले आईतवार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने बताए ।
उनले अहिलेसम्म प्राधिकरणले काटेको बिल कुनै पनि निकायले ठिक छैन नभनेको भन्दै त्यही बिलका आधारमा वक्यौता रकम उठाउने बताए ।