वेवारिसे बडिमालिका : फुल, जडिबुटी र वन्यजन्तु लोप हुँदै

वसन्तप्रताप सिंह
बडिमालिका (बाजुरा),२७ कात्तिक ।
बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँ २७ वर्ष अघि २०५२ सालमा पहिलो पटक बडिमालिका पुगेका थिए । त्यहाँको अलौकिक दृष्य देखेर उनी यसरी रोमाञ्चित भएका थिए की त्यो सम्झना अझै पनि उनको मनमा गाढा भएर बसेको छ ।
‘ओ हो त्यसरी फुल फुलेका त मैले कतै पनि देखेको थिएन । जता हेर्यो त्यतै ढकमक्क फुल फुलेका । फुल होकी ? गलैंचा बिछ्याएको हो ? छुट्याउनै गाह्रो पथ्र्याे’ उनले भने ‘फुलले नढाकेको त कुनै ठाउँ नै थिएन । त्यस्तो अदभुत दृष्य देख्दा स्वर्ग भनेको यही त रहेछ जस्तो लागेको थियो’ पहिलो पटक पुग्दा बडिमालिका क्षेत्रमा पर्ने सोतापाटन, घोडापाटन, भिति छिर्ना, बुढीमाईको थान, त्रिवेणी, दौडाईलाग्ने पाटन, लौरी विनाई, बडिमालिका थान लगायत सबै पाटनका कुना काप्चा काँही पनि बाँकी नरहेर सयौं थरिका फुलले ढाकिएको देख्दा आफुलाई स्वर्गीय आनन्दको अनुभूति भएको स्मरण उनले सुनाए ।
त्यस यता पटक पटक गरेर उनी छ पटक बडिमालिका पुगिसकेका छन । पछिल्ला बर्षमा फुलको संख्या घटदै गएको देखेका उनी तीन बर्ष पछि गत श्रावणमा त्यहाँ पुग्दा फुलहरु नदेखेर छक्क परे । ‘पछिल्ला बर्षहरुमा पहिलाको तुलनामा पाटनमा फुल्ने फुलको संख्या घट्दै जान थालेको थियो’ उनले भने ‘यो वर्ष पुग्दा त पहिला फुलै फुलले भरिएका देखिने पाटनमा एउटा पनि फुल रहेनछ । यहाँको सौन्दर्यता त खतम भैसकेछ’ फुलैफुलको नर्सरी जस्ता देखिने त्रिवेणी, दौडाइलाग्ने, लौरी विनाई पाटन र बडिमालिका मन्दिर क्षेत्र पुरै उजाड देख्दा मनै खिन्न भएको उनले बताए ।
जनैपुर्णिमाका बेला यहाँ भव्य मेला लाग्ने गर्दछ । मेलाको बेला बडिमालिका माइको दर्शन गर्दा चाहेको वरदान पाइन्छ भन्ने अगाध विश्वासका कारण यहाँ नेपाल मात्रै नभएर भारतबाट समेत दर्शनार्थीहरु ओइरिने गर्दछन । इच्छित वर प्राप्ती भएपछि बडिमालिकालाई धन्यवाद दिन दर्जनौ पटक यहाँ पुग्नेहरु पनि छन । यद्यपी केही वर्षयता यहाँ फुल्ने फुलहरु हराउँदै गएकोमा बानियाँ जस्ता जनप्रतिनिधी मात्रै होइन । थुप्रै पटक बडिमालिका पुगेका र यहाँको सुन्दरता अनुभव गरेका सर्वसाधारण पनि चिन्तित हुन थालेका छन ।
५० वर्ष अघि पहिलो पटक बडिमालिका आएकी डोटीकी जमुना गिरी अहिले सम्म १३ औं पटक यहाँ पुगिसकेकी छिन । आफुले आधा शताब्दी अघी देखेको र अहिलेको बडिमालिका पत्याउनै नसकिने गरि फेरिएको उनी बताउँछिन । यँहीबाट लगेको मधुजडी खुवाए पछि आफ्ना पछिको दीर्घ रोग ठिक भएको बताउने उनले अचेल जडिबुटी पनि हराइसकेको बताईन ।
‘पहिलाको हेरुँ भन्या त यो उही बडिमालिकाको हो की होइन ? भन्या जस्तो लाग्छ’ ६९ बर्षिया गिरी भन्छिन ‘त्यतिवेला हिड्न्याँ बाटामा पनि जडिबुटी हुनाछया (हुन्थे) । अचेल केइकेइ (कुनै कुनै) जडिबुटी पाटन भरि खोज्या पनि नैपाइन्या (पाइदैनन) । अचेल माइस मात्रै (मान्छे मात्रै) छन । उति रुप्स्या (राम्रा) फुल, जडिबुटी सबै हराइगया ।’ उनले पाटन क्षेत्रमा प्रसस्त मात्रामा पाईने मधुजडी, धुपजडी, पदचाल, बायोजडी, निनाइजडी, भुतकेश जस्ता जडिबुटी र ब्रम्हकलम, जोगीफुल, टुकीफुल, बुकीफुल, सुनफुल आदी फुलहरु १०÷१५ वर्ष यता पाइन छाडेको बताईन । मानिसले जथाभावी गरेको कारण बडिमालिका माई रिसाएर पाटन क्षेत्रका जडिबुटी र फुल हराएको उनको दावी छ । ‘अचेल कलिजुग लाग्या, मान्स (मान्छे) जथाभौती (जथाभावी) गर्न लाग्या । यो देवीले निको मान्याको छैन’ उनले भनिन ।
बडिमालिका क्षेत्रमा पाँचऔले, सुनपाती, चिराइतो, पाखनवेद, काउलो, चुत्रो, पावन काउलो रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल जस्ता जडिबुटी पाउने क्षेत्र हो । यस्तै विषजरा, मधुजडी, धुपजडी, वनलसुन, बायोजडी, निनाइजडी, भुतकेश जटामसी लगायत दर्जनौ प्रजातीका जडिबुटी पनि यहाँ पाइन्छन । औषधीय गुण भएका यी जडिबुटीहरु बहुमुल्य हुन्छन । यस क्षेत्रमा पाइने ब्रह्मकमल, बुकी फुल, जाई, जुई चमेली, सुन जाई ,इन्द्र कमल, सेतो गुराँस, चाँप, चिमालो लगायत एक सय भन्दा बढी प्रजातिका दुर्लभ फुलहरु पाइन्छन ।
मनोरम प्राकृतिक छटाले युक्त बडिमालिका सुदुरपश्चिमकै महत्वपुर्ण धार्मिक र साँस्कृतिक बैभव मात्रै होइन । समुन्द्र सतह देखि दुइ हजार मिटरबाट अग्लिदै ४ हजार २ सय मिटर सम्म आकासिएको यो क्षेत्र जैविक विविधताका दृष्टिकोणले पनि महत्वपुर्ण र संवेदनशिल छ । यद्यपी सरकारले यस क्षेत्रमा पाइने जैविक विविधताको संरक्षणमा वेवास्ता गर्दा बहुमुल्य जडिबुटी र फुलहरु मात्रै होइन दुर्लभ पारिस्थितिकीय प्रणाली नै लोप हुने खतरा बढ्दो छ ।
स्थानीयहरुका अनुसार बडिमालिका क्षेत्रमा जनै पूर्णिमामा लाग्ने मेलाको बेला बाहेक अरु समयमा सरकारी उपस्थिति शुन्य हुन्छ । यही मौका छोपेर अछाम, बाजुरा, कालिकोट, जुम्ला र मुगु लगायतका जिल्लाबाट आएका स्थानियले अबैध रुपमा जडिबुटी संकलन गर्ने, वन्यजन्तु र पंक्षिको सिकार गर्ने जस्ता गतिविधीहरु निस्फक्री हुने गरेका छन ।
‘अहिले त त्यहाँ फुल फुल्न पनि छाडे , जडिबुटी मात्रै होइन । जीव जनावर पनि भेटिदैनन । पहिलाको जस्तो बडिमालिका अब रहेन ।’ बडिमालिका नगरपालिकाका डम्म थापा भन्छन ‘यसरी बोट विरुवा र जीवजन्तु हराउदै जाने हो भने बडिमालिकाको महत्व पनि के रहला र ?’ उनले यो क्षेत्रमा पाइने जिवजन्तु र वनस्पतीहरु लोप हुदै जानुको कारण संरक्षणको जिम्मा लिएका निकायहरुको चरम वेवास्ता भएको बताए । ‘यहाँ जसले जे गरे पनि रोक्न कोही आउँदैनन । सबैको मनपरी भए पछि यस्तै हो’ उनले भने ।
यो क्षेत्रमा विभिन्न जिल्लाबाट चराउनका लागि ल्याइएका भेडा च्याँङग्राहरु बैसाख देखी असोज सम्म छाडा रुपमा चराउने चलन छ । ठुलो संख्या भेडा च्याङग्राहरुले लामो समय चरिचरन गर्दा पनि यहाँको जैविक विविधता नोक्सान भइरहेको जानकारहरुको भनाई छ । ‘चोरी सिकार, जथाभावी जडिबुटीको संकलन मात्रै होइन । बर्षको ६ महिना सम्म १०/१५ हजार भन्दा भेडाबाख्रा त्यही हुन्छन । सयौको संख्यामा घोडा भैसीहरु पनि छाडा छोड्ने गरिएको छ । ’ बाजुरा बुढीगंगा नगरपालिका स्थानिय समेत रहेका सामाजिक कार्यकर्ता देवेन्द्र शाहले भने ‘सरकारको उपस्थिती शुन्य छ । सरकारको निगरानी नभए पछि जसले जे गरे पनि भयो’ अछाम, बाजुरा, कालिकोट, जुम्ला, हुम्ला र मुगु लगायतका जिल्लाबाट ठुलो संख्यामा भेडा च्याङग्रा यहाँ चराउन ल्याउने गरिएको उनले बताए ।
बडिमालिका जस्तो अनुपम जलवायु र जैविक विविधता भएको क्षेत्रको पर्यावरणिय विनास भइरहेको प्रति यहाँ पुग्ने दर्शनार्थी र स्थानीय जस्तै वातावरण विदहरु पनि चिन्तित छन । जैविक विविधताले भरिपुर्ण बडिमालिका जस्ता ठाउँहरु विश्वमा कमै मात्रै भेटिने भएकोले यस्ता क्षेत्रको संरक्षणमा सरकारले उच्च संवेदनशिलता अपनाउनु पर्ने उनीहरुको सुझाव छ ।
‘यस्तो अद्धितिय पारिस्थितिकिय प्रणाली भएका ठाउँहरु नेपाल मात्रै होइन अन्य देशमा पनि कमै भेटिन्छन’ त्रिभुवन विश्वविद्यालय वनस्पती विभागका एसोसिएट प्रोफेसर डा. नारायण घिमिरे भन्छन ‘४ हजार मिटर भन्दा माथी विशाल घाँसे मैदान (पाटन) हुनु र त्यहाँ सयौं प्रजातिका वनस्पतीहरु भेटिनु भनेको दुर्लभ प्राकृतिक अवस्था हो ।’
उनले यहाँ पाइने कतिपय वनस्पती र जिवजन्तु इन्डेमिक (यो ठाउँ बाहेक अन्त नपाइने खालका) प्रजातिका हुने भएकोले यहाँबाट लोप भए संसारबाट सदाका लागि हराउने खतरा हुने बताए । ‘तर सरकारले जैविक विविधता जोगाउने सवालमा जंगल, सिमसारलाई मात्रै प्राथमिकतामा राखेको छ । यस्ता घाँसे मैदानहरुमा भेटिने पारिस्थितिकीय प्रणाली जोगाउन सकिएन भने भविश्यमा ठुलो पछुतो हुनेछ’
पर्यावरणिय, धार्मिक, साँस्कृतिक र पर्यटकिय धरोहरको रुपमा रहेको बडिमालिकाको जैविक विविघता संकटमा परेको बारे यहाँका स्थानीय सरकार देखि संरक्षणको क्षेत्रमा कार्यरत निकायहरु बेखवर भने छैनन । यद्यपी यो क्षेत्रको वातावरण संरक्षणका लागि उनीहरुले प्रयास भने गरेका छैनन ।
बडिमालिकाको जडिबुटी, फुल र वन्यजन्तु मध्ये धेरै जसो लोप हुने अवस्थामा पुगिसकेको डिभिजन वन कार्यालय बाजुराका अधिकारीहरु स्विर्काछन । यद्यपी कुन जडिबुटी र फुल प्रजाती लोप भएका छन ? र के कारणले लोप भएका हुन ? भन्ने बारे भने कुनै अध्ययन नभएको डिभिजन वन कार्यालय बाजुराका निमित्त प्रमुख हरी यादवले बताए ।
‘धेरै जडिबुटी र फुलहरु लोप भैसकेका छन । यो विषयमा अध्ययन गर्नका लागि प्रदेश सरकारलाई बजेट पनि मागेका हौं तर पैसा हालिदिएनन ।’ उनले भने । जलवायु परिर्वतन र अवैज्ञानिक तरिकाले जडिबुटी संकलनका कारण बहुमुल्य जडिबुटीहरु लोप भएको हुन सक्ने उनको अनुमान छ ।
यो क्षेत्रमा प्रतिवन्धित पाँचऔले लगायतका जडिबुटीको संकलन र डाँफे कस्तुरी जस्ता लोपोन्मुख वन्यजन्तुको चोरी सिकार हुने गरेको भए पनि निगरानी गर्न नसकिएको उनको भनाई छ ‘कसैले उजुरी दियो भने वन रक्षकहरु पठाउने गरेका छौं । त्यहाँको क्षेत्र पनि ठुलो छ । हामी सँग जनशक्ती कम छ ।’ उनले भने ‘अहिले कै कर्मचारीले बडिमालिकाको नियमित अनुगमन सम्भव छैन । हाम्रो उपस्थिती नभए पछि मनपरी हुने नै भयो’
संरक्षण क्षेत्र नभए झन विग्रन्छ – जनप्रतिनिधी
बडिमालिका क्षेत्र बाजुराको त्रिवेणी, बडिमालिका, बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकामा, कालिकोटको सान्नी त्रिवेणी र अछामको रामारोसन गाउँपालिकाको विचमा पर्दछ । कालिकोटकै पचाल झरना गाउँपालिकाले पनि यो क्षेत्रले आफ्नो पालिका पनि छुने दावी गर्दै आएको छ ।
बडिमालिकामा पर्ने पाटन क्षेत्रको कुल क्षेत्रफल कति छ भन्ने कुराको आधिकारीक मापन भएको छैन । यि सबै पालिकाले बडिमालिका आफ्नो क्षेत्रमा पर्ने भन्दै पर्यटन प्रर्वद्धनका लागि बर्षेनी ठुलो रकम लगानी गरेर विभिन्न कार्यक्रम संचालन गर्दै आएका छन । यद्यपी यहाँको विग्रदै गएको पर्यावरणको बारेमा जानकार भएर पनि संरक्षणको लागि कसैले पनि पहल गरेका छैनन ।
‘बडिमालिकाको जैविक विविधता र पर्यावरण अब सकिने अवस्थामा पुग्दैछ’ २० पटक भन्दा बढी यहाँ पुगेका बाजुराको त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले थुप्रै प्रजातीका प्राणी र वनस्पती लोप भैसकेको बताउदै भने ‘तर पनि यहाँको वेथिती नियन्त्रण गर्न एउटा पालिकाले चाहादैमा केही हुनेवाला छैन । सरकारले यो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर काम अगाडी बढाउन सकेन भने यहाँको पर्यावरणिय अस्तित्व नै समाप्त हुनेवाला छ’
बडिमालिका बाजुराको मात्रै नभएर धार्मिक, साँस्कृतिक, पौराणिक र अद्धितिय पारिस्थितिकिय प्रणालीका दृष्टीकोणले राष्ट्रकै सम्पती भएकोले यसको संरक्षणमा प्रदेश र संघिय सरकारले ध्यान दिनु पर्ने बडिमालिका नगरपालिकाका प्रमुख अमर खडकाले बताए ।
‘बडिमालिकाको जैविक विविधता संकटमा परिसकेको छ । तत्काल संरक्षणको कदम चाल्न सकिएन भने झन झन विग्रदै जानेवाला छ ।’ उनले भने ‘अब पालिकाहरुको प्रयासले मात्रै यो नियन्त्रण गर्न सम्भव छैन भनेर हामीले यो विषयमा नगरपालिका महासंघ मार्फत पनि सरकारको ध्यानाकर्षण गराउने कोशिस गयौं । राष्ट्रपतिलाई समेत बिफ्रिङ गरेका छौ । यस्तो अलौकिक ठाउँको संरक्षणको लागि सरकारले निर्णय गर्न हतार नगरोस’ उनले बडिमालिका क्षेत्रसँग सिमा जोडिएका पालिकाहरुको संयुक्त बैठक बसेर यो विषयमा सरकारको ध्यानाकर्षण गर्ने तयारी पनि भैरहेको बताए ।