प्रा.डा.कृष्णप्रसाद ओली चीनका लागि राजदूत नियुक्त

काठमाण्डौं, २५ कात्तिक ।
राष्ट्रपति रामचन्द्र पौडेलले चीनका लागि प्रा.डा.कृष्णप्रसाद ओलीलाई नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार चीनको राजदूतमा ओलीलाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा ओलीलाई चीनका लागि राजदूतमा नियुक्त गरिएको हो । उनको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गरेका हुन् । ओली नेपालका लागि चीनका आवासीय राजदूत हुन् ।
१४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पौडेलले ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाको राजदूत नियुक्त गरेका हुन् ।
को हुन् कृष्ण प्रसाद ओली ?
प्रा.डा. कृष्णप्रसाद ओली झापाकै बासिन्दा हुन्, जो प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका नातेदार हुन्। प्रधानमन्त्री ओलीले कृष्णप्रसादलाई काका सम्बोधन गर्छन्, ढोगभेट पनि गर्छन्।
लामो समय चीनमै बसेर अध्ययन अनुसन्धान गरेका भए पनि डा. ओलीले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसंगको पारिवारिक सम्बन्धका कारण पटक पटक उच्च पदमा पटक पटक नियुक्ति पाएका छन् । केपी ओली प्रधानमन्त्री रहेकै बेला उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए, सन् २०१७ मा। त्यसपछि प्रधानमन्त्री ओलीले आफू सरकारबाट बाहिरिनुअघि २०७८ वैशाखमा डा ओलीलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेका थिए।
डा. ओली वन तथा वातावरण क्षेत्रका विज्ञ हुन्। विकास र वातावरण संरक्षणको क्षेत्रमा उनको ३५–४० वर्ष लामो अनुभव रहेको छ। खासगरी हिन्दु–कुश हिमालय क्षेत्रमा ओलीको विज्ञता रहेको छ। उनी वातावरणीय कानुन, वातावरणीय योजना र व्यवस्थापन तथा कृषि भूगोल र पशु विज्ञानका विज्ञ हुन्।
एसियाली विकास बैंक लगायतका संस्थामा उनले परामर्शदाता भएर काम गरेका छन्।
चीनको सिचुवान विश्वविद्यालयमा ओली सन् २०१६ देखि अन्तर्राष्ट्रिय वातावरण कानुन विषयका ‘भिजिटिङ प्रोफेसर’ थिए। सिचुवानसँगै उनी चीनकै सिजाङ (तिब्बत) विश्वविद्यालयका सहायक प्रोफेसर तथा काठमाडौं स्कुल अफ लका ‘भिजिटिङ प्रोफेसर’ हुन्।
उनले इसिमोडमा वरिष्ठ इकोसिस्टम व्यवस्थापन विशेषज्ञका रुपमा ९ वर्ष काम गरेका थिए। त्रिभुवन विश्वविद्यालयबाट पहाडी क्षेत्रमा भूमि प्रयोग, परिवर्तनको गतिशीलता र स्थिरता विषयमा पीएचडी गरेका उनले मास्टर्सचाहिँ बेलायतबाट गरेका हुन्।
चीनमा लामो समय बिताएका र बाक्लै आहोरदोहोर गरिरहने डा. ओली चीन राम्रो बुझेका व्यक्ति हुन् तर उनको विज्ञता र अनुभव कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध होइन।
विश्व किसान सङ्घको उपाध्यक्ष समेत रहेका डा. ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका प्राकृतिक स्रोत तथा वातावरण सल्लाहकार थिए ।