यू-१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र मधेश प्रदेश विजयी

काठमाडौँ — विराटनगरमा भइरहेको नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् । मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको कर्णालीले ५० ओभरमा ३०.५ बलमा सबै विकेट गुमाई ७४ रन बनायो । कप्तान मनीष थापाले सर्वाधिक ४२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरका नरेन साउद एक्लैले ५ विकेट विकेट लिए । उनले ९ ओभरमा ४ मेडन ओभर गर्दै ९ रनमात्र दिए । उनी नै प्लेयर अफ म्याच भए ।
७५ रनको लक्ष्य पाएको सुदूरले १८.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पार गरेको थियो । सुदूरका नरेन भट्टले २८ र युवराज खत्रीले २३ रन जोडेका थिए । कर्णालीका युनिस ठकुरीले ३ विकेट लिए । सुदूरको २ खेलमा २ अंक छ भने कर्णाली दुवै खेलमा पराजित छ ।
मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा मधेशले वाग्मती प्रदेशलाई ४६ रनले हरायो । टस हारेर ब्याटिङ गरेको मधेशले ४६.३ ओभरमा सबै विकेट गुमाई १ सय ४२ रन बनायो । मधेशका इमरान शेखले ५४ रन बनाए । वाग्मतीका दयानन्द मण्डलले ३ विकेट विकेट लिए । १ सय ४३ रनको लक्ष्य वाग्मती ३९.४ ओभरमा सबै विकेट गुमाएर ९६ रनमात्रै बनाउन सक्यो ।
रिन्जिन लामाले सर्वाधिक ३५ रन बनाए । मधेशका राजेश यादव र अफ्रुद्दिन रैनले समान ३ विकेट लिए । प्लेयर अफ द म्याच मधेशका इमरान शेख भए । मधेशले ३ खेलमा २ खेल जितेर ४ अंकसहित दोस्रो स्थान छ भने वाग्मतीको २ खेलमा १ खेल जितेर पाँचौं स्थानमा छ ।
बुधबार बैजनाथपुरमा लुम्बिनी र कर्णाली प्रदेश तथा मेरिलिबोन मैदानमा कोशी र गण्डकी प्रदेश भिड्नेछन् ।