रवि लामिछानेको बयान आज पनि सकिएन

काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज पनि पुरा भएन । रास्वपाका सभापति समेत रहेका लामिछानेलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर बयान लिए ।
उनीसँग करिब साढे ८ घण्टा बयान लिइएको हो । लामिछानेको बयान अझै पुरा नभएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । उनले भने, ‘बयान सकिएको छैन ।’
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशीलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सो सहकारीबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् । यसअघि कार्तिक ५ र ६ मा बयान दिँदै लामिछानेले आफ्नो नामबाट ऋण स्वरूप प्रवाह भएको रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा डिपोजिट भएको तथ्य अस्वीकार गरे ।