इजरायलद्वारा इरानमा आक्रमण, पश्चिम एसिया थप तनावपूर्ण

द एभरेष्ट पोष्ट
११ कार्तिक २०८१ २:२४
इजरायलद्वारा इरानमा आक्रमण, पश्चिम एसिया थप तनावपूर्ण

काठमाडौँ — करिब एक महिनाअघि इरानले गरेको आक्रमणको जवाफमा इजरायलले शनिबार बिहान इरानको सैन्य इलाकामा हवाई आक्रमण गरेसँगै पश्चिम एसियामा तनाव चर्केको छ । इजरायली सुरक्षा फौज (आईडीएफ) ले इरानका सैन्य अखडाहरूमा ‘सटीक आक्रमण’ गरेको जनाएको छ । उक्त आक्रमण आफूविरुद्ध इरान र उसका साझेदारहरूले बारम्बार गरेका हमलाको जवाफ भएको इजरायलको दाबी छ ।

इरानले लेबनानस्थित इरान समर्थित समूह हेजबुल्लाहलक्षित आक्रमण गरेसँगै गत अक्टोबर १ मा इजरायलमाथि १ सय ८० वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसको जवाफमा शनिबार आक्रमण गरेको इजरायलको भनाइ छ ।

आईडीएफ प्रवक्ता डानियल हगारीले तत्कालका लागि आफ्नो जवाफी कारबाही पूरा भएको र आक्रमणमा प्रयोग भएका विमानहरू सुरक्षित रूपमा फर्किएको जनाएको छ । इजरायलसामु आफ्नो प्रतिरक्षा गर्ने अधिकार र दायित्व भएको हगारीको भनाइ छ । आईडीएफले गुप्तचरी सूचनाका आधारमा इरानस्थित क्षेप्यास्त्र निर्माण केन्द्रहरूमा प्रहार गरेको जनाएको छ ।

आईडीएफले राजधानी तेहरानका साथै इलम र खुजेस्तानस्थित सैन्य शिविरमा गरेको आक्रमणबाट सीमित क्षति पुगेको इरानी सेनाले जनाएको छ । इजरायली आक्रमणमा चार सैनिकको ज्यान गएको इरानले जनाएको छ । इरानस्थित परमाणु वा तेल प्रशोधन केन्द्रमा भने इजरायलले कुनै निसाना नबनाएको जनाइएको छ ।

आक्रमणको जवाफमा लेबनानी समूह हेजबुल्लाहले उत्तरी इजरायलमा रेकट प्रहार गरेको छ । हेजबुल्लाहले उत्तरी इजरायलस्थित गुप्तचर निकायको मुख्यालय र तेल अभिभस्थित टेल नोफ सैन्य अखडामा ‘साल्भो’ रकेट र ड्रोन आक्रमण गरेको अल जजिराले जनाएको छ । त्यस्तै, हेजबुल्लाहले लेबनानको आइता अल–शाव गाउँको बाह्य क्षेत्रमा रहेका इजरायली सेनालाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । ती आक्रमणमा भएको क्षतिबारे भने केही उल्लेख गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस