रुसी सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर ऋण दिने जी७ को अन्तिम निर्णय

एजेन्सी । संसारका सबैभन्दा धनी राष्ट्रको समूह जी७ का नेताहरूले रोक्का राखिएको रूसी सम्पत्तिबाट भएको नाफाबाट कियभलाई सहयोगस्वरुप ५० अर्ब डलर दिने अन्तिम निर्णय गरेको एक विज्ञप्तीमार्फत शुक्रबार घोषणा गरेका छन्।
‘क्रेनको बजेट, सैन्य र पुनर्निर्माणलाई सहयोग गर्न धेरै च्यानलमार्फत ऋण वितरण गरिनेछ’, जी७ नेताहरूले बताएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले आयोजना गरेको बैठकका लागि यस हप्ता वासिङ्टनमा विश्व वित्तीय नेताहरू भेला भएपछि उनीहरूको यो घोषणा आएको हो।
‘युक्रेनलाई आवश्यक पर्ने समर्थन दिने हाम्रो संकल्पबाट हामी पछि हट्ने छैनौँ’, समूहले प्रतिबद्धता जनाएको छ ।
उनीहरूले मस्कोलाई आफ्नो युद्ध अन्त्य गर्न र युक्रेनलाई भएको क्षतिको मूल्य चुकाउन पनि आह्वान गरेका छन्।