सरकार बनेको तीन महिनापछि लुम्बिनीमा तीन मन्त्री थपिए, मन्त्रिमण्डल अझै अपूर्ण

द एभरेष्ट पोष्ट
८ कार्तिक २०८१ ३:५९
सरकार बनेको तीन महिनापछि लुम्बिनीमा तीन मन्त्री थपिए, मन्त्रिमण्डल अझै अपूर्ण

सरकार गठन भएको तीन महिनापछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन मन्त्री थपेका छन् । नेपाली कांग्रेसका दुई र अशोक राई नेतृत्वको जसपाका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री आचार्यले बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास मन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरण मन्त्री र बाँकेका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाएका छन् ।

नवनियुक्त मन्त्रीले बुटवलस्थित प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको कार्यालय बिहीबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ ।

प्रदेशमा १२ मन्त्रालय छन् । युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ । तर, अझै मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन ।

लुम्बिनीका सत्तापक्षीय दलले नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयासमा भए पनि केन्द्रबाट लोसपालाई बनाउने दबाब बढेपछि तत्कालका लागि एक मन्त्रालय खाली नै राखिएको छ ।

लुम्बिनीमा गएको साउन ७ गते आचार्यको नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस