बङ्गलादेश समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाण्डौं, ७ कात्तिक ।
दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाँच पटकको च्याम्पियन भारतलाई ३–१ गोलले हराउँदै बङ्गलादेश समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
बङ्गलादेशको जितमा तोहुरा खातुनले दुई र अफिदा खान्दाकरले एक गोल गरिन । भारतका लागि पहिलो हाफको अन्त्यतिर बाला देवीले गरेको गोल नै अन्त्मि बन्न पुग्यो ।
हारेपछि भारत समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । भारत यसअघिनै सेमिफाइनलमा पुगेको थियो । बङ्गलादेशको जितसँगै पाकिस्तान समूह चरणबाट बाहिरिएको छ ।
शीर्ष स्थानमा रहेको बङ्गलादेशदेले दुई खेलबाट चार अङ्क बनायो । दोस्रो स्थानमा रहेको भारतले तीन र अन्तिममा रहेको पाकिस्तानले एक अङ्क बनायो ।
यसअघि भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोलले पराजित गरेको थियो । बङ्गलादेश र पाकिस्तानले भने १–१ गोलको बराबरी खेलेका थिए ।
तस्बिर : एन्फा