संसदको आगामी अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रस्ताव पेश हुने

काठमाडौं, ७ कात्तिक ।
महान्यायाधिवक्ता रमेश बडालले संसदको आगामी हिउँदे अधिवेशनमा फौजदारी कार्यविधि संहिता संशोधन प्रश्ताव पेश गर्ने बताएका छन् ।
बुधवार काठमाण्डौंमा बिगो निर्धारण सम्बन्धि कार्यविधि, २०८१ को प्रारम्भिक मस्यौदामाथि छलफल गर्ने क्रममा महान्यायाधिवक्ता बडालले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र अदालतलाई पनि न्याय निरुपणमा सहयोग गर्न महान्यायाधिवक्ताको कार्यालयले सो संहिता संशोधनका लागि संघीय संसदमा पेश गर्ने प्रक्रियामा अघि बढाइएको बताए।
महान्यायाधिवक्ता बडालले विगो निर्धारण सम्बन्धि मुद्दामा अदालतलाई पनि मार्गनिर्देश गरोस भनेर आफूहरुले सो कार्यविधिको मस्यौदा तयार पारी प्रारम्भिक छलफल अघि बढाएको बताए । उनले ‘फौजदारी कार्य विधि संहिता, अपराध संहितामा हामी संशोधनको प्रक्रियामा रहेको जानकारी दिए । केही समय पछाडि हिउँदे अधिवेशन भित्रको अवधिसम्ममा त्यसमा संशोधनको प्रस्ताव संसदमा गईसक्नुपर्छ भन्ने हामीलाई लागेको छ, उनले भने, हामीले कानून मन्त्रालयसँग त्यही अनुसारको आग्रह गरेका छौ ।